Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनाव सार्ने सत्ताधारी गठवन्धनको निर्णय

Published on 4:48:00 PM //


गोविन्द परियार, काठमाडौं, साउन १० - सरकारले तोकिएको मितिमा संविधानसभा निर्वाचन हुन नसक्ने ठहर गर्दै केही समय पर सार्ने भएको छ। बुधबार विहान प्रधान मन्त्री निवास बालुवाटारमा सत्ताघटक दलहरुको बैठकले मंसिर ७ गते चुनाव हुन नसक्ने निष्कर्ष निकाल्दै चुनाव सार्ने निर्णय गरेको हो।

'मंसिर ७ मा चुनाव हुने संभावना नभएकाले अरु दलहरुसँग पनि छलफल गरी केही समय पर सार्ने सहमति भएको छ' सत्ता घटक दलहरुको बैठक पछि सद्भावना पार्टीका अध्यक्ष एवं स्वाथ्य मन्त्री राजेन्द्र महतोले भने, कति महिना पर सार्ने भन्ने विषयमा पनि प्रतिपक्षी दलहरुसँग पनि एक पटक छलफल गरी सकभर सहमतिकै आधारमा निर्णय गछौ।'

बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको पनि उपस्थिति थियो।

निर्वाचन आयोगले ऐन/कानुन र चुनावका लागि अन्तरिम संविधान शंसोधनको काम सम्पन्न गर्न सरकारलाई तीन दिनअघिकै समय सिमा तोकेको थियो। सरकारले मंसिर ७ मा चुनाव नहुने अनुमान गर्दै साउन लागेदेखि नै चुनाव सार्ने विषयमा आन्तरिक छलफल गरेको थियो।

महतोका अनुसार प्रतिपक्षी दलहरुसँग पनि चुनावका विषयमा छलफल गरी सकभर सहमतिमा र सहमति हुन नसके सरकारले केही दिनभित्रै संविधानसभाको नयाँ चुनाव मिति तोक्ने बताए। चुनाव सार्ने तयारीमा रहेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ता घटक दलहरुले पनि साथ दिएपछि नयाँ चुनावको मिति तोक्ने बाटो खुलेको छ।

निर्वाचन आयोगले चुनावको मिति भन्दा १ सय २० दिनसम्ममा ऐन/ कानुन र संविधान संशोधन नभए चुनाव गराउन नसक्ने बताउँदै आएको छ। मंसिर ७ का लागि घोषित चुनावका लागि निर्वाचन आयोगले तोकेको १ सय २० दिनको समयसीमा गत साउन ७ गते सकिएको थियो।

बैठकले प्रतिपक्षी कांग्रेस, एमाले लगायतका दलहरु निर्वाचनमा सहमत भए मात्रै अरु विषयमा छलफल गर्न सकिने समेत धारणा बनाएको छ। प्रतिपक्षी दलहरुले भने सरकार फेर्ने विषयमा माओवादीसँग अन्तिम छलफल गरेर आन्दोलन घोषणा गर्ने निर्णय गरेका छन्।

बालुवाटारमा सत्ता घटक दलहरुको बैठक सकिए लगत्तै माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक एमाले मुख्यालय बल्खुमा बसिरहेको छ।
नागरिक दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग