Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जताततै बम पड्काउने योजना तुहियो

Published on 8:33:00 PM //


दीपक रिजाल
काठमाडौं
राजधानीका विभिन्न सिनेमा घरहरू, सार्वजनिक स्थान, सार्वजनिक यातायातका साधन, राजधानीको बस पार्क तथा विराटनगरको बस पार्कमा शक्तिशाली बम विस्फोट गराउने योजना गरिरहेका भूमिगत संगठन नेपाल डिफेन्स आर्मीका ७ जना कार्यकर्तालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
भूमिगत रुपमा सशस्त्र आन्दोलन गर्दै आइरहेको नेपाल डिफेन्स आर्मीका कार्यकर्ताले राजधानीमा बसेर विस्फोटनको योजना बनाएको सुराकी पाएपछि खटिएको नेपाल प्रहरीको विशेष कार्यदल तथा अनुसन्धान निकायको संयुक्त निकायले उनीहरूलाई ललितपुरको विभिन्न भागमा बसेर योजना बनाइरहेको अवस्थामा पक्राउ गरेको छ ।
सो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले पटकपटक पक्राउ गरी कारबाही गरेपछि तीव्र रुपमा संगठन विस्तार गरेको सो भूमिगत संगठनले पुनः राजधानीलगायत देशका विभिन्न भागमा बम विस्फोट गराउने तथा जनजीवन आतंकित बनाउने योजना बनाइरहेको बेला प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, अटोमेटिक पेस्तोल एक थान, राइफलको गोली ४ राउन्ड, विभिन्न क्यालिबरका गोली १० राउन्ड, विस्फोटक पदार्थ २ केजी, नेपाल डिफेन्स आर्मीको विभिन्न योजनासमेत बरामद गरेको छ ।
प्रहरीले सो संगठनका सदस्यहरू पुलिस विश्वास, कविराज अर्याल, रवीन श्रेष्ठ, दिनेश भण्डारी, राम भण्डारी, प्रमोद महतो र जीवन राईलाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेका मध्ये प्रमोद महतो सो भूमिगत संगठनका उपाध्यक्ष हुन् भने पुलिस विश्वास सरकारसँग वार्ता गर्न गठित वार्ता समितिका संयोजक हुन् । नेपाल डिफेन्स आर्मीको मोरङ अध्यक्षसमेत रहेका उनी राष्ट्रिय प्रजातान्त्रिक तराई मधेस संगठनका केन्द्रीय सदस्यसमेत रहेका छन् । सो संगठन भने राप्रपा नेपालको भ्रातृ संगठनको रुपमा चिनिन्छ । उनले बाहिरी आवरण राप्रपा नेपालसँग आबद्ध रहेको देखाउने र भित्री रुपमा भूमिगत संगठनसँग मिलेर काम गर्ने गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका अर्याल राजधानीको गोलढुङ्गा निवासी हुन् । उनले राजधानीमा बसेर विभिन्न गतिविधि आंकलन गर्ने र त्यसको जानकारी आफ्नो नेतृत्वलाई गराउने गरको प्रहरीले जानकारी दिएको छ । त्यसै गरी पक्राउ परेका रवीन श्रेष्ठ रूपन्देहीको बुटवलमा बसेर संगठन विस्तार, चन्दा उठाउने तथा भारतबाट हतियार संगठनलाई उपलब्ध गराउन योजना बनाउने गरेको प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसै गरी पक्राउ परेका दिनेश भण्डारी सो संगठनका केन्द्रीय उपाध्यक्ष भएको र उनले विभिन्न ठाउँबाट अहिलेसम्म लाखौं रुपियाँ चन्दाबापत रकम संकलन गरिसकेको पनि प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका राम भण्डारी सो संगठनका अर्का उपाध्यक्ष हुन् । उनी हिन्दू धर्म संरक्षण केन्द्रका महासचिवसमेत हुन् । उनले बाहिरी रुपमा धर्मको जागरण गर्ने भन्दै हिँड्ने तर भित्री रुपमा भने हिंसात्मक गतिविधि सञ्चालन गर्ने गरेको प्रहरीको दाबी छ ।
प्रहरीले पक्राउ गरेका सो संगठनका नेता तथा कार्यकर्ताहरूले एक महिनाभित्र राजधानीलगायत देशभरका मुख्य शहरहरूमा एक साथ बम विस्फोट गराउने र मुलुकमा आतंक मच्चाउने योजना बनाएको पनि प्रहरीको दाबी छ ।
उनीहरूको समूहले भाटभटेनीसुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, गोपिकृष्ण मुभिजका उद्धव पौडेल, बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल वटाजु, पूर्व अध्यक्ष एलपी सावा, बलबहादुर तामांग लगायतका दुई दर्जन भन्दा बढी व्यापारीलाई धम्याएर २ करोड भन्दा बढी रकम मागेका थिए । सो समुहले उपत्यकाको २ ठाउँमा बम विष्फोट गराएर व्यापारीहरूलाई धक्याउँदै जवरजस्ती रकम असुल्ने सक्रिय रहेको प्रहरीले जनाएको छ । केन्द्रीय कारागारमा रहेका रामप्रसाद मैनालीले चन्दा संकलनका लागि उनीहरूलाई परिचालन गरेको प्रहरीले दावी गरेको छ । सो समुहले पछिल्लो दुई महिनामा राजधानीको थापाथलीमा युनाइटेड मिसन टु नेपालको कार्यालय अगाडि र न्यूरोड पिपलबोटमा बम विष्फोट गराएको थियो । हिन्दु राज्यको बहानामा हिंसात्मक गतिविधी सक्रिय बनाएपनी उनीहरूले सोको आवरणमा व्यापारीलाई फोन गरेर धम्याउँदै जवरस्ती रकम असुल्न सक्रिय रहेको अनुसन्धानमा संलग्न प्रहरीहरूले जनाएका छन् । उनीहरूले भारतीय सिम र काठमाडौंको विभिन्न पिसिओको प्रयोग गरेर फोन गर्दै व्यापारीसँग रकम असुल्न सक्रिय देखिएको प्रहरीले बताएको छ । फोन गरेर उनीहरू प्रारम्भमा साँगठनिक गतिविधिका लागी रकम माग गर्न र नदिए बम विष्फोट गराइदिने धम्की दिने गरेका थिए । प्रहरीले उनीहरूले रकम मागेको २७ जनाको मात्र नाम पत्ता लगाएपनि १सय बढी व्यापारीलाई धम्याएको प्रहरीको दावी छ ।
ललितपुरको एजप्सन चर्चमा बम विष्फोट गराएर तीन जनाको हत्या गरेपछी डिफेन्स आर्मीका अध्यक्ष रामप्रसाद मैनाली पक्राउ परेका थिए । उनी हाल केन्द्रीय कारागारको गोलघरमा छन । उनले कारागार भित्रैवाट यो समुहलाई परिचालन गरेको प्रहरीको दावी छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीका अनुसार मैनाली कारागारमा रहेकाले वाहिरको सबै जिम्मेवारी भने मोरङ मोतीपुरका पुलिस विश्वासले सहाल्दै आएका थिए । विश्वासलाई सर्लाही शंकरपुरका प्रमोदकुमार महतो, हेटौडाका निर्मल लामा, नवलपरासीका जगतवहादुर थापा र दमौलीका चामबहादुर थापाले सहयोग गदै आएका थिए ।
प्रहरीका अनुसार हुलास स्टील, सिभिल सेभिंग कोअपरेटिभ, शिवशक्ति ध्यू, आकाशदीप टेर्डस, रारा इम्प्लाइमेण्ट, बराह ज्वयलर्स लगायतका कम्पनीसँग पनि चन्दा माग गरिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग