Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कामै नभएपनि १५ लाख जोगाउने प्रयत्न

Published on 4:00:00 AM //


प्रेम सुनार
गुल्मी, साउन २८ । सदरमुकाम तम्घासको डम्पिङ साइट व्यवस्थापनका लागि गत आर्थिक वर्ष ०६८-६९ मा रु. १५ लाख छुट्याईएको थियो तर असार मसान्त सकिँदा समेत काम सुरु गरिएको छैन । उपभोत्ता समितिले बेलामा काम गर्न नसकेको जिल्ला विकास समितिको आरोप छ भने ,उपभोक्ता समितिले भने वर्षायामका कारण काम सुरु गर्न नसकिएको बताएको छ ।
स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले आफू सरुवा भई हालचालै मात्र आएकोले विस्तृत बुझ्न नसकेको तर उपभोक्ता समितिले बेलामा काम सम्पन्न गर्न नसकेका कारण सम्झौता मात्र गरेर राखिएको बताए । उक्त डम्पिङ साईट निर्माण समितिका अध्यक्ष रामप्रसाद पन्थीले ढुंगा झिक्ने काम भएको तर बाँकी काम वर्षायामको कारण अगाडि बढाउन नसकिएको बताए । असार ३० गते जिल्ला विकास समितिमा सम्झौता गरिएको खुलासा गर्दै उनले भने एल.डि.ओ.बाट चेकमा साईन भैसकेको छ तर रकम भने खातामा आइसकेको छैन । उनका अनुसार तम्घास बृहत पम्पिङ सिष्टम खानेपानी मुहान रहेको खोलाबाट डम्पिङ साईट पल्लो खोलामा सार्ने योजना अगाडि सारिएको छ । त्यस विरुद्ध केहि निवेदनहरु पनी परेका छन् पन्थीले भने “केहि विवादका कारण पनि ढिला हुन गएको हो ।”
काम नै अगाडि नबढेको स्थितीमा पनि रकम फ्रिज त नजाने बुझिएको छ नि भन्ने प्रश्नमा स्थानीय विकास अधिकारी ज्ञवालीले भने “भोली अडिट टोली आउने भएकोले भरै सम्म के गर्ने भन्ने डिसिजन लिनको लागि दलहरुबीच छलफल भैरहेको छ ।” उक्त स्थानबाट डम्पिङ साइट नसार्ने हो भने त्यस स्थानमा बृहत खानेपानीको मुहान भएका कारण तम्घासवासी कुनै दिन महामारीको खतरामा पर्न सक्ने चिन्ता प्रकट गर्न थालिएको छ तर सम्बद्ध पक्षले भने त्यति ठूलो रकम पर्दा पनि काम सुचारु नगर्नु बिडम्बनाको कुरा भएको सर्वसाधारणको गुनासो छ । त्यसो त अन्य विकास निर्माणमा समेत हिउँद भरि चुप लागेर बस्ने असार मसान्त ढिप्किएपछि सम्झौता गर्ने र अनियमित ढंगबाट रकम फ्रिज जानबाट रोक्ने यस जिल्लाको ठूलो रोग नै बन्न थालेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग