Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिजमा पुजा गर्न गएकी दलित महिलालाई पूजा गर्न दिईएन, पूजारिले हातपात समेत गरेको पीडितको आरोप

Published on 12:14:00 AM //


प्रेम सुनार
गुल्मी, असौज ३ । दलित महिलालाई बडागाउँ स्थित एक मन्दिरका पुजेरीले हातपात गरेको भन्दै स्थानिय दलितहरु आक्रोशित भएका छन् । बडागाउँको देवस्थानमा व्रत बसी फुल अक्षेता लिएर पुजा गर्न गएकी दलित महिला टिकाकुमारी सुनारलाई शिवालय मन्दिरका पुजारी बडागाउँ ७ ठुलाचौर निवासी लिलाधर फुल्देलले मन्दिर प्रवेश गर्न नदिई हातपात गरेको बताईएको छ ।
बडागाउँ ६ मैदान निवासी दलित नेता वुद्धकुमार सुनारकी श्रीमती टिकाकुमारी मन्दिर भित्र पुजा गर्न पस्न खोज्दा पुजारी फुल्देल ढोका अगाडी लम्पसार भई अवरोध गरेको र मन्दिरमा भेदभाव गर्न पाईदैन भनेपछि उनले हातपात गरी त्यहाँबाट हटाएको सुनारले बताउनु भयो । त्यसको केहिवेर अगाडी मैदानकै माया सुनारलाई टिका लगाईदिएका पुजारी फुल्देलले “झुक्कीएर टिका लगाईदिएँ, धर्म नष्ट हुने भयो” भनेपछि दलित महिलाहरु भित्रै पसेर पुजा गर्न खोजको र हातपातको स्थिती सृजना भएको बताईएको छ । पुजारी फुल्देलले भने हातपात नगरेको जिकीर गरेका छन् । उनिहरु भित्र पस्न खोज्दा सम्झाउन मात्रै खोजेको उनको जिकिर थियो ।
दलित साझा मञ्च गुल्मीका सचिवालय सदस्य वुद्धकुमार सुनारले महिलाहरुको महान पर्व भन्ने, हरवखत धर्मको कुरा गरेर नथाक्ने फुल्देल जस्ता पण्डितहरुले यो देशमा जातिय विभेद गरेर सदभाव विथोल्दै आएको भन्दै त्यस्तो घटियापन नगर्न चेतावनी दिएका छन् । “फुल्देललाई तत्काल नियम कानुन अनुसार कार्वाही हुनपर्छ", सुनारले भने– ‘नभए हामी आन्दोलनमा उत्रन्छौं । ”
यता दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले उक्त घटनाको निन्दा गर्दै कानुनी कार्वाहीका लागि पिडितलाई सदरमुकाम बोलाएको बताए । “गणतन्त्र र प्रदत्त काननुको समेत खिल्ली उडाईको छ’ विश्वकर्माले भने –‘अव गाउँमै मिलाउने र सामन्य माफी मगाउने गरेर हुँदैन कानुनत: कार्वाही गरिनु पर्दछ । ”
बडागाउँ गविसमा दलित र जनजातीहरुको ठुलो वाहुल्यता रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग