Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा अब ट्रकले यात्रु र बसले छतमा सामान नबोक्ने

Published on 1:33:00 AM //


प्रशासनद्वारा सवारी अनुसारको सेवा मात्र प्रदान गर्न निर्देशन
घनश्याम गौतम
गुल्मी, २८ भदौ । हर्दिनेटामा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण चालकको लापरवाही र यात्रुको खिचातानी भन्दै स्थानीय प्रशासनले सवारी साधनहरुलाई सवारी अनुसारको सेवा मात्र प्रदान गर्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले दुर्घटनाको मुख्य कारण बस चालकको लापरवाही र ट्रकले यात्रु बोक्नु रहेको निश्कर्ष निकालेको हो । ‘अस्तिको बस दुर्घटनामा ट्रकले यात्रु बोक्नु मुख्य कारण देखियो’, प्रजिअ नेपालले भने, ‘तसर्थ आगामी दिनमा ट्रकले यात्रु नबोक्ने र बसले छतमा अन्य सामाग्री बोक्न पाउने छैनन् ।’
बुटवलबाट तम्घास र जिल्लाका विभिन्न सडकहरुमा चल्ने बसले छतमा खाद्यान्न लगायतका सामाग्री बोक्ने र ट्रकले यात्रुहरुको ओसारपसार गर्ने परम्परा बढी छ । त्यसको नियन्त्रणका लागि समेत बैठकका सहभागीहरुले आग्रह गरेका थिए । प्रशासनको निर्णय ठिक भएको र ट्रकले यात्रु नबोकेको खण्डमा बसले छतमा कुनै सामाग्री नबोक्ने पश्चिम नेपाल बस व्यवसायी संघका महेश काउछाले बताए ।
बैठकले प्रहरीले तयार पारेको सडक दुर्घटना न्यूनीकरण कार्ययोजनाका विषयमा छलफल गर्दै सडक दुर्घटनाका मुख्य २७ कारणहरुको पहिचान गरेको छ । जिल्लाभरको सा“घुरो सडक, अनुभवी र क्षमतावान चालकको अभाव, अस्वस्थ्य प्रतिस्पर्धा, पुराना सवारी साधन, क्षमताभन्दा बढी यात्रु बोक्न दवाव लगायतका २७ कारणहरु मुख्य रहेको निमित्त प्रहरी प्रमुख जितेन्द्रकुमार बस्नेतले बताए ।
बैठकले आगामी दिनमा सडक दुर्घटना न्यूनीकरणका लागि पहिचान गरिएका सबै कारणहरुलाई समाधान गर्ने गरी नियमित रुपमा कार्यान्वायनमा लैजाने र तत्कालका लागि चालक र व्यवसायी दुवैलाई सचेतना मुलक तालिमहरु प्रदान गर्ने, सडकहरुको अवस्था सुधार गरी सवारी संचालनका लागि मापदण्ड तयार गर्ने, साधन अनुसारको सेवा मात्र प्रदान गर्न निर्देशन दिने, सिट बिनाका यात्रुहरुलाई कुनै क्षतिपूर्ति उपलब्ध नगराउने, सडकमा छाडा छोडिएका पशुपंक्षी वा चौपाया मरेमा त्यसको क्षतीपूति नदिने, सडकहरुमा ट्राफिक चिन्न राख्ने लगायतका निर्णयहरु गरेको र सबै निर्णयहरु कडाईका साथ कार्यान्वयनमा लैजाने प्रजिअ नेपालले बताए ।
आइतवार हर्दिनेटामा भएको लु. १ ख ५५८३ नम्बरको बस अगाडीको ट्रकले तिन यात्रु राखिदिएपछि त्यही ट्रक भेटाउने क्रममा लुम्छा नजिकैको मोडमा दुर्घटनामा परेको थियो । घटनामा १३ जनाले ज्यान गुमाए ।
बैठकले जिल्लाका प्रमुख सडक, बजार र धेरै सवारी साधनहरु चल्ने क्षेत्रहरुमा सरोकारवालाहरु सहितको जनचेतनामुलक ¥याली निकाल्ने समेत निर्णय गरेको निमित्त प्रहरी प्रमुख जितेन्द्रकुमार बस्नेतले बताए । बैठकले जिल्लाको यातायात व्यवस्था सहज र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा छुट्टै यातायात व्यवसायी, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, पत्रकार सहितको यातायात व्यवस्थापन तथा अनुगमन समिति समेत गठन गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग