Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाविसको काम सदरमुकामका होटलबाट

Published on 11:11:00 PM //


-विशाल भट्टराई
गुल्मी, ४ असोज । अधिकांश गाविस सचिवले सदरमुकाम तम्घासमा गाउँ विकास समितिको कार्यालय स्थापना गरेर काम थालेपछि सर्वसाधारण मर्कामा परेका छन् ।

७९ गाविसमध्ये ४५ गाविसका सचिवले सदरमुकामका होटलमा झोले कार्यालय स्थापना गरी गाविसका सम्पूर्ण काम गर्दै आएका छन् । शान्ति स्थापना भएको लामो समयसम्म पनि गाविस सचिव गाउँ नफर्किएपछि जनता सामान्य कामका लागि पनि सदरमुकाम धाउनुपरेको छ ।
रुरु गाविसले भने रिडिमै कार्यालय राखेको छ । तस्बिर: रुरु क्षेत्र, रिडी  
‘सानो कामका लागि पनि सदरमुकाममै धाउनुपर्छ,’ पश्चिमी गाविस अग्लुङका चन्द्रबहादुर केसीले भने, ‘समयमै सचिवलाई नभेट्दा दुई–तीन दिनसम्म सदरमुकाममै बस्नुपर्छ ।’ जिल्लाको क्षेत्र नम्बर १ र ३ बाट गाविस सचिवलाई भेट्नका लागि सदरमुकाम आउन एक दिनभन्दा बढी समय लाग्ने पूर्वजिविस सभापति भरतबहादुर चन्दले बताए । ‘महिला तथा वृद्धवृद्धाका लागि दुई दिनसम्म लाग्छ,’ चन्दले भने ।
जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, सिफारिस, नाता प्रमाणितलगायतका सामान्य कामका लागि पनि सदरमुकाम आउनुपर्दा आफूहरू अत्यन्तै निराश भएको स्थानीय बासिन्दाको गुनासो छ । ‘संकटकालको समयदेखि स्थानीय निकाय भंगपछि गाविसका सबै काम गर्ने अधिकार सचिवको जिम्मामा छ,’ मुसिकोट गाविसका पूर्वअध्यक्ष खड्गबहादुर महतले भने, ‘अध्यक्ष एवं सचिवको जिम्मेवारी एकैपटक पाएपछि सचिवहरू मालामाल भएका छन् ।’
जिल्लाका करिब चार दर्जन गाविस सचिव गाउँ नफर्की सदरमुकाम बसेको गाविसका सहायक सचिवहरू बताउँछन् । सचिवले कामकाज सदरमुकामबाटै गरेपछि आफूहरूलाई काम गर्न समस्या भएको उनीहरूको गुनासो छ । संकटकालमा तत्कालीन विद्रोही माओवादीको धम्की तथा चन्दाबाट पीडित सचिव शान्ति स्थापना भएको सात वर्ष पुग्दा पनि गाउँ फर्कन तयार छैनन् ।
एलडिओ हरिप्रसाद ज्ञवालीले गाविस सचिवलाई गाउँमा बसेर जनताको सेवा गर्न निर्देशन दिएको बताउँछन् । तर, गाविस परिषद्बाहेक अरू समय सचिव सदरमुकाममा बसेर काम गरिरहेका छन् । संकटकालयता नेपाल सरकारले गाविसको सम्पूर्ण जिम्मा सचिवकै काँधमा पारेपछि सम्पूर्ण कामको चापले गाउँ बस्न नपाएको सचिवहरू बताउँछन् तर एलडिओ ज्ञवालीले भने, ‘गाविस कार्यालय झोलामा राखेर सदरमुकाम नबस्न निर्देशन दिएका छौँ ।’

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग