Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यार्थीले गर्न थाले शिक्षकको हाजिर

Published on 8:51:00 PM //


गगनशिला खड्का
गुल्मी, ११ असोज । सबै विद्यालयमा शिक्षकले सिकाउँछन्, विद्यार्थीले सिक्छन् । तर, गुल्मीमा भने विद्यार्थीले मनपरी गर्ने शिक्षकलाई सिकाउन थालेका छन् । शिक्षकहरू अन्य काममा व्यस्त भएर कक्षामा अनुपस्थित हुन थालेपछि विद्यार्थीले नै शिक्षकको हाजिर गर्न थालेका छन् ।
पृथ्वी उच्च मावि पुर्कोटका शिक्षकहरू विद्यालय र कक्षाकोठामा नियमित उपस्थित नहुने र उपस्थित भए पनि पूरा समय कक्षामा नबिताउने गर्न थालेपछि विद्यार्थीले हाजिर गर्न थालेका हुन् । स्रोतकेन्द्रले नै कक्षामा मनिटरको व्यवस्था गरी प्रत्येक घन्टीमा शिक्षक उपस्थित भए नभएको अभिलेखसहितको हाजिर राख्न निर्देशन दिएको हो ।
शिक्षक ४५ मिनेट कक्षामा रहे नरहेको रुजु गर्ने र मसान्तमा प्रधानाध्यापकको सही र कक्षा मनिटरको सही गरी स्रोत केन्द्रमा पठाउने व्यवस्था भएको स्रोतव्यक्ति ताराबहादुर राउतले बताए । विद्यार्थीले शिक्षक डायरीसहित कक्षामा प्रवेश गरे नगरेको समेत अभिलेख राख्ने बताए । जिल्ला शिक्षा कार्यालयले सप्ताहव्यापी विद्यालय निरीक्षणका क्रममा अनियमितता भेटिएपछि शिक्षकलाई सुधार गर्न विद्यार्थीबाट यस्तो कदम चालिएको स्रोतव्यक्ति राउतको भनाइ छ ।
शिक्षा कार्यालयको अनुगमनपछि जिल्लाका धेरै विद्यालयमा सुधारको पहल सुरु भएको छ । महिनाको अन्त्यमा शिक्षक र प्रअबीच छलफल गरी थप सुधार गरेर अघि बढ्ने विद्यालय निरीक्षक लोकनाथ मरासिनीले बताए । वस्तु स्रोतकेन्द्रका स्रोतव्यक्ति खिमबहादुर महतले भने, 'पठनपाठनलाई थप सुधार गर्न व्यक्तिगत प्रयासले मात्र हुँदैन, सामूहिक प्रयास आवश्यक छ ।'
शिक्षाको सप्ताहव्यापी अनुगमनमा ४/५ कक्षाका विद्यार्थीले अक्षर चिन्न नसक्ने अवस्था भेटिएको स्रोतव्यक्तिहरूले बताएका छन् । 'कक्षा चार र पाँचमा अध्ययन गर्ने विद्यार्थीले सामान्य रूपमा आफ्नो नामसमेत लेख्न नसक्ने अवस्था पाउँदा दुःख लाग्यो,' श्रृङ्गा स्रोतकेन्द्रका स्रोतव्यक्ति शंकरप्रसाद पन्तले भने । नियमित अनुगमनले मात्र शैक्षिक सुधार नभई शिक्षक, विद्यालय प्रशासन, अभिभावक र विद्यालयको वातावरणमा समेत सुधार ल्याउनुपर्ने विद्यालय निरीक्षक झविलाल विकले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग