Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

साकारात्मक कुरा: माझिहरुका लागि बन्ने भए नमुना घर

Published on 5:00:00 PM //


घनश्याम गौतम
बस्नका लागि मुस्किलले आठ हातमा बनेको झुपडी । अन्य खेत बारी पनि केही छैन् । सम्पत्ति भनेकै आठ हातमा बनेको झुपडी मात्र । त्यही झुपडीमा १२ जनाको परिवार जेनतेन गुजारा गर्दै आएको छ ।

‘पुस्तौं देखि यही घरमा निर्वाह गर्दै आएका छौं ।’ बम्घा गाविस–५ आँटीपाटाका शिरे माझीले यी कुरा व्यक्त गरिरहँदा उनको यो पुस्तौं देखिको बासस्थान परिवर्तन हुने गरी नक्सा बनिसकेको छ । आठ हातमा बनेको झुपडी सहित अब १५ घर परिवार चिटिक्क परेको घरमा परिवर्तन हुँदै छन । शिरे माझीको s१२ जनाको परिवार अब छिट्टै छुट्टाछुट्टै कोठामा बस्न र सुत्न पाउने छन् ।

शिरे माझी मात्र होइन । अत्यन्तै विपन्न अवस्थामा रहेका कुमाल र बोटे समुदायका १५ परिवार अब सुविधा सम्पन्न घरमा बस्न पाउने छन् । गाउँमा पुग्ने सरकारी कर्मचारी देखि गैरसरकारी संस्थाका प्रतिनिधिहरुको समेत मन चुसुक्क हुनेगरी उनीहरुको जिवनस्तरले छोएपछि आँटीपाटाका बोटे र माझीहरुको परिबारमा परिवर्तन आउन लागेको हो ।

कसरी आउन लाग्यो त परिवर्तन ?
तलपट्टि बढीघाट खोला, खोला किनारको भिरालो डाँडामा विपन्न ६२ परिवार अति विपन्न बोटेहरुको बस्ति । सबै घरमा ६ देखि १३ जनासम्मको परिवार । आम्दानीको स्रोत दैनिक ज्याला मजदुरी मात्र । दिनहुँ कमाउने र कमाएकै दिन खाएर सकिने अवस्थाका यिनीहरुको जिवनस्तर कहिल्यै माथि उठ्न सकेको छैन् । बजारमा दिनहुँ खाध्य सामाग्रीको मुल्य बढ्ने गरेपनि यिनीहरुको ज्याला बषौं देखि पुरुषको १ सय ५० र महिलाको ६५ मात्र छ ।

बोटे र माझीहरुको दयनिय अवस्था अध्ययनगरेपछि जिल्ला विकास समिति र नवप्रभात युवा संघ लुम्छाको पहलमा आँटीपाटामा चिरीच्याट्ट पर्न लागेको हो । भवन निर्माणका लागि जिविसले गत वर्ष १२ लाख रुपैंया रकम बिनियोजन गरी नवप्रभात युवा संघसंग सम्झौता समेत गरिसकेको छ । त्यसमा संघले ७ लाख थपेर आँटीपाटाका १५ परिवारको घर निर्माण गरिएको जिविसका अधिकृत शंकर गौतमले बताए । ‘माझी र बोटे समुदायको अवस्था देखेपछि निकै दयनिय लाग्यो ।’, गौतमले भने, ‘सबैको पहलमा उनीहरुलाई घर निर्माण गर्ने गरी बजेट बिनियोजन गरिएको हो ।’ जिल्लामा यसरी सामुहिक घर निर्माण गर्न जिविसले आर्थिक सहयोग गरेको यो पहिलो हो ।
नव प्रभात युवा संघ लुम्छाका अध्यक्ष शंकरप्रसाद पन्तका अनुसार माझीहरुको भवन निर्माणका लागि संस्थाको आन्तरिक स्रोतबाट रकम सहयोग गरिएको बताए । ‘संस्थाको आफ्नै स्रोत थिएन’, उनले भने, ‘बोटे र माझी समुदायको अवस्था कष्टकर भएकाले संकलित सानो रकम सामाजिक काममा नै लगाएका हौं ।’

बर्षौ देखि झुपडीमा बस्दै आएका माझी र बोटेहरु नयाँ घर निर्माण हुनेभएपछि उत्साहित छन् । बर्षौं देखि माछा मारेर पेशा अंगाल्दै आएका आँटीपाटाका माझी र बोटेहरु जाल किन्ने पैसा अभावमा पेशाबाटै समेत विस्थापित भएका थिए । जाल अभावमा पेशाबाट विस्थापित भएका माझीहरुलाई एक गैरसरकारी संस्थाले २० थान जाल किनिदिएको थियो । ‘पहिला जाल आयो ।’, आँटीपाटाकै खिमबहादुर माझीले भने, ‘अब त झन घरै बन्ने भो, हामीमा कहिल्यै नआएको खुशी आएको छ ।’ जिविसले २ वर्ष अघि उनीहरुमा आम्दानी बढाउने उद्देश्यले पैचौं कार्यक्रम अन्तर्गत बाख्रा समेत वितरण गरेको थियो । बाख्राको कार्यक्रम राम्रो गरी सफल बनाएपछि थप प्रोत्साहन स्वरुप घर निर्माण गरिदिने निर्णय गरेको जिविसले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग