Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दसैँकोटमा दलित पूजारी

Published on 7:30:00 PM //


धुर्कोट (गुल्मी), असोज ३० / गुल्मीको जयखानीका जनताले दसैँकोटमा दलित पूजारी राखेका छन्।

जिल्लाको क्षेत्र नम्बर १  स्थित जयखानीमा भएको सर्वपक्षीय भेलाले यसपालिको दसैँमा लमसरनङ्ग गाउँस्थित देवीकोट मन्दिरमा स्थानीय दलितलाई पूजारी राख्ने निर्णय गरेका हुन्। सो निर्णयपछि आज घटस्थापनाको दिनदेखि स्थानीय विनोद विश्वकर्माले देवीकोट मन्दिरमा पूजाआजा सुरु गरेका छन्।    

एकीकृत नेकपा (माओवादी) का जयखानी गाउँ कमिटी अध्यक्ष ईस्वरी विश्वकर्माले दलितहरुले पनि कोटमा पूजा गर्न पाउनुपर्ने माग राखेपछि यस्तो निर्णय भएको बताए।

कोट व्यवस्थापन समितिका अध्यक्ष मोतीप्रसाद श्रीस, अध्यक्ष विश्वकर्मा, काँग्रेस प्रतिनिधि खडगबहादुर थापा, एमाले जिल्ला सदस्य देउकुमार काउछा, सुवेदार अभिमानसिंह राना, दलित सचेतना एवम् क्षमता अभिवृद्धि जयखानीका अध्यक्ष भोजबहादुर सुनारलगायतको बैठकले दसैँमा मगर एक जना र दलित अनिवार्य एक जना पूजारी राख्ने निर्णय गरेको हो।  

 लम्साराङ्ग गाउँमा १५० घरधुरी रहेको छ। जसमध्ये तीन घर क्षेत्री र २४ घरपरिवार दलित छौँ, अरु सबै जनजाति छन्, विश्वकर्माले भने, 'यहाँ एकजना पनि ब्राह्मण नभएकाले यो निर्णय पारित गराउन सजिलो भएको महसुस गरेका छौं।'

दलितलाई पूजा आजा गर्न पटकपटक माग गर्दा पनि नदिएपछि स्थानीय दलितहरुले उक्त कोटमा ६ वर्र्षदेखि बाजा बजाउने, हातहतियार सान लगाउनेलगायतका काम रोकेका थिए।

यसैबीच गुल्मीकै खड्गदेवी मन्दिर पूजा व्यवस्थापन समिति मुसीकोट–वडागाउँमा पनि यसवर्षदेखि  दलितहरुलाई गैर दलित सरह टीका लगाइदिने निर्णय गरिएको छ।

मुसीकोट र बडागाउँ गाविसका दलित समुदायका प्रतिनिधिहरुले पूजा आजा कार्यमा आफ्नो पनि समान सहभागिताको माग राखेपछि गाविस सचिव, राजनीतिक दलका प्रतिनिधि, टोल सुधार समिति, दलित प्रतिनिधिलगायत बीच भएको छलफलले दलितहरुलाई पनि गैरदलितसरह टीका लगाइदिने निर्णय गरेको पूजा व्यवस्थापन समितिका अध्यक्ष इन्द्रध्वज खत्रीले जानकारी दिए।

बाइसे राज्यअन्तर्गतको मुसीकोट दरबारमा प्रत्येक वर्ष विजया दशमीको अवसरमा घटस्थापनादेखि दशमीसम्म विशेष पूजाआजा हुने गरेको छ। रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग