Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुस्ताङ म्याक्स छाडेर स्कारपियोमा प्रधानमन्त्री

Published on 6:25:00 PM //


समुन्द्र पौडेल
तनहुँ, असोज २७- बाबुराम भट्टराई प्रधानमन्त्री भएलगतै स्वदेशी उत्पादनको मुस्ताङ म्याक्स चढ्ने घोषणा गरे। प्रधानमन्त्रीले चढ्ने गाडी भनेर 'मुस्ताङ म्याक्स' ले त्यो समय चर्चासँगै राम्रो बजार पनि पायो। स्वदेशमै बनेको गाडी प्रयोग गर्ने भनेर चर्चा कमाएका प्रधानमन्त्री भट्टराई अहिले आफैं विदेशी गाडीमा हुइकिन थालेका छन्। शुक्रबार धादिङ, तनहुँ र गोरखाका विभिन्न कार्यक्रममा सहभागी हुन आएका भट्टराई मुस्ताङ म्याक्स छाडेर भारतको महेन्द्रा कम्पनीको स्कारपियो गाडीमा आएका थिए।
प्रधानमन्त्री भट्टराईले बा १ झ ९३४६ नम्बरको स्कारपियो गाडीको प्रयोग गरेका थिए। गाडीमा उनीसँगै उनकी पत्‍नी एवं माओवादी नेतृ हिसिला यामी थिइन। तनहुँको बरभञ्ज्याङमा पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रको उद्‍घाटन गर्न पुगेका प्रधानमन्त्रीको गाडीलाई स्थानीय बासिन्दाले मुस्ताङ म्याक्स भन्दै मोबाइलमा फोटो खिचेका थिए।

मुस्ताङ म्याक्सको इन्जिन चाडै तात्ने भएकाले ब्रेक गनाउने समस्याले प्रधानमन्त्रीले लामो दुरीमा मुस्ताङ म्याक्सको प्रयोग गर्न छोडेको प्रधानमन्त्री निकट स्रोतले बतायो। 'मुस्ताङ म्याक्समा चाडैनै ब्रेक गनाउछ,' स्रोतले भन्यो, 'ब्रेकको गन्धबाट प्रधानमन्त्रीलाई वान्ता आउने भएपछि उनले गाडी फेरेका हुन्।' संविधान सभा विघटन हुनु पुर्व मासिक भ्रमणका क्रममा मुस्ताङ म्याक्स चढेर गोरखाको घ्यालचोक आएका प्रधानमन्त्रीले बाटोमै बारम्बार वान्ता गरेपछि हेलिकप्टर मगाएर राजधानी फर्किएका थिए।

मुस्ताङ म्याक्स लामो दुरीमा चलाउन ढिलो हुने र घुम्तीमा मोड्न अप्ठ्यारो हुने गरेकाले लामो दुरीको भ्रमणमा प्रधानमन्त्रीले अन्य गाडीको प्रयोग गर्ने गरेको प्रधानमन्त्रीका स्वकीय सचिव फणिन्द्र देवकोटाले बताए। 'अन्य गाडीको तुलनामा मुस्ताङ म्याक्सको गती कम छ, ' उनले भने, 'घुम्तीमा मोड्न सँगै स्कटिङका लागि समस्या देखियो।'

राजधानी बाहिर प्रधानमन्त्रीले बिदेशी गाडीको प्रयोग गरेपनि राजधानीभित्र मुस्ताङ म्याक्सको प्रयोग गर्ने गरेको उनले बताए। प्रधानमन्त्रीले जगेडा गाडीको रुपमा समेत बा १ झ ८१८६ नम्बरको प्राडो ल्याण्ड क्रुजरको प्रयोग गरेका थिए।
नागरिक न्युज डट कम

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग