Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनस्वास्थ्यमा खेलबाड गर्दै आएका २ ठगहरु गुल्मीको अर्खाबाङमा पक्राउ

Published on 4:24:00 AM //

गुल्मी, २९ कात्तिक । प्राकृतिक उपचारबाट सबै रोग निको पर्ने भन्दै शिविर सञ्चालन गरिँदै आएका दुईजनालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । जापानीज डेटोक्स प्रविधिको प्रयोग गरी सबै रोगको उपचार गराउने भन्दै गुल्मीको अर्खाबाङमा शिविर सञ्चालन गरिएका अर्खाबाङका शिक्षक डिल्लीराज अर्याल र बागलङको रीघा–५ घर बताउने योगेश भुजेललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले मेसिन ल्याएर अर्खाबाङमा रहेको पैयापाटा प्राविका प्रधानाध्यापक जनक अर्याल र व्यवस्थापन समिति अध्यक्ष जिवलाल अर्यालको व्यवस्थापनमा विद्यालय नै बन्द गरेर शिविर सञ्चालन गरेका थिए ।
बाथ, युरिक एसिड, ट्युमर, पत्थरी, मधुमेह, ढाड कम्मर दुख्ने, महिनाबारी गडबडी, ग्यास्ट्रिकलगायतका रोग निको हुने र रगत सफा भई सधैँ तन्दुरुस्त रहने भन्दै स्थानीय रेडियोमा भ्रामक विज्ञापन गरेर जनता ठगेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले स्वास्थ्य शिविर सञ्चालनको स्वीकृत नै नलिएको प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले बताउनुभयो । स्वास्थ्यसम्बन्धी शिविर भनिए पनि यसबारे जिल्ला स्वास्थ्य कार्यालयमा समेत कुनै जानकारी नभएको स्वास्थ्य कार्यालय प्रमुख डा. हरिबहादुर केसीले बताउनुभयो । भुजेलले आफ्ना एक सहयोगीमार्फत जापानबाट सिधैँ मिसिन नेपाल भित्र्याएका र रु एकदेखि दुई लाखसम्ममा बेच्ने गरेको बताएका छन् । हालसम्म ३०-३५ वटा मेसिन यसरी नेपाल छिराएको उनको भनाइ छ । गत कात्तिक २१ गतेदेखि सञ्चालन भएको शिविरमा ह्वाङ्दी, अर्खाबाङ, दर्लिङलगायतका गाविसका ६० जना भन्दा बढीले उपचारका नाममा प्रतिव्यक्ति रु एक हजारका दरले रकम तिरेको ह्वाङ्दी मेहले माविका शिक्षक पुष्कर केसीले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग