Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालुवा चालेरै मनग्गे आम्दानी

Published on 4:20:00 AM //

माधव अर्याल
पाल्पा, कार्तिक २८ -
रिडीखोला र कालीगण्डकी किनारमा बालुवा चालेरै ४० बढी परिवारले मनग्गे आम्दानी गर्दै आएका छन् । आफ्नो जग्गा नभएका र मेहेनतमा विश्वास गर्नेहरू नदीकिनारमा बालुवा चालेरै धेरै आम्दानी गर्न सफल भएका हुन् ।

आफ्नो कमाउने जग्गा नहुनेले पनि मनग्गेे आम्दानी गर्ने माध्यम बालुवा बनेको गंगादेवी गाहाले बताइन् । दिनहुँ बिहानै उठेर घरखर्चको जोहो गर्न पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्रमा आउने गर्छन् । दिनभर बालुवा चाल्ने र साँझ मात्र घर फर्किने गर्छन् । ढुंगा, गिट्टी फोर्ने पनि कम्ती परिवार छैनन् । 'बालुवा चालेर र गिट्टी कुटेर मासिक ५ देखि २० हजार कमाउने पनि छन्,' उनले भनिन्, 'त्यसैले यहाँ काम खोज्न आउने र बालुवा चालेर बस्नेको संख्या पनि बढेको हो ।'

चार/पाँच वर्ष अघिसम्म दुई चारजना परिवार भए पनि अहिले भने ४० भन्दा बढी भइसकेको छ । बालुवाको आम्दानीले घरखर्च चलाउन सहज भएको उनीहरूको भनाइ छ । जग्गाविहीनले पनि बालुवा चालेर मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सक्ने भएका छन् । रुरुक्षेत्रमा अहिले बालबालिकादेखि वृद्धवृद्धासम्म बालुवा चाल्ने र गिट्टी फोर्ने काममा तल्लीन देखिन्छन् । बालुवा चाल्दै गरेका उत्तम गाहाले मासिक २० हजार कमाइ हुने बताए । आफ्नो घरजग्गा नभएका र थोरै भएकाहरूको अहिले जिउने माध्यम यही बालुवा चाल्ने र गिट्टी कुट्ने काम गरेर बसेको उनले बताए । उनका अनुसार एक जनाको दैनिक तीन/चार सयसम्म आम्दानी हुन्छ । नदीकिनारमा बालुवा चाल्ने, गिट्टी कुट्नेले छोराछोरी पढाउन सफल भएका छन् । पहिले पढ्न छाडेकाले समेत अहिले पुनः विद्यालय भर्ना भएर पढ्न थालेको उनले बताए । उनीहरूका अनुसार विदेशमा गएर शौचालय सफा गर्ने, भेडा चराउने भन्दा स्वदेशमै श्रम गर्नु बेस । स्थानीय अम्बिका थापाका अनुसार मेहेनत गरेमा बगरमै पनि राम्रो कमाइ हुन्छ । उनले बालुवा चालेर मासिक कम्तीमा १२ हजार कमाउने सुनाइन् । बालुवा चालेर आफ्नो घरखर्च राम्रै चलेको उनले बताइन् । 'आफू पढ्न र लेख्न नपाए पनि बालुवा चालेरै छोरालाई पढाएको छु,' उनले भनिन्, 'सबैलाई आफ्ना छोराछोरीलाई पढाउन सुझाबसमेत दिने गरेकी छु ।' बालुवामा काम गर्न सजिलो नभई बाध्यता भए पनि कमाइ राम्रो भएकाले आफूहरू सन्तुष्ट भएको उनीहरूले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग