Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङ र गुल्मीका सीमा क्षेत्रका गाबिसमा ‘न्वागी पर्व’ धुमधाम संग सम्पन्न

Published on 6:15:00 PM //


शान्ति छन्त्याल
बागलुङ मंसीर ६ । बागलुङ र गुल्मीका बासिन्दाले बुधवार न्वागी पर्व धुमधामका साथ मनाएका छन् । बागलुङको ग्वालीचौरमा बुधवारदेखि न्वागी मेला सुरु भएको छ । संस्कृतको ‘नवात्र’ शब्द नेपालीमा ‘नुवागी’ हुँदै अन्तत: ‘न्वागी’ उच्चारण गरेको पाइन्छ । प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि जदनको काँचो चामलमा दही, केरा, सिलाम, चिनी, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाई त्यसलाई राम्ररी मुछेर विधिर्पूवक देवता तथा पितृहरूलाई चढाइसकेपछि त्यसलाई प्रसादस्वरूप खाने परम्परा रही आएको छ । तिथिमिति अनुसार न्वागी पर्वका दिन सबैको घरघरमा विहान एकै समयमा पुजापाठ गरी न्वागी खाएको दिनदेखि नयाँ धान प्रयोगमा ल्याउने प्रचलन रहेको छ । नयाँ धान भित्र्याई तुलसी, राधा, दामोदरको विधिर्पूवक विवाह सम्पत्र गरी न्वागी खाने गरिन्छ ।

यसैअनुरुप बागलुङको ग्वालीचौर, जलजला, गुल्मीको नेटा, दोहोली, अमराईकालगायका बासिन्दाले आ—आफ्नो घरघरमा पुजापाठसहित विभिन्न परिकार खाएर मनाएका छन् । न्वागीको दिन बिहानैदेखि मन्दिरमा पुजाआजा हुने गर्छ भने रातभर सोरठी, ख्याली, बालुन र मालश्री गाउने तथा नाच्ने गरिन्छ । पछिल्लो समयमा स्थानीय बासिन्दाको पहलमा न्वागी मेलालाई महोत्सवकै रूपमा मनाउन थालिएको छ ।

यसअवसरमा कृषि मेला प्रदर्शनी सहित खुल्ला पुरुष भलिवल, खुल्ला लोकदोहोरी, खुल्ला लोकनृत्यलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । भने कृषि मेला प्रदर्शनीमा तरकारीबाली, खाद्यान्न, फलफुल, नगदेबाली, र तेलहनबालीलगायको प्रदर्शनी हुँदैछ ।

किसानहरुको उत्पादन क्षमतामा वृद्धि गर्ने उद्देश्यका साथ कृषि विकास समिति ग्वालीचौरको आयोजना हुन लागेको उक्त प्रदर्शनीमा बागलुङ र गुल्मीका गरी झण्डै एक दर्जन गाविसका कृषकहरु सहभागी हुँदैछन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग