Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लौ नानी अहिलेसम्म बुहारी बनाएर पालेँ, अब छोरीको रूपमा कन्यादान दिँदैछु

Published on 7:09:00 PM //

यस विवाह सम्बन्धी अडियो रिपोर्ट सुन्न यहाँ क्लिक गर्नुहोला ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 
गगनशिला खड्का
गुल्मी, २५ मंसिर । 'लौ नानी अहिलेसम्म बुहारी बनाएर पालेँ, अब छोरीको रूपमा कन्यादान दिँदैछु' तम्घास-३ की ६२ वषर्ीया लक्ष्मी नेपालीले विधवा बुहारीलाई कन्यादान दिँदै भनिन्, 'अब माइती भनेर मेरो घरमा आएस्, म छोरीको रूपमा सधैँ स्वागत गर्नेछु ।' लक्ष्मीले आफ्नी बुहारीलाई छोरीको रूपमा कन्यादान दिँदा विवाहमा भेला भएका जन्ती र आफन्तजन सबैले आँसु झारे । सोमबार गुल्मीमा सासू-ससुराले आफ्नी बुहारीलाई कन्यादान दिँदै गर्दा सबै भावुक देखिए ।
आफ्नो जेठो छोरा प्रदीपको मृत्यु भएपछि सदरमुकाम तम्घास-३ बाघमारे निवासी सासू लक्ष्मी र ससुरा ईश्वरी नेपालीले २४ वषर्ीया बुहारी उषाको विवाह धुर्कोट रजस्थल-१ का २८ वषर्ीय आशीषकुमार नेपालीसँग गरिदिएका हुन् । लक्ष्मीले आशीषलाई ज्वाईंको रूपमा हिन्दूधर्मअनुसार दान-दक्षिणा र सुनका गरगहना उपहारस्वरूप दिएकी थिइन् ।
यसअघि उषाको ०६३ असारमा तम्घास-३ का प्रदीप नेपालीसँग विवाह भएको थियो । विवाह भएको दुई वर्षपछि प्रदीपको तम्घासमा रहस्यमय रूपमा मृत्यु भएपछि उनले श्रीमान्को हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि त्यसको फैसला पर्खेर बसेकी थिइन् । सर्वोच्च अदालतसम्म पुगेको मुद्दा खारेज भएपछि हत्याको कुरा त्यतिकै ओझेलमा पर्‍यो । पतिको हत्याको न्यायिक छानबिनका लागि बसेकी उषाको इमानदारिताको कदर गर्दै विवाह गरिदिएको उनका देवर शंकर नेपालीले बताए ।
छोराको मृत्यु भएपछि पनि घरमा लगनशील भएर काम गरेकी बुहारीको मिहिनेत, माया र ममताका कारण आफूले छोरीजस्तै मानेर विवाह गरिदिएको सासू लक्ष्मीले बताइन् । 'विधवा भएको पनि पाँच वर्ष भयो, एक्ली बुहारी माइतीमा जाने, निहुँ खोज्ने केही गरिनन्,' उनले भनिन्, 'छोरीजस्तै भएपछि सल्लाहले नै विवाह गरिदियौँ ।'
उषाको लगनशीलता र इमानदारिताका कारण उनको विवाहको कुरा चलाइएको र विधिपूर्वक नै विवाह गरिदिएको उनका जेठाजु कृष्ण नेपालीले बताए । 'श्रीमान्को मृत्यु भएपछि पनि उनको इमानदारिताले गर्दा हामीलाई उनको चिन्ता लाग्यो,' उनले भने, 'उनको भविष्यका लागि केही सोच्नुपर्छ भनेर हामी घर, माइती सबैको सल्लाहमा विवाह गरिदिएका हौँ । हामीले घरबाटै विवाह गरिदिने सल्लाह गरेर उषाको माइतीमा खबर पठायौँ । उताबाट पनि विवाह गरदिने सहमति भएपछि आशीषसँग विवाह गरिदिने सहमति भयो ।'
आशीष पनि केही वर्षअघि श्रीमतीको मृत्यु भएपछि एकल जीवन बिताउँदै आएका थिए । उनी रोजगारीको सिलसिलामा भारतमा थिए ।
जैसिथोक-५ लाकुँरीरुख निवासी उषाका माइतीबाट आमा र दाजुहरू पनि विवाह समारोहमा उपस्थित थिए । विधवा छोरीको भविष्य बिग्रन नदिन र सबैको सल्लाहमा विवाह गरिदिएको उषाकी ६५ वषर्ीया आमा राजकुमारी नेपालीले बताइन् । 'छोराछोरी नभई विधवा भएपछि अलपत्र परेका धेरैका छोरी छन्, घर माइतीले उनका समस्या नबुझेर जिन्दगीभरि दुःख पाएका छन्,' राजकुमारीले भनिन्, 'हामीले त छोरी एकपटक विधवा भए पनि अब राम्रो होला भनेर घरपक्ष र माइतीका सबै बसेर सल्लाह गरेर बिहे गरिदियौँ ।'
कसैको करकापबाट नभई सबैको समझदारीबाट यसरी नाैलो तरिकाले विवाह भएकाले आफूले उषालाई खुसी राख्ने बेहुला आशीषले बताए । उनको विवाहमा छिमेकी र गैरदलितले समेत टीकोटालो गरी दक्षिणा दिएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग