Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर छुटे, २८ हजार धरौटी प्रचन्डले नै तिरे (भिडियो सहित)

Published on 4:13:00 AM //


काठमाडौं, मंसिर २६ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैलाई थप्पड हानेको अभियोगमा जेल पठाइएका पार्टीका पूर्व कार्यकर्ता पदम कुँवरको २८ हजार रुपैयाँ धरौटी बुझाई दिएका छन् । सार्वजनिक मुद्दा लगाएर जेल चलान गरिएका कुँवरको धरौटी रकम प्रचण्डका तर्फबाट सहयोगी शिव खकुरेलले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा जम्मा गराएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मा समक्ष थप्पड वापतको २८ हजार धरौटी बुझाइएको हो । कुँवरलाई छुटाउन देशभित्र र बाहिर रहेका थुप्रैं नेपाली तयार भएको खबर सार्वजनिक भएपछि धरौटी तिरिदिन प्रचण्ड आफै अघि सरेका थिए ।
शुभचिन्तकहरुले खोजेको पैसासहित सीडीओ कार्यालय पुगेका पदमका भिनाजुले प्रचण्डले दिएको धरौटी नस्वीकार्ने भन्दै आफैले पैसा बुझाउन खोज्दा प्रशासनले रकम जम्मा भइसकेकाले तिर्नु नपर्ने जवाफ दिएका थिए ।
पदमले भने प्रक्रियाबारे आफू अनभिज्ञ रहेको भन्दै प्रचण्डले नै धरौटी रकम तिरिदिएको भए धन्यवाद छ भने ।
सीडीओ कार्यालयमा धरौटी बुझाएपछि कुँवरलाई काठमाडौं जिल्ला प्रहरी परिसर हनुमानढोकाबाट छाडिएको थियो । त्यहाँ पदमलाई छुट्न आवश्यकपर्ने धरौटीवापतको रकम दिएर सहयोग गर्न थुप्रैं व्यक्तिहरु पुगेका थिए ।
हनुमानढोकाबाट छुटेलगत्तै उनलाई नेकपा–माओवादीले नयाँबजारस्थित जुडो हलमा लगेर स्वागत समेत गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले मागेको २८ हजार धरौटी रकम बुझाउन नसक्दा कुँवरलाई हिजो केन्द्रीय कारागार सुन्धारा लगिएको थियो ।
गत मंसिर १ गते एकीकृत माओवादीले आयोजना गरेको चियापानमा अध्यक्ष प्रचण्डलाई थप्पड हानेपछि कुँवरमाथि सार्वजनिक मुद्दा लगाइएको थियो । प्रचण्डले कुँवरलाई माफी दिएको सार्वजनिक भाषण गरे पनि माओवादी नेतृत्वको सरकारले भने हिजो जेल पठाएको थियो ।
कुँवरका भिनाजु भारतीले धरौटी बुझाउन आफूहरुसँग रकम नभएको जनाएपछि धरौटी राखिदिन हिजैदेखि विभिन्न व्यक्ति अगाडि सरेका थिए । घटनाबारे छानविन गर्न बनेको समितिले कुँवरको परिवार शुरुदेखि नै माओवादी जनयुद्धमा सामेल भएपनि पछिल्ला दिनमा माओवादीको ब्यवहारप्रति वितृष्णा आएर पदमले प्रचण्डलाई थप्पड हानेको निष्कर्ष निकालेको थियो ।

भिडियो हेर्न तल फोटोमा क्लिक गर्नुहोला ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग