Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा धुवाँविहीन भान्साघर

Published on 3:45:00 PM //


गगनशिला खड्का
गुल्मी, गएको १० वर्षमा गुल्मीका ७९ मध्ये ६९ गाविसका २३ हजार १६८ घरमा सुधारिएको चुलो प्रयोग भएको छ। हर्दिनेटा गाविसका ११०१ घरमध्ये १०६० (९५ प्रतिशत) वटामा सुधारिएको चुलो बल्छ। गाविस सचिव कमल श्रेष्ठले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले हर्दिनेटा, म्यालपोखरी, पल्लीकोट, बलेटक्सार र पराल्मी गाविसलाई घरमा धुवाँरहित गाविस घोषणा गर्न लागेको बताए। उता हस्तीचौर र दर्लामचौर गाविसमा सुधारिएको चुलो अभियान शुरू भएको छ। जिल्लामा २०५७ देखि २०५९ सम्म चलेर रोकिएको सुधारिएको चुलो कार्यक्रम २०६० देखि पुनः संचालन भएको हो ।

ग्रामीण आर्थिक विकास संघ (रेडा) का बायोमास इनर्जी इञ्जिनियर शिवजी भुसालका अनुसार, सुधारिएको चुलोमा परम्परागत चुलोमा भन्दा ६० प्रतिशत कम दाउरा खपत हुनुका साथै खाना छिटो पाक्छ र धुवाँ कम आउँछ। गृहिणीहरूलाई सजिलो र स्वस्थकर यो चुलोले वन संरक्षणमा समेत टेवा पुर्‍याएको छ। जिल्लाका सहायक वन अधिकृत कर्णबहादुर पाण्डे सामुदायिक वनका उपभोक्ताले अभियानकै रूपमा सुधारिएको चुलो कार्यक्रम सञ्चालन गरेकाले वनमाथिको चाप स्वतः घटेको बताउँछन्। ग्रामीण प्रविधि प्रवर्द्धक संघ गुल्मीका अध्यक्ष तथा चुम्पले सामुदायिक वन उपभोक्ता समूहका सचिव श्याम खनाल भन्छन्, “विभिन्न सामुदायिक वनसँग समन्वय गरेर वन उपभोक्ता समितिलाई सुधारिएको चुलो बनाउने तालिम पनि चलाएका छौं।”

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. हरिबहादुर केसी सुधारिएको चुलोको बढ्दो प्रयोगका कारण जिल्लामा श्वास–प्रश्वासका रोगी घटेको बताउँछन्।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग