Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भैँसी बेचविखनमा पशु कार्यालयको हचुवापन

Published on 6:20:00 PM //


प्रेम सुनार
पौष ११, गुल्मी । गुल्मी हस्तीचौर र दर्लामचौरका कृषकहरुले जिल्ला पशुसेवा कार्यालयले भैँसी ब्यापारीहरुलाई हचुवाको भरमा स्वीकृती दिने आरोप लगाएका छन् ।
मंगलबार दर्लामचौर र हस्तीचौरबाट रुपन्देहीका भैसी ब्यापारी धनबहादुर क्षेत्रीले खरिद गरी लैजान लागेको बेला स्थानीयबासिले ११ वटा भैँसी नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । त्यस क्रममा व्यापारी क्षेत्रीले जिल्ला पशुसेवा कार्यालयले १५ वटा भैँसी निर्यातका लागि चलानी दिएको देखाएपछि यस्तो आरोप लागाएका हुन् । भैँसी बेचबिखनका लागि जिल्ला पशु सेवा कार्यालयले सम्बन्धित स्थानमा पुगी भैँसीको प्रजनन क्षमता गुमेपछि मात्र बिक्रिका लागि सिफारिस गर्नुपर्नेमा आउँदै नआई भैँसी व्यापारीसँग मिलेर स्वीकृती दिने गरेको आरोप नेपाली काँग्रेसका क्षेत्रिय सदस्य ढुंण्डीराज भण्डारी लगाएतका स्थानीयवासीले लगाएका हुन् ।
सो कार्यालयका डा.कल्याण श्रेष्ठले पुष ९ गते दर्लामचौर र हस्तीचौरका १५ वटा भैँसीको प्रजनन स्वास्थ्य अवस्था परिक्षण गरी बेचबिखनका लागि स्वीकृती दिएको तर सम्बन्धित कृषकले भने पशुसेवा कार्यालयका कुनै पनि प्राविधिक आफूहरुकोमा आउँदै नआएको भण्डारीले जानकारी दिए । डा. श्रेष्ठसँग यस बारेमा बुझ्दा आफूले त्यस स्थानमा प्राविधिक खटाएर परीक्षणको रिपोर्ट आएपछि बिक्रिका लागि स्वीकृती दिएको जिकीर गरेका छन् ।
उता भण्डारी भन्छन् यहाँका एक जना कृषककोमा पनि प्राविधिक आएकै छैनन् । गाउँलले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा पठाइएका भैँसी पशुसेवा कार्यालयको चलानी देखेपछि बैधानिक ढंगबाट खरिद गरेको देखिएकोले व्यापारीहरुकै जिम्मा लगाएर भैँसी पठाइएको निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक जितेन्द्र बस्नेतले बताए ।
मासु प्रयोजनका लागि पोखरा, बुटवल, लगाएतका सहरमा गुल्मीका भैँसी निर्यात गरिदा भैँसी उत्पादन र वृद्धिमा कमि आउँदै गएको छ । बाहिर भैँसी जाँदा स्थानीय मासु उपभोक्ता समेत चर्को मुल्यको मारमा पर्दै आएका छन् । आगामी दिनमा कृषकको घरमा नआई जिल्ला पशुसेवा कार्यालयले स्वीकृती दिएको पाइए आन्दोलनमा उत्रिने गुल्मेली कृषकहरुको चेतावनी छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग