Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘उनकी सुन’ एकादेशको कथा बन्दै

Published on 6:31:00 PM //


प्रेम सुनार
मंसिर १६ गुल्मी । कुनै समय थियो, जाडोमा उनलाई सुनसंग दाँजिन्थ्यो । जाडो आयो कि कहिले आउँछन् जुम्लेली, डोल्पेली भेँडाको उनले बुनिएका राडी पाखी लिएर, भनिन्थ्यो । विशेषगरी गाउँका ठूला भद्र भलाद्मीको दलानको पलङ्गमा राडी नओछ्याईए त्यो भलादमीमा गनिँदैनथ्यो । त्यसो त गरीवहरुको घरमा परीवारले नसकेपनि ईज्जतका खातीर पाहुनाका लागि एकजोडी राडीकाम्लो किनेर राखिन्थ्यो । न्यानोका लागि मात्र नभई प्रतिष्ठाको बिषय समेत बनेको राडी पाखी आजको पिँढीलाई भने एकादेशको कथा जस्तै बनेको छ ।
अहिले गाउँका भद्र भलादमिहरु आफ्नो दलानमा राडी पाखि ओछ्याउँदैनन् । कतै प्लाष्टिकका कुर्सि त कतै दिल्लीको दोरी (च्यादर) ओछ्याएको देखिन्छ । बाक्लो काम्लाको च्यादर ओढेर हिँड्थे उतीबेला बुढा पुरानाहरु तर आजकाल महंगा ‘कोरीयन ओर्जिनल’ ज्याकेट नलगाए उसलाई भद्र भलादमी भनेर पुछ्ने कमै हुन्छन् । अन्य सर्बसाधारण रिडिको च्यादर ओढेको देखिन्छ । रिडिको च्यादर गुल्मीमा निकै चर्चामा छ । तर त्यो रीडिको च्यादर होईन । सिलाङ्ग, देहरादुन, आसाम, गुहावटीमा उत्पादन हुने बस्तु हो । तर ति च्यादर गुल्मीको पुरानो ब्यापारीक केन्द्र रीडिमा पाउने भएकोले त्यो च्यादरलाई रीडिको च्यादर भनेर भन्ने प्रचलन शुरु भयो र अहिलेसम्म पनि त्यो अहिले त्यही नामले नै प्रशिद्ध छ । त्यो च्यादर अहिले भने बजारमा पाउन छाडीसकेको छ ।
यदाकदा बुढापाकाहरुले ओढ्ने गर्दछन् । ७० को नेटो काटेका बडागाउँ ७ का भुपाल सुनार भन्छन् – ‘आफू ५० वर्ष अघि सिलाङ्गमा बसेर सुनचाँदी पसल राख्दा किनेर ल्याएका २ वटा रेडिका च्यादर अझै छन् । त्यो च्यादर ओडेर कतै पाहुना बस्न गयो भने त्यो घरले सिरक दिन पर्दैन । त्यही च्यादरले न्यानोसंग रात ठेल्छ ।’
उनले विबाह वा कुनै ठूलो निम्तामा जानुपरे रेडिको च्यादर छैन भने ईज्जत जान्छ कि जस्तो लागेर अघिपछि बाकसमा राख्ने गरकेो बताउँछन् । ‘खै आजकाल त पाउन छाड्यो, सिलाङ्गतिर आफन्त पनि छैनन् । यीनै दुईवटा च्यादरले मर्ने बेलासम्म पुग्ने भयो ।’
गुल्मीबाट सिलाङ्ग, देहरादुन र आसाममा उही घरजम गर्ने र सुनचाँदीको व्याबसाय गर्ने हजारौँ रहेका छन् । तम्घासे सुनार, मानकोटे सुनारहरुले अझैपनि कोशेलीका रुपमा आफन्तजनलाई देहरादुने च्यादर पठाउने गर्छन् । यसरी भारतबाट उत्पादित जाडोको कपडाले थेगेको छ । तर परा पूर्वकालदेखि आफ्नैदेश त्यो पनि पश्चिम नेपालको जुम्ला, हुम्ला, मुगु, डोल्पा, दार्चुलाको भेँडाको उनबाट उत्पादित राडीपाखी कम्मलले आजकाल बजार पाउन छाडेको छ । गाउँ गाउँमा डुल्थे, त्यस भेकका व्यापारीहरु राडी काम्लो बोकेर । तर आजकाल शहर केन्द्रित भएका छन् । जुम्लाबाट राडीकाम्लो बेच्न आएका धर्मदत्त आचार्य भन्छन् – ‘बुढापाकालाई पो थाहा छ यसको महत्व, अहिलेका त कोरीयन ब्ल्याङ्केट भन्छन्, राडी काम्लोको महत्व के थाहा ?’
‘बुबाहरुले गाउँमा पस्नु ठूलो ब्यापार हुन्छ भन्नुहुन्थ्यो र गाउँ गएको सोध्ने खोज्नेसमेत नभएपछि शहरतिर पसेका छाँै । ’ – उनले भने ।
उनको घरमा पाँचसय वटा भेँडा पालिन्छ । उनीसंगै आएका गणेश भट्ट दार्चुलामा उत्पादित उनी कोटको कपडा, हातमा लिएर तम्घास बजारमा डुलेका छन् । खासै खोज्ने कोही छैन । त्यसको महत्व अलि बुझेका रहेछन् गैर सरकारी संस्था महासंघ गुल्मीका अध्यक्ष विष्णु प्रसाद भण्डारीले । एकथान उनी कोटको कपडा उनले छानेका छन् । ‘जाडोमा कि उनकी सुनको महत्व निकै थियो ’ भण्डारीले भने – अव त्यो विदेशी उत्पादनले मेटाईदियो’ , जुम्लाका ति बन्धुहरुका अनुसार त्यस भेकको भेँडाको उन विकशित मुलुकहरुमा माग बढेको छ । आफ्नो देशमा भने उतै विदेशको उत्पादन । यस उन कि सुनको एकादेशको कथाले पनि प्रष्ट पार्दछ किी नेपालीहरु आत्मनिर्भर भन्दा परनिर्भरतामा रमाउँछन् ।
राडी पाखीवालासंग पाका ब्याक्ति विष्णुप्रसाद भण्डारीले त निकै महत्वका साथ उनि कपडाहरुको मोल तोल गर्दै छन् तर विदेशी ज्याकेटमा सजिएका पत्रकार जनार्दन घिमिरेले भने महत्व आफ्नै ज्याकेटलाई दिएको देखिन्छ हेरौ तस्विर आफै बोल्द छ:

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग