Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा सुन्तला विक्रिबाट यस वर्ष ९ करोड आम्दानी हुने

Published on 6:46:00 PM //

घनश्याम गौतम
गुल्मी, १६ मंसिर । अन्य खेतीको तुलनामा सुन्तला खेतीबाट बढी आम्दानी भएपछि किसानहरु व्यवसायीक सुन्तला खेतीमा लागेका छन् । अन्य खेती छोडेका किसानहरुले ६० वर्ष देखि निरन्तर सुन्तला खेती मात्र गर्ने गरेका छन् ।
पछिल्ला वर्षहरुमा गाउँ गाउँसम्म सडक विस्तार भएको र शहरका व्यवसायीहरु सुन्तला खरीदका लागि किसानका बारीमै पुग्न थालेपछि किसान थप उत्साहित छन् । विक्रिका लागि सहज बजार र कम मेहनतमा आम्दानी बढी हुन थालेपछि किसानहरु अन्य खेती छोडेर सुन्तला उत्पादनमा लागेको कृषि कार्यालयले जनाएको छ । गत वर्ष सुन्तला विक्रिबाट मात्र झण्डै ८ करोड रुपैंया रकम भित्रिएको थियो । यस वर्ष सुन्तला उत्पादन ३ सय मेट्रिक टनले बढेको कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालयका अनुसार जिल्लाका पिपलधारा, अर्खले, हाडहाडे, भनभने, नयाँगाउँ, दिगाम, अर्लाङ्कोट, पुर्कोट, बस्तु, जैसीथोक, जुभुङ्ग लगायतका दर्जनौ गाविसमा व्यवसायीक सुन्तला खेती हुने गरेको छ । सुन्तला विक्रिबाट एकै व्यक्तिले वर्षमा ८ लाख सम्म अँम्दानी गर्ने गरेका छन् ।

अर्खले–९ का किसान मानबहादुर घर्ती मगरले आफ्नो बारीमा ६२ वर्ष देखि निरन्तर सुन्तला खेती हुँदै आएको बताए । ‘मैले जान्दा देखि नै व्यवसायीक रुपमै सुन्तला खेती गर्दै आएका छौं’, उनले भने, ‘हजुरबुबाका पाला देखि शुरु भएको सुन्तला खेती अहिले पनि निरन्तर छ ।’ २००७ सालदेखि सुन्तला खेती शुरु गरेका उनीहरुको २० रोपनी बारीमा अहिले पनि ४ सय बोट सुन्तला छन् । ‘वार्षिक ७० हजार देखि २ लाख रुपैंयासम्म आम्दानी हुने गरेको छ ।’, उनले भने । मानबहादुरका हजुरबुबा खड्गबहादुरले आफ्नै बारीको सुन्तला राजा महेन्द्रलाई समेत विक्रि गरेका थिए । छिमेकीहरुका अनुसार महेन्द्रको परिवार उनकै बारीमा आएर सुन्तला किनेर लैजान्थे ।
अर्खलेको भाडगाउँमा मात्र मानबहादुर जस्तै वर्षौ देखि सुन्तला खेती गर्नेहरुको संख्या ३ दर्जन भन्दा बढी छन् । सबैका घरमा अन्य खेतीको तुलनामा सुन्तला खेती बढी हुने गरेपनि अन्य उत्पादनहरु बढाउन नसक्दा भाडगाउँ सदरमुकाम नजिकै रहेर पनि पछाडी परेको सुन्तला कृषक शेरजंग बस्नेतले बताए ।
पिपलधारा–७ का कृषक विष्णु खनालले गत वर्ष सुन्तला विक्रिबाट मात्र ८ लाख रुपैंया आम्दानी गरेकोमा यस वर्ष उत्पादन घटेको बताए । २५ रोपनी जग्गामा सुन्तला खेती मात्र गर्दै आएका खनालको बारीमा कलमी सहित ४ सय सुन्तलाका बोटले उत्पादन दिएका छन् । ‘गत वर्ष ५० मेट्रिक टन विक्रि गरेर झण्डै ८ लाख रुपैंया आम्दानी भएको थियो’, उनले भने, ‘यस वर्ष भने उत्पादन धेरै घटेको छ ।’ यस वर्ष सुन्तला फुलेका बेला असिना परेकाले उत्पादन कम भएको खनालले बताए । जिल्लाभर व्यवसायीक रुपमै सुन्तला उत्पादन गर्नेहरुको संख्या बढ्दो छ । सुन्तला विक्रिबाट मात्र बार्षिक २ लाख रुपैंयासम्म आम्दानी गर्ने कृषक झण्डै ४ सय रहेको कृषि विकास कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालयका योजना अधिकृत मणिरत्न अर्यालका अनुसार गत वर्ष २ हजार ४ सय ४८ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष उत्पादन बढेर २ हजार ७ सय मेट्रिक भन्दा बढी भएको छ । यस वर्ष सुन्तला विक्रि गरेर मात्र जिल्ला भर ९ करोड रुपैंया भित्रिने अर्यालले बताए । जिल्लाभर झण्डै ६ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ । धेरै सुन्तला खेती घाम पर्ने पहारिलो जग्गामा भएकाले यहाँको सुन्तला बढी स्वादीलो छ । जिल्लाका अधिकांस स्थानमा सुन्तला खरिद गर्न सदरमुकाम सहित बुटवल, कृष्णनगर लगायतका स्थानबाट ठेकेदारहरु किसानको बारीमै पुग्ने गर्दछन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग