Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वृहत राष्ट्रिय खुल्ला भलिवल प्रतियोगिता शुरु, बिजेतालाई ५० हजार नगद

Published on 1:07:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १६ पुस । गुल्मीको सदरमुकाम तम्घासमा सोमबारदेखि वृहत राष्ट्रिय खुल्ला भलिवल प्रतियोगिता शुरु भएको छ । सदरमुका तम्घास स्थित अन टेस्ट युवा क्लवले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा जिल्लामा पहिलो पटक यसरी राष्ट्रिय स्तरको खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा भाग लिनका लागि पाल्पा, वाग्लुङ्ग, स्याङजा, पर्वत, रुपन्देही, अर्घाखाँची लगायत विभिन्न जिल्लाका १७ टिमहरुले सहभागिता जनाएका छन् ।

सदरमुकाम तम्घासको चिदीचौरमा संचालन भएको प्रतियोगिताको प्रथम चरण अन्तर्गत पहिलो दिन पाँच खेल सम्पन्न भएको छ । पहिलो दिनको खेलमा संस्कृति संरक्षण युवा मञ्च बडागाउँ, भिक्टोरी युवा क्लव जुभुङ्ग, वाग्लुङ्ग सेवा समाज गुल्मी, नव प्रतिभा प्रतिष्ठान केन्द्र ठूलोलुम्पेक र सनराईज न्यू युवा क्लव हर्दिनेटा विजयी वनेको क्लवका सचिव नबिन श्रेष्ठले जानकारी दिनु भएको छ । प्रतियोगिताको बिजेता समुहले ५० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले ३० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ । त्यस्तै तृतीय स्थानमा आउनेलाई २० हजार रुपैयाँ नगद र चौथो स्थानमा आउनेलाई पाँच हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लवले जनाएको छ । गुल्मीमा यति ठुलो राशीको भलिवल प्रतियोगिता संचालन गरिएको पहिलो पटक हो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग