Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युएईमा एक बर्षमा ५५ जना नेपालीहरुको मृत्यु

Published on 2:48:00 PM //


लालबहादुर ढेंगा
दुबई । नेपाली रोजगारदाताहरुको लागि खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बनेको छ । करिब २ लाख २० हजारको हाराहारिमा नेपाली कामदारहरु रहेको अनुमान गरिन्छ भने अझै भित्रिने क्रम पनि जारी नै रहेको छ ।
दुबई सरकारले काम गर्ने इम्पलोइमेन्ट भिषा दिनलाई निरन्तरता दिएता पनि भिजिट भिषा अर्थात् व्यापारिक भ्रमण भिषा भने बन्द गरिसकेको छ । अन्य सहर शारजाह, अजमान, अबुधावी, अलाएन, फुजेराह र रसअल खैमाहबाट भिजिट भिषा निकालेर आउने क्रममा पनि बृद्धि भएको पाइन्छ । त्यस्तैगरी ४–५ बर्ष यता पुरुष कामदारहरुको तुलनामा महिला कामदारहरुको आगमनमा पनि ह्वाट्टै बढेको छ । नेपाली कामदारहरु बढ्दै गएपछि विभिन्न समस्याहरु पनि बढ्ने स्वभाविकै कुरा हो । नेपाली राजदूतावास अबुधावीको तथ्यांङ्क हेर्ने हो भने नेपालीहरुको मृत्यु दरमा विगतका बर्षमा भन्दा यस बर्ष २०१२ मा कमि आएका छन् ।
युएईको सरकारी बिभागदेखि लिएर निजी कम्पनीहरुको हरेक क्षेत्रमा नेपाली कामदारहरु कार्यरत छन् । तर महिलाहरु भने धेरै घरेलु कामदारको रुपमा कार्यरत रहेको पाइन्छ । यस बर्ष २०१२ को तथ्यांङ्क अनुसार यएईमा ५५ जना नेपालीहरुको मृत्यु भएको राजदूतावास अबुधावीका प्रथम सचिव लोकबहादुर क्षेत्रीले जानकारी दिनु भएको छ । जसमा ड्यूटीमा काम गर्दागर्दै २ जना, ट्राफिक दुर्घटनामा १० जना, अन्य ३ जना, सामान्य ३५ जना र आत्महत्यामा ५ जना रहेका छन् । जम्मा ५५ जनामध्ये पुरुष ५४ जना र महिला १ रहेको छ । सन् २०१० को तथ्यांङ्कमा मृत्यु हुनेमा ८८ जना रहेको थियो भने सन् २०११ मा घटेर ६७ जनामा झरेको थियो । कतिपय नेपालीहरु विभिन्न अभियोगमा सजाय भोगेर अझैसम्म जेलमा रहेका छन्, भने जेलमा परेका २ जनामध्ये अमरबहादुर बमलाई दुबईमा र दुर्गाबहादुर सुनारलाई शारजाहमा फांसीको सजाय समेत सुनाएका छन् ।
नेपालबाट दाजुभाई तथा पटक दिदीबहिनीहरुलाई युएईमा आउंदा यहांको नियममा कानुन सम्बन्धी केही जानकारी नभएको हुन्छ । यस्ता अवस्थामा नेपाली राजदूतावास अबुधावी, युएईस्थित संचालनमा रहेका विभिन्न संघ संस्थाहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरुले बेला–बेलामा सू–सूचित गर्दै जनमानसमा सूचना प्रवाह गर्दै आएको हुनाले मृत्यु दरमा न्यून हुदैं गएको प्रथम सचिव क्षेत्रीले बताउनु भयो ।
यहां धेरै जसो मृत्यु हुनेमा खाना खाएर सुतेपछि सुतेको सुतेई हुने धेरै छन् । डाक्टरको सल्लाह अनुसार एउटा मानिसले एक दिनमा कमसेकम ५ लिटर पानी पिउनु पर्दछ । किन कि शरीरमा पानीको कमिको कारणले पनि मृत्यु हुने सम्भावना धेरै रहेको बताउंछन् । त्यस्तैगरी नेपालबाट आउंदा गांजा, भाङ, धतुरो, मर्चा, दबाई र मदिराहरु ल्याउन वर्जित रहेको छ । यस्ता खाले नशालु पदार्थ यहां फेला पारेमा धेरै लामो समयसम्म सोधपुछ चलिरहने र ठूलो सजायसम्म हुन सक्ने कानुन व्यापस्था रहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग