Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जन्तीबस पल्टँदा १५ को मृत्यु

Published on 7:56:00 AM //

मदिरा पिएर बस चलाउँदा दुर्घटना-

टेकनारायण भट्टराई, पाल्पा, फागुन २१- सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको आर्यभञ्ज्याङ-राम्दी सडक खण्डमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। पाल्पा खानीछाप-७ आमडाँडाबाट बेहुली लिएर पाल्पा चिदीपाननी गाविस बुढीकोट फर्केको लु १ ख २७९५ नम्बरको जन्तीबस चिदीपानी-२ धैरेनीमा आईतबार राती करिव साढे ९ बजे दुर्घटना भएको हो।

रातीको दुर्घटना भएकोले शव खोज्न कठिनाइ हुँदा संख्या अझ बढ्न सक्ने प्रहरी भनाई छ।

चालक रक्सिले मातेका थिए
राम्दीमा जन्ती कुरेर बस्दा चालक मिलन विकले होटलमा छिरेर रक्सी सेवन गरेका थिए । मातेका चालक र सहयोगी सहित ४५ जना जन्ती सवार बस अघि बढ्यो। ‘बस ठाउँठाउँमा ढलपलाएको थियो ।' मिसन अस्पतालमा भर्ना भएका घाईते विशाल सारुले राति २ बजे नागरिकसंग कुरा गर्दै भने ‘चारजना हामी बसको छतमा थियौं, देब्रे साइड छाडेर दाहिने तर्फ (रङ साइड) को प्याराफिटमा बस ठोक्कियो ।' बस अनियन्त्रित हुँदै छेउका तीनचारवटा प्याराफिट भत्काउँदै अन्ततः सडकबाट तीनसय मिटर तल खस्यो ।

भीरमा अड्केकी बेहुलीले कान्छा भन्दै बेहुलालाई चिच्याइन्
बस दुई भल्र्याङ खाएपछि झ्याल फुटेर बेहुली उछिट्टिइन् । बेहुला भित्रै रहे । ‘बस खस्नै लाग्दा मलाई वहाँ (बेहुला)ले अंगालो हालेर समात्नु भो, हामी चिच्यायौं ।' मिसन अस्पतालको १२६ नम्बर बेडमा भर्ना भएकी बेहुली बिष्णु चर्तीले भनिन् ‘म भिरमा अड्केपछि मैले कान्छा भन्दै बोलाएँ, वहाँले तलबाट बिष्णु भन्दै चिच्याउदै आउनुभयो ।' दुबैजना भीरमै भेटेर अंगालो हालेर रोए।

‘मैले जेठान (बिष्णुका दाई रुपबहादुर हिस्की)लाई फोन गरेँ र गाडी दुर्घटनामा प¥यो छिट्टै आउनु भनेँ ।' मिसनमै ४१६ नम्बर वेडमा भर्ना भएका बेहुला रोशन चर्तीले भने ‘म हिडेरै बाटोमा निस्केँ उनलाई बोकेर माथि ल्याइयो ।' स्थानीय र प्रहरीले घाईते बेहुलाबेहुलीलाई एकै गाडीमा चढाएर मिसन अस्पताल पठाए । कक्षा ८ बढ्ने १७ बर्षीया विष्णुले भारतमा नोकरी गर्ने रोशनसंग प्रेम बसेपछि एक महिना पहिले माघ २० गते भागेर बिहे गरकी थिइन् । ठ्याक्कै एक महिनापछि फागुन २० गते मगरी संस्कार अनुसार ‘ढोगभेट फर्काएर' घर आउँदा दुर्घटना भयो ।

बेहुली बिष्णुका हातका सबै चुरा फुटेका थिए । रातो चुराले रंगिएका हात दुर्घटना पछि अस्पतालमा सेता पट्टीले घेरिए । सिंदुर हुनुपर्ने निधार रक्ताम्य बन्यो । कोरीबाटी गरेको केश भताभुंग थियो । कपालको डोरी फुस्किएर विस्तरामा छरपष्ट थियो । अर्कोतर्फ औंठी लगाएका बेहुलाको हातका औंला दुर्घटनामा भाँचिएपछि सेतो व्याण्डेज बाँधिएको थियो । दुबै खतरामुक्त रहेका मिसन अस्पतालले जनाएको छ ।

मुखमा ‘मोवाईल लाईट' टोकेर प्रहरीले मध्यरातसम्म उद्दार गरे

रुखका हाँगा नसमाई अडिन नसकिने डरलाग्दो भीरमा संघर्ष गर्दै प्रहरी जवानहरुले चार घण्टा लगाएर घाईतेको उद्दार गरे । अप्ठ्यारो भीरमा रातभर जुनकीरी जस्तो मोबाईल लाइट मुखमा टोकेर घाईते बोक्दै माथि निकाल्दै गरेका थकित प्रहरी जवानहरुलाई स्थानीयले ग्लुकोज पानी दिएका थिए । उनीहरुसंग चहकिलो लाइट थिएन । कतिपयले स्थानीयको लाईट मागेर चलाए ।

फुर्तिलो जिउ भएका जवानहरुलाई मोटो जिउ भएका इन्स्पेक्टर र असइले माथिबाट आदेश दिन्थे । पसिना काढ्दै रक्ताम्य जिउ बनाएर जवानहरुले घाईते ओसारे। साढे नौ बजे भएको दुर्घटनामा उद्दारका लागि नेपाली सेनाको टोली भने राति १ बजे मात्रै पुग्यो । घाईते सबैलाई प्रहरी र स्थानीयले निकाले भने शव निकाल्न आज बिहानसम्म नेपाली सेना खटिए ।

यहि ठाउँमा ३४ जनाको ज्यान गएको थियो
आईतबार दुर्घटना भएकै ठाउँमा करिव पाँच बर्ष पहिले भएको बस दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो । दुईबर्ष पहिले पनि ट्रक खस्दा दुईजनाको मृत्यु भएको स्थानीयले बताए ।
नागरिक न्युज डट कमबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग