Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपेक्षाकृत हतियार संकलन भएन, प्रहरी घरघरै पुग्न थाले

Published on 3:34:00 PM //


विष्णु पौडेल
गुल्मी, २२ चैत । जिल्ला प्रशासन कार्यालयले अवैध हतियार बुझाउन जारी गरेको मितिमा अपेक्षाकृत हतियार संकलन नभएपछि प्रहरी घर–घरै पुग्न थालेको छ । फागुनदेखि हतियार संकलन सुरु भए पनि सोचेअनुरूप संकलन नभएपछि यसरी घरघरै पुगेर प्रहरीले हतियार बुझाउन आग्रह गरेको हो ।

जिल्लाका विभिन्न क्षेत्रमा रहेका प्रहरी कार्यालयमार्फत घरघरै पुगेर अवैध हतियार बुझाउन आग्रह गरिरहेको गुल्मीका प्रमुख प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले बताए । ‘हामीले सोचेअनुरूप अवैध हतियार संकलन भएन,’ उनले भने, ‘कतिपयले लुकाई–छिपाई अझै पनि हतियार राखेको आशंकामा हतियार फिर्ता गर्न आग्रह गर्दै घरघरै गएका हौैं ।’ प्रहरीले घरघरै पुगेर आपूmसँग भएका अवैध हतियार बुझाउन र कानुनी मान्यता प्राप्त हतियारलाई पनि नवीकरण गर्न अनुरोध गरेको छ ।

गुल्मीलाई अवैध हातहतियारमुक्त जिल्ला घोषणा गर्ने अभियानअन्तर्गत हतियार संकलन सुरु भएको हो । अहिलेसम्म जिल्लाभरबाट ६४ थान हतियार मात्रै संकलन भएको प्रहरीले जनाएको छ । अहिलेसम्म सदरमुकाम तम्घाससहित क्षेत्र नम्बर–२ बाट सबैभन्दा बढी हतियार संकलन भएको छ भने सबैभन्दा कम क्षेत्र नम्बर–३ बाट भएको डीएसपी काफ्लेले बताए । ‘द्वन्द्वको समयमा निकै प्रभावित मानिएको क्षेत्र नम्बर–३ मा एकदमै न्यून मात्रामा हतियार संकलन भएको छ,’ प्रनाउ काफ्लले भने, ‘त्यस क्षेत्रलाई घरदैलोमा अझ बढी ध्यान दिइएको छ ।’ काफ्लेका अनुसार अहिले प्रहरीले घरदैलो कार्यक्रमनै सञ्चालन गरेर हतियार बुझाउन अनुरोध गर्नेछ ।

प्रहरीले यो अवधिमा आपूmसँग भएको अवैध हतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको हो । यो अवधिमा हतियार बुझाउनेलाई कारबाही नहुने प्रहरीको भनाइ छ । यस अवधिमा अवैध हतियार भए पनि कारबाही नगरिने र त्यसपछि भेटिए हातहतियार तथा खरखजना ऐनअन्तर्गत कारबाही हुने प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले बताए । ‘१८ वैशाखसम्म हतियार बुझाए अवैध भए पनि कारबाही हुन्न,’ प्रजिअ नेपालले भने, ‘नवीकरण नगरी राखिएका हतियार नवीकरण र अवैध हतियार बुझाउन सबैलाई अनुरोध गरिएको छ ।’

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग