Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका क्लवहरुद्धारा मुख्य सचिवलाई ध्यानाकर्षण

Published on 4:51:00 AM //


पि.एम.मगर
गुल्मी, जेष्ठ ११ । गुल्मी जिल्लाको सदरमुकाममा रहेका क्रियाशिल विभिन्न युवा क्लवहरुले शनिवार संयुक्त रुपमा विभिन्न मागहरु राख्दै नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेललाई ज्ञापन पत्र वुझाएका छन् ।
नेपाल औषधि व्यवसायी संघको केन्द्रीय वार्षिक साधारणसभालाई सम्वोधन गर्नका लागि गुल्मी आउनुभएका मुख्य सचिव पौडेललाई उनीहरुले सो ज्ञापन पत्र वुझाएका हुन् । उनीहरुले गुल्मी जिल्लालाई लोडसेडिङ्गमुक्त जिल्ला घोषणा गर्ने सन्दर्भमा क्षेत्रीय विद्युत प्राधिकरणका प्रमुखको उपस्थितिमा भएको सहमति र सम्झौता कार्यान्वयन नभएको भन्दै यस विषयमा ध्यान दिन विज्ञप्तीमार्फत आग्रह गरेका छन् ।
अहिले गुल्मीवासी पटकपटक विद्युत कटौतीको मारमा परिरहेकाले यस जिल्लालाई दीर्घकालीन रुपमा लोडसेडिङ्गमुक्त जिल्ला वनाउनका लागि आवश्यक प्रकृया प¥याई कालीगण्डकीवाट सिधा विद्युत लाईनको व्यवस्था गरी १ सय ३२ केवी प्रशारण लाईनको सव स्टेशन तमघास क्षेत्रभित्र राख्नका लागि व्यवस्था गरिदिन आग्रह गरेका छन् । उनीहरुले रेसुङ्गाको वृहत्तर विकास तथा जिल्लाको सदरमुकामको एकीकृत विकासका लागि गुरुयोजनाहरु वजेटको अभावमा अलपत्र वनेको वताउँदै यस क्षेत्रका विकास र विस्तार गरी पर्यटकीय जिल्लाको रुपमा रुपान्तरण गर्नतर्फ आवश्यक पहल गरिदिन समेत आग्रह गरेका छन् । त्यस्तै जिल्लामा आधुनिक कृषि प्रविधी लगायतका विभिन्न कृषी संवन्धि तालिमहरु भित्राएर कृषकहरुलाई स्वावलम्वी वनाई जिल्लाको आर्थिक तथा रोजगारीका सम्भावनाहरु वृद्धि गर्नका लागि आवश्यक पहल गर्न समेत मुख्य सचिवसँग आग्रह गरेका छन् ।
जिल्लाका सक्रिय युवा संगठनहरुले सिमिचौरमा निर्माणाधिन रेसुङ्गा एयरपोर्टको पुर्णतातर्फ ध्यान केन्द्रीत गर्न, जिल्लामा युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्न, जिल्लाको पहिलो क्याम्पस रेसुङ्गा वहुमुखी क्याम्पसलाई सरकारी क्याम्पसमा रुपान्तरणका लागि पहल गर्नतर्फ ज्ञापन पत्रमार्फत उनीहरुले मुख्य सचिवको ध्यानकृष्ट गराएका छन् । अन टेष्ट युवा क्लवका अध्यक्ष रविन्द्र गुरुङ, धागिथुम उदिनढुङ्गा युवा क्लवका अध्यक्ष उदय थापा, तमघास युवा क्लवका अध्यक्ष कृष्ण पौडेल, फोटिन स्टार युवा क्लवका अध्यक्ष सुदर्शन खनाल, संयुक्त युवा क्लवका अध्यक्ष कृष्णप्रसाद पाण्डे, रेसुङ्गा युवा मन्चका अध्यक्ष छविलाल पाण्डेय, एकता युवा क्लवका अध्यक्ष रमेश श्रेष्ठ र रेसुङ्गा युवा क्लवका अध्यक्ष निरञ्जन थापाले संयुक्त रुपमा मुख्य सचिवसमक्ष ज्ञापन पत्र वुझाएका हुन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग