Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दार्चुला सदरमुकाममा भयानक बाढी

Published on 5:06:00 PM //

महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि दार्चुला सदरमुकाम खलंगा क्षेत्र बाढीको उच्च जोखिममा परेको छ । महाकाली नदीमा आएको बाढीले एकएक गरेर सदरमुकाम क्षेत्रका घर बगाउन थालेपछि जनजीवन त्रसित बनेको छ ।
तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले एक महिला बेपत्ता हुनुसाथै सदरमुकाम क्षेत्रमा तीन सरकारी कार्यालयसहित तीन दर्जन घर बगाएको छ ।
नदीमा आएको बाढीले सदरमुकाम खलंगासँगै जोडिएको धाप गाविस वडा नम्बर ५ की ३८ वर्षीया सरस्वती रैखेलालाई बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरिक्षक कुबेर कडायतले जानकारी दिएका छन् ।
उनले बाढीले सदरमुकामस्थित शिक्षा, स्वास्थ्य र वन कार्यालयको भवन पूर्ण रुपमा बगाएको बताए । बाढीले स्थानीय बासिन्दाका १४ वटा पक्की घर, सुकुम्बासी बस्तीका १७ घरटहरा र ४ वटा मन्दिर बगाएको छ।
बाढीले सदरमुकाम क्षेत्रमा कटान तिब्र पारेको स्थानीय सञ्चारकर्मी कमलराज जोशीले जानकारी दिएका छन् ।
उनले जिल्ला विकास समिति, नेपाल टेलिकम, जिल्ला खेलकुद विकास समितिको कार्यालय र खेल मैदान क्षेत्रमा तीव्र कटानी भैरहेको बताए ।
खलंगा गाविस वडा नम्बर २ मा रहेको एक गाउँ पुरै बाढीको उच्च जोखिममा छ । त्यहाँ रहेका २ सय ५० घर कुनै पनि बेला बाढीले बगाउन सक्ने खतरा रहेको सञ्चारकर्मी जोशीले बताए ।
‘अन्य थुप्रै घर र सरकारी कार्यालय समेत बाढीको उच्च जोखिममा छन्,’ उनले भने । उनले अविरल वर्षासँगै पानीको बहाव बढ्दै गएकाले थप क्षति हुने सम्भावना रहेको बताए ।
त्यसैगरी ब्रम्हदेव गाविसको कालागाड जलविद्युत परियोजनाको पावर हाउस पनि बाढीले बगाएको छ । नदीपारि रहेको भारतीय क्षेत्र धार्चुलामा पनि महाकाली नदीले तिब्र कटानी थालेको छ । त्यहाँ समेत दर्जन भन्दा बढि घर बगेका छन् भने केही व्यक्ति बेपत्ता भएको अपुष्ट खबर प्राप्त भएको छ ।
महाकाली नदीमा रहेको झोलुङ्गे पुल समेत बगाउने खतरा बढेपछि नेपाल भारतको आवागमन समेत बन्द गरिएको प्रहरीले बताएको छ । सुदूरपश्चिमका सबै जिल्लामा अविरल वर्षा जारी छ । विभिन्न जिल्लामा घरखेत बगाएको र डुबानमा परेको खबर प्राप्त भएपनि पुष्टी हुन सकेको छैन । कञ्चनपुरको भिमदत्त नगरपालिका भुजेला क्षेत्रमा महाकाली नदीले कटानी तीव्र पारेको छ ।



Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग