Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘प्रकाश’ भन्ने नाम पाए साथीहरुबाट उनले

Published on 5:58:00 PM //

पि.एम.मगर
गुल्मी – दुबै आँखाको ज्योति गुमाउन पुगेका प्रकाश यतिबेला गुल्मीको रिमुवा स्थित एक विद्यालयमा ब्रेल लिपीमा नेपाली वर्णमालाका सुरुका अक्षर क, ख सिक्दैछन् । आफ्नो आँखाले बाहिरी संसार देख्ने बेलासम्म त पढ्नको लागि उनलाई बातावरण नै बनेन । सास धान्नकै लागि राजधानीका गल्ली गल्लीमा भौँतारिनु प¥यो प्रकाशलाई ।
घर कहाँ हो, आफु कति वर्षको भएँ भन्ने पनि केही थाहा छैन उनलाई । यति मात्र होईन बाबु आमा को हुन्, त्यो पनि थाहा छैन । यो जत्तिको बिडम्बना त अरु के नै हुन सक्छ र प्रकाशलाई । प्रकाश भन्ने नाम त उनले अरुबाट पाएका हुन् । सबैले प्रकाश भनेर बोलाउन थालेपछि उनको प्रकाश नामाकरण भएको हो । प्रकाशले सानै उमेरमा धेरै दुःख, पिडा र चुनौतिहरु झेल्नुप¥यो जिवन जिउनकै लागि । राजधानीका सडकहरुमा भौँतारिरहेका प्रकाशलाई एउटा होटलको साहुले काम गर्न भनि लगेका थिए । चौबिसै घण्टा भाँडा मांझ्दा पनि तलब त के राम्रोसँग खान पनि पाएनन् । मागेर नपाएपछि चोरेर लुकी लुकी खानुपर्ने बाध्यता थियो उनलाई । प्रकाश भन्छन् “एक दिन चोरेर खाना खाएको देखेपछि साहुले कुटेर सिमेण्टको भुँईमा पछार्दा मेरो टाउकोमा ठुलो चोट लागेको थियो ।” त्यस होटलमा धेरै दुःख पाएपछि त्यहाँबाट बाहिर निस्कन खोजिरहेका प्रकाश हुँगा गाबिसका एक व्याक्तिसँग गुल्मी भित्रिएका थिए ।
काम गराईको सिलसिलामा उनले धेरै दुःख र पिडाहरु खेप्नुप¥यो । केही नपाएपछि आफ्नो शरिरले सुख पाउँछ कि भन्दै आँपचौरमा पनि ४÷५ बर्षसम्म अरुको घरमा काम गरेको उनले दुखेसो पोखे । “मासिक १५ सय रुपैयाँ दिने सर्तमा एउटा घरमा काम गरेँ” प्रकाशले भने “१५ महिना बित्दासम्म पनि १ रुपैयाँ पाईनँ, त्यसपछि मैले त्यो घर पनि छाडेँ ।” त्यही पिडामा भौँतारिरहेका प्रकाशसँग गुल्मी हुँगाकी गिता भण्डारीको भेट भयो । प्रकाशको जिवनको भोगाईबारे सबै कुरा थाहा पाएपछि गितालाई दया जागेर आयो र उनलाई आफ्नो घरमा ल्याईन । उनले त्यहाँ धेरै सुखको अनुभूति गर्न पाए । “गिता दिदीको घरमा आएपछि त धेरै खुशी छु” हँसिलो मुद्रामा प्रकाशले भने “भगवानले कहिलेकाँही त हामी जस्तालाई पनि हेर्दा रैछन्, मेरो सहयोगको लागि गिता दिदी जस्तो ठुलो मान्छेलाई पठाईदिएका छन् ।” प्रकाश खुशी नहुन् पनि कसरी, भण्डारीले उनलाई आफ्नै छोरा जस्तो बनाएर राखेकी थिईन ।
कसलाई पो थाहा हुन्छ र जीवनमा भोली के हुन्छ भनेर । कहिलेकाँही त नियति पनि निक्कै कठोर बन्दोरैछ । सानो छँदा नै एउटा आँखाको ज्योति गुमाईसकेका प्रकाशले भण्डारीको घरमा बस्न लागेको दुई वर्ष पनि नबित्दै अर्को आँखाले पनि देख्न छाडे । प्रकाशको त्यो गुमेको आँखाको ज्योति ल्याउन सकिन्छ कि भनि गिता भण्डारीले उनलाई बिभिन्न ठाउँहरुमा उपचारका लागि लगिन तर सबै प्रयास व्यर्थ बन्यो । भण्डारीले भनिन “प्रकाशको आँखा उपचारका लागि तमघास भैरहवा, काठमाण्डौसम्मका अस्पताल पु¥याउँदा पनि उनको गुमेको ज्योति फर्काउन सकिएन ।” आँखाले देख्न सके त मान्छेले परिश्रम गरेर पनि खान सक्छ भन्ने लागेर प्रकाशको उपचारमा लागिन भण्डारी । जति गर्दा पनि उनको आँखाको ज्योति फर्काउन नसकिने डक्टरहरुले बताएपछि अहिले भण्डारीले प्रकाशलाई पढ्नका लागि रिमुवाको एक विद्यालयमा भर्ना गरिदिएकी छिन् । “आँखाले नदेखे पनि पढेर आफ्नो जिवनलाई चिनेर केही गर्न सक्छ कि भन्ने आशा हो” भण्डारीले भनिन ।
प्रकाशले रिमुवाको जनज्योति उच्च माध्यमिक विद्यालयमा बे्रेल लिपीको माध्यमबाट नेपाली बर्णमालाका सुरुका अक्षर क, ख सिक्दैछन् । अहिले अध्ययनको सुरुवातसँगै उनले आफ्नो नाम र जिवनको परिभाषा खोज्न थालेका छन् । विगतका दिनहरु जसरी बिते पनि अब त उनले आफ्नो जिवनको विषयमा पनि सोँच्न थालेका छन् । प्रकाश विद्यालय बिदाको समयमा दिदी गितालाई भेट्न भन्दै बेला बेलामा हुँगा जाने गर्दछन् । प्रकाशलाई यतिबेला सबैको सहयोग, सदभाव र मायाँको खाँचो छ । उनको पिडा बुझेर सहयोग गर्न सकिए उनको जिवनको लक्ष्यले सार्थकता पाउनेछ होला । जसरी गिता भण्डारीले प्रकाशको मर्मलाई बुझेर अमुल्य गुण लगाएकी छिन् त्यस्तै खालको गुण अरुबाट पनि उनलाई आज पनि उत्तिकै खाँचो छ । तिनै गुणले उनको जिवनको नमेटिने घाउहरुलाई मेट्न सक्छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग