Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टर्किस एयरलाइन्सको काठमाडौं-इस्तानबुल उडानले जोड्यो नेपाललाई सिधै युरोपसँग

Published on 3:30:00 AM //

काठमाडौ, भाद्र १८ - टर्किस एयरलाइन्स सीधा काठमाडौं-इस्तनबुल उडान सुरु गरेको छ । टर्किसको उडाले नेपाल ६ वर्षपछि सीधा युरोपसँग जोडिएको छ । यसअघि राष्ट्रिय ध्वजावाहक वायुसेवा सेवासहित एरोफ्लोट, मार्टिन एयर, लुपथान्सा र अस्टि्रयन एयरको उडान बन्द भएपछि युरोपसँगको सम्पर्क टुटेको थियो । त्यसपछि युरोपेली गन्तव्य पुग्न मध्यपूर्व र भारतबाट जहाज फेर्नुपर्ने बाध्यता थियो । लुपथान्साले ८ वर्षअघि र अस्टि्रयन एयरले ६ वर्षअघि नेपालको उडान बन्द गरेका थिए । सन् २००६ मा अस्टि्रयनले लागत घटाउने नीति लिएर लामो दूरीका सिड्नी हुँदै क्वालालम्पुर, मेलवर्नबाट सिंगापुर, काठमाडौं र संघाई उडान रद्द गरेको थियो ।
'त्यसयता चार्टर गरेर केही उडान हुन्थे,' ट्राभल ट्रेडका अर्जुन शर्माले भने, 'नियमित तालिकामा कमर्सियल उडान भने ६ वर्षपछि भएको हो ।' उनका अनुसार टर्किस पुरानो विमान कम्पनी भएकाले यसको सेवालाई विश्वास गर्न सकिन्छ । त्यसमा पनि २०१३ मा स्काई ट्रयाक्स वल्र्ड एयरलाइन्स अवार्डमा युरोपको उत्कृष्ट विमान ठहरिएको छ । 'यसको हबहरू धेरै छन्, पहुँचको हिसाबले नेपालबाट युरोप लैजाने अन्य विमान कम्पनीभन्दा धेरै गन्तव्यमा उड्छ,' उनले भने ।

टर्किसका लागि नेपाल २९ औं सुदूरपूर्वी गन्तव्य हो । यसले प्रत्येक मंगलबार, बिहीबार, शुक्रबार र आइतबार इस्तानबुलबाट काठमाडौं अवतरण गर्ने छ । आएको भोलिपल्ट इस्तानबुलका लागि उडान गर्ने छ । प्रारम्भिक चरणका लागि उसले दुईतर्फी यात्रा न्यूनतम भाडा तर करसहित ४ सय ६ युरो (५८ हजार ४ सय ६४ रुपैयाँ) तोकेको छ । त्यस्तै अबको ६ महिनाका लागि नयाँ गन्तव्यमा 'माइल्स एन्ड स्माइल्स' योजना ल्याएको छ । यसमार्फत योजनामा भाग लिनेले २५ प्रतिशतसम्मको रिडेम्पसन पाउने छन् । सन् १९३३ देखि उडान सुरु गरेको स्टार एयरलाइन्स सदस्य टर्किससँग अहिले यात्रु तथा कार्गो गरी २ सय ३३ जहाज छन् । यसद्वारा विमान कम्पनीले विश्वका २ सय ३७ सहरमा उडान गरिरहेको छ । 'हाम्रो उडानले दुई देशबीच सांस्कृतिक, आर्थिक र पर्यटकीय क्षेत्रमा सहयोग पुग्ने अपेक्षा छ,' विमान कम्पनीका बिक्री तथा प्रवर्द्धनका उपाध्यक्ष सेज्गिन सगलमले भने । पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालका अनुसार युरोपसँग सीधा नेपाल जोडिनुले नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने छ । -ईकान्तिपुर डट कमबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग