Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुद्रावती क्याम्पस वामीटक्सारका ११ जना आंशिक प्राध्यापकहरुद्धारा सामुहिक राजिनामा

Published on 4:16:00 PM //

कमल पौडेल
२९, भदौ, वामी । गुल्मी जिल्लाकै शैक्षिक केन्द्रको रुपमा परिचित वामीटक्सारमा रहेको रुद्रावती वहुमुखि क्याम्पसका आंशिक प्राध्यापकहरुले शुक्रवार सामुहिक राजिनामा दिएका छन् । क्याम्पस व्यावस्थापन समितिको शुक्रवार नै वसेको वैठकले आंशिक प्राध्यापकहरुको लागि दैनिक ज्यालादारीमा कार्य गराउने निर्णय गरेको भन्दै प्राध्यापकहरुले सामुहिक राजिनामा दिएका हुन् ।

स्थापनाको समय देखि नै निरन्तर अध्यापन गर्दै आएका प्राध्यापकहरुले तलव वृद्धिको माग गरिरहेको वेला दैनिक ज्यालादारिमा प्राध्यापन गराउने निणर्यले प्राध्यापकहरुलाई अपमान गरेको प्राध्यापकहरुको वुझाई रहेको छ ।

सामुहिक राजिनामा पत्रमा हस्ताक्षर गरेका आंशिक प्राध्यापक लिलाधर घिमिरेले भन्नुभयो, “क्याम्पसको स्थापना २०६३ मा कायम गरिएको तलवमान मै हामिहरुले अध्यापन गराईरहेका थियौं र अहिले मात्रै तलव वृद्धिको माग गर्दा व्यावस्थापन समितिले जुन निर्णय गर्यो यो निर्णयले हामिलाई अपमान गरेको छ ।”

त्यस्तै विगत ७ महिना देखि तलव वृद्धिको माग राखेपनि कुनै सुनुवाई नभएको र आज लज्जास्पद निर्णय सुनिएको आंशिक प्राध्यापक महेश्वर घिमिरेले जानकारी दिनुभएको छ ।

उता व्यावस्थापन समितिको वैठकमै वसेका रुद्रावति वहुमुखि क्याम्पस प्राध्यापक संघका अध्यक्ष डिल्लिराज खरेलले प्रध्यापकहरुलाई नै अपमान गर्ने गरि निर्णय भएको र निर्णय प्रक्रिया समेत निरंकुश भएको आरोप लगाउनु भएको छ । उहाँले आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन जारी रहने वताउनु भएको छ ।

तर क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण हरि सापकोटा भने क्याम्पस निजि स्तरमा चन्दाको भरमा चलेकोले पूर्णकालिन प्राध्यापकहरुलाई जस्तो सेवा सुविधा दिन नसकिने भनेको वताउनु भएको छ । उहाँले सञ्चालक समितिको वैठकले आंशिक प्रध्यापकहरुको लागी दैनिक प्रति पिरियडको लागी ३ सय दिने निर्णय गरेको जानकारी दिनुभएको छ । सापकोटाले भन्नुभयो – “दैनिक पिरियडको ३ सय दिँदा महिनामा २० दिन मात्रै अध्यापन गराउँदा पनि ६ हजार हुन्छ, अनि निर्णयले अपमान गर्यो भन्नु उहाँहरुको गलत सोँचाई हो, गुल्मी जिल्लाका अन्य क्याम्पसहरुमा दैनिक प्रतिपिरियड २ सय दिएका छन् हामि ३ सय दिँदा हुँदैन भने विकल्प खोज्न तयार छौं ।” प्राध्यापकहरुले दिएको राजिनामाको प्रसङमा सापकोटाले राजिनामा आफ्नो हातमा परेको र धम्कीको भरमा पठन पाठन हुन नसक्ने भएकोले आफुले त्यसलाई स्वीकृत गर्ने गुल्मीन्युज डट कमलाई वताउनुभएको छ ।

उता काठमाडौंवाटै क्याम्पसको काम गर्दै आउनुभएका क्याम्पस प्रमुख हिरामणि अर्यालले क्याम्पस व्यावस्थापन र प्राध्यापकहरुको विचमा भएको असमझ्दारीले आफु लगाएत क्याम्पस प्रति लगानी गरेका सवैलाई दुखित तुल्लाएको टिप्पणी गर्नुभएको छ ।

क्याम्पसमा व्यावस्थापन र प्राध्यापकहरुविच जुहारी चल्न थाले पछि अवको पढाई के हुने हो भन्दै विद्यार्थीहरु भने चिन्तीत वनेका छन् । २०६३ सालमा स्थापना भएको रुद्रावति वहुमुखि क्याम्पसमा अहिले २ जना पूर्णकालिन तथा ११ जना आंशिक प्राध्यापक, ३ जना कर्मचारीहरु रहेको तथा वाणिज्य र शिक्षा शास्त्र शंकायमा स्नातक तहमा १२४ जना विद्यार्थीले अध्ययन गर्दै आएको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग