Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घर पुरिएपछि बिस्थापित

Published on 11:26:00 AM //

पि.एम.मगर
गुल्मी, १७ भदौ । घरमाथिबाट आएको पहिरोले घर पुरिएपछि गुल्मी अमरअर्बाथोकका एक घरपरिवार बिस्थापित भएका छन् भने अर्को एक घर उच्च जोखिममा परेको छ । पहिरोले अमरअर्बाथोक गाविस वडा नं. ४ निबासी प्रेमबहादुर मिदुनको ४ जनाको परिवार बिस्थापित भएको हो । सोही वडाका गुनबहादुर मिदुनको घर पनि जोखिममा परेको छ । स्थानीय न्यू अमर युवा क्लव, नागरिक सुरक्षा समिति, मानवअधिकारकर्मी र सुरक्षाकर्मीद्धारा पहिरोसँगै आएको रुखहरु हटाईएको र अहिले बिस्थापित परिवारलाई सहयोग जुटाउने कार्य भईरहेको छ । पहिरोले ३ लाख भन्दा बढीको क्षति पु¥याएको स्थानीयले बताएका छन् ।
यस्तै अविरल वर्षाका कारण गएको पहिरोले छापहिले माध्यमिक विद्यालयको ८ कोठे भवन पुर्णरुपमा क्षतिग्रस्त बनाएको छ । गुल्मी अर्घाखाँची ग्रामिण विकास परियोजनाद्धारा २०५४ सालमा करिव ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको विद्यालयको सो भवन तलदेखि गएको पहिरोले पुर्णरुपमा क्षति पु¥याएको हो । भवन नै भत्किएपछि विद्यार्थीहरु खुल्ला मैदानमा बसेर पढ्न बाध्य भएका छन् । सोही भवनमा छापहिले गाविसको गाविस कार्यालय र नेपाल रेड्क्रस सोसाईटी छापहिले शाखाको कार्यालय समेत रहेको थियो । भवन भत्किएपछि गाविस र रेडक्रसका महत्वपुर्ण कागज पत्रहरु नष्ट भएका छन भने कक्षा कोठाका करिव ७० सेट डेस्क बेञ्च पनि नष्ट भएका छन् । “भवन नै भत्किएपछि अध्ययन अध्यापन कार्यलाई व्यवस्थापन गर्ने काम अहिले चुनौतिपुर्ण बनेको छ” प्रधानाध्यापक श्यामलाल गिरीले भने । प्रधानाध्यापक गिरीले भवनको पुनर्निर्माणका लागि सहयोग गरिदिन समेत संबन्धित निकायलाई आग्रह गरे । भवन भत्किएपछि कक्षा १ देखि ५ सम्मका करिव २ सय ५० बालबालिका प्रभावित बनेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग