Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कोही नजाउ बिदेशको खाडीमा बरीलै............

Published on 11:34:00 AM //

पि.एम.मगर
गुल्मी, १७ भदौ । ​“महिला पुरुष कोही नजाउ, विदेशको खाडीमा
​मेहनत गरे सुनै फल्छ, हाम्रो बारीमा ।”
 
​यो तीज गीतको एउटा टुक्का मात्र हो । यस्तै शब्द र गीतको माध्यमद्धारा पैसाको लोभमा विदेश नजान आफ्ना दाजुभाई दिदी बहिनीलाई आग्रह गर्दै थिए गुल्मी नेटाका दिदी बहिनीहरुले । उनीहरु भन्दै थिए “नजाउ विदेश युवा हो दलालीले फसाउला, यही मेहनत गरेर पैसा कमाउँला ।” मगर पहिरनमा चिटिक्क सजिएका ती दिदी बहिनीहरुले गीतका शब्दहरु र मादल र डम्फुको तालमा गाउँदै नाँच्दै यही भूमिमै परिश्रमी बन्नुपर्ने बताईरहेका थिए ।
​त्यसो त अन्य क्षेत्रका समुहगत दिदी बहिनीहरु जहाँ १३ समुहको सहभागिता रहेको थियो, सबैले यस्तै भन्दै थिए । यो संयोग मिलाएको थियो जिल्ला कृषि विकास कार्यालयले सदरमुकाम तमघासमा । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तिज गीत प्रतियोगितामा उनीहरुले कृषि पेशालाई जोड् दिँदै व्यवसायिक रुपमा कृषि पेशामा संलग्न भए जीवन स्तर सजिलैसँग माथि उठ्न सक्ने सन्देश दिएका थिए । हुन पनि स्वदेशमा रोजगारीको अवसर कहीँ कतै छैन भन्दै युवा शक्ति विदेशिने क्रम बढ्दो छ । राज्यले पनि यसलाई रोक्न सकिरहेको छैन । हामीले सुन फल्ने हाम्रो माटोलाई चिन्न सकेनौँ या राज्यले चिनाउन सकेन, र त हामी विदेश भन्दै हाम फालिरहेका छौँ । युवाहरु विदेशिने क्रम यहि अनुपातमा रहिरहे ग्रामिण क्षेत्रहरुमा भोली बुढाबुढी भएका अशक्त आमा बुवाको निन्याउरो अनुहार बाहेक अरु केही देख्न पाउँने छैनौँ । सुन फल्ने, अरबौँको आम्दानी दिने ती हाम्रा खेतबारीहरु त्यसै बाँझै हुनेछन् हामीले माटोलाई चिन्न नसक्दा । विदेशको दुःख हामीले देख्दैनौँ । स्वदेशमा सानो काम गर्न पनि अल्छी र लाज लाग्छ हामीलाई, र त हामी धेरै पछि छौँ । हामीमा ज्ञानको कमी छ, तालिमको कमी छ, परिश्रम र लगनशीलताको कमी छ । हामीलाई सुख सयल चाहिएको छ, शहर बजारमा बस्न मन छ जहाँ केही दुःख गर्न नपरोस् । त्यसैले त होला आर्थिकले नभेटे पनि सहर बजारतिर धाउनेहरुको लर्को पनि उत्तिकै छ कुनै न कुनै बाहानामा । हाम्रो परिवेशमा हुने खोनहरु भन्दा हुँदा खानेहरुको संख्या अधिकतम छ । हुँदा खानेहरु कहिले हो त हुने खाने स्तरमा पुग्ने ? युवा शक्ति पैसा भन्दै विदेश पलायन भैरहने, केही मात्रामा रहेका पनि सहर बजार भन्दै धाउन थाल्ने, सुन फल्ने आफ्नै नामको खेतबारी बाँझो राख्न थालेपछि हामी हुने खाने बन्न सकिएला त ?
हम्रो देश भनेको कृषि प्रधान देश हो । यहाँका ९० प्रतिशत जति जनता कृषिमा आधारित छन् । कृषि नै यहाँको मुख्य पेशा हो । कृषिमा पनि परम्परागत पाराले परिवर्तन हुनेवाला केही छैन । तसर्थ अहिलेको आबश्यकता हो वैज्ञानिक तथा व्यवसायिक कृषि प्रणालीको । यसतर्फ सरकारले पनि विशेष ध्यान दिनुपर्दछ । किसानलाई आवश्यक तालिम, प्राविधीक ज्ञान तथा सहयोग प्रदान गर्नु पर्दछ तब मात्र कृषिमा सुधार आउँछ । हामीलाई थाहा छैन बिकासे मल, विषादी इत्यादि औषधिले हाम्रो स्वास्थ्य र वातावरणलाई नै कति असर गरिरहेको छ भन्ने कुरा । हामीलाई ज्ञान छैन गाई भैँसीको मुत्रबाट कृषिलाई कति फाईदा गर्छ भन्ने कुरा । यस संबन्धि ज्ञान फैलाउनु, चेतनाको विकास गर्नु, आर्थिक बृद्धिको अवधारणाको विकास तथा कार्यान्वयन गर्नु आजको आवश्यता हो । कुरा मात्र होईन आजैदेखि काम गर्न थालौँ । तीज गीतमा दिदी बहिनीहरुले भनेका थिए– “मानो छरी मुरी फल्ने हाम्रो खेतबारीमा, किन जानु पर्छ र अरब खाडीमा, राम्रो मलजल गरेर नर्सरी जमाऔँ है, बेमौसमी कृषि गरी पैसा कमाऔँ है, कम्पोष्ट मल बन्दछ झारपात गलाई , गाई भैँसीको पिसाब राम्रो खेतीपातीलाई, वरिपरी फलफुल लगाऔँ पाल्ने गरौँ मौरी नि, औषधिमा प्रयोग हुन्छ घरको मह नि ।।”
आफ्नो परिश्रम त छँदैछ, त्यसमा पनि स्थानीय उत्पादनलाई बजारको व्यवस्था गर्नु सरकारको अर्को दायित्व हो । उनीहरु गीतमार्फत भन्दै थिए “किसानको मर्कालाई बुझिदेउ न सरकार, गाउँगाउँमा खोलिदेउ न हाट बजार ।” हो परिश्रमी हातहरुलाई उत्प्रेरणाको खाँचो छ । भने जस्तै सुबिधा सरकारले प्रदान गर्छ र आम्दानी पनि बढ्छ भने त युवाहरु विदेश किन जानुपर्छ र ? काम आजैदेखि गरौँ, भोली कहिल्यै नभनौँ, भोलीबादले छोयो भने व्याक्ति कहिल्यै सफल हुन सक्दैन । यस्तै सन्देशहरु पोखिएका थिए प्रतियोगितामा । प्रतियोगितामा परिश्रमी कृषि सहकारी संघ लिमिटेड नेटा ४ को समुह प्रथम भएको थियो । रेसुङ्गा बहुउद्धेष्यीय कृषक समुह अर्खले ८ र ९ द्धितीय, मालिका कृषि सहकारी संस्था लिमिटेड सिमिचौर तृतीय, जनमुखी कृषि सहकारी संघ लिमिटेड अर्खले ५ को समुह सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरेका छन् । प्रथम हुने परिश्रमी कृषि सहकारी संघ लिमिटेड नेटा–४ को समुह यही भदौ १९ गते पोखरामा हुने क्षत्रीय स्तरको कृषि तिज गीत प्रतियोगितामा सहभागी हुनेछ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग