Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मन्दिरमा धुपधजा चढाउने दलित जिवन रक्षाका लागि सदरमुकाम

Published on 4:33:00 PM //

प्रेम सुनार
गुल्मी, १५ मंसिर । केहि दिन अघि मन्दिरमा दलितहरुले धुप–धजा चढाएको विषयमा आक्रमण भएको भन्दै गुल्मीको दरबारदेविस्थानका एक दलित अगुवा सुरक्षाको माग गर्दै सदरमुकाम तम्घास आएका छन् । आज शनिबार विहान साढे पाँच वजेको समयमा अज्ञात दुई युवाले आफूमाथी आक्रमण गरी मोवाईल लुटेर लगेको भन्दै दरवारदेविस्थान ९ का दलित अगुवा गोकर्ण नेपाली सुरक्षाको माग गर्दै तम्घास आएका हुन् ।
गत आईतबार गाउँमा रहेको मालिका मन्दिरमा दलितहरुले धुपधजा चढाएपछि गैर दलितहरुले त्यहाँका दलितहरुलाई ज्यानमार्ने धम्की दिएको र आज विहान आक्रमण नै भएपछि आफू जीवन रक्षाको लागि भागेर सदरमुकाम आएको नेपालीले बताए । ‘विहानै साढे पाँच वजेतिर गोठमा भैँसीलाई पानी तताउन गएको बेला मुख छोपेका दुई जनाले झ्याप्पै समात्न आए’, नेपालीले भने, ‘मैले गुहार मागेपछि मोवाईल खोसेर लगे, म पनि भागेँ ।’ मोवाईल खोसेपछि उनिहरुले ‘अब देखि बढि होईन बुझीस्’ भनेर औंला ठडाउँदै हिँडेको नेपालीले बताए ।
नेपालीले गएको सोमबार दलित र गैरदलितविच छलफल हुँदा गैरदलितहरुले ज्यानमार्ने धम्की समेत दिएको रेकर्ड आफूले मोवाईलमा गरेर पत्रकारलाई भनेकोले आफ्नो मोवाईल खोसेर लगेको गोकर्णले बताए । उनले दरवार देविस्थान गाविसका अगुवा समाजसेवी अशोक थापा लगायतले चुनावको समयमा केही नभनेको र चुनाव सकिने वित्तीकै धम्की दिएको बताए । ‘गाविसकै ठूला समाजसेवजी अशोक थापाले समेत धम्की दिएका थिए’, नेपालीले भने ‘मलाई त आक्रमण नै भयो, धम्की दिए पछि सबै दलित डराएका छन् ।’ थापाले भने अहिलेसम्म मिलेर पुजा गरेको मन्दिरमा दलितहरुले हिँसा भड्काउन खोजेको बताउँदै आएका छन् । ‘के ति दलितहरुले मात्रै चाहेर हुन्छ ? वाहुन क्षेत्री सवैको सहमति चाहिदैन ?’ थापाले भने, ‘ईच्छा नलागे वाहुनले पकाएको खिर खान्न भने पनि पाईन्छ जवरजस्ती गर्न पाईदैन ।’
गतवर्ष सबै मिलेर गाउँमा बनाएको मालिका मन्दिरमा धुपधजा चढाउँदा स्थानिय समाजसेवीहरुले नै ज्यानमार्ने धम्की दिएको दलित समुदायका अगुवा गोकंण नेपालीले बताए । ‘चुनाव अघि दलितका लागि हाम्रो पार्टिले समानता र अधिकार दिन्छ भन्दै घर घरमा आएर भोट मागे – उनले भने – अँस्ती आईतवार मन्दिरमा धुप ध्वजा चढाउन लागेको बेला भने ज्यान मार्ने सम्मको धम्की दिए ।’
मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष डिल्लीराज आर्चायले परम्परा र धर्म सांस्कृति विर्गान नहुने बताए । ‘मैले मानेर भएन यहाँ ७०-८० वर्षका बृद्धहरुले मान्दैनन्, एकैचोटी गर्न सकिदैन क्रमसंगै हुने कुरा हो । ’ – उनले भने – ‘हामी मिल्न पर्छ यो कुरा बाहिर लैजानु हुँदैन ।’
सोही गाउँका स्थानिय पशुपतिदेवि नेपालीका अनुसार केहीदिन अघि गाउँमा एकजना व्यक्तिले दलितलाई आफूले खाएको गिलास आँफै नमाझेको भन्दै झापड हानेपछि दलितहरुले आन्दोलनका रुपमा मन्दिरमा धुपधजा चढाउने योजना बनाएका थिए । ‘मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष डिल्लीराज अज्र्यालको खेतमा दिनभरी काम गर्न गएका गाउँका गोविन्द नेपालीलाई मोतीकुमार श्रेष्ठको पसलमा अर्यालले रक्सी खुवाएका थिए । – उनले भनिन् उह– पसलेले खाएको गीलास माझेर जा भनेपछि गोविन्दले मानेनन् त्यसपछि श्रेष्ठले गालामा एक झापट हानेपछि दुवै जना विच कुटाकुट भएको थियो ।’ त्यस मन्दिरमा हरेक आईतवार पुजा हुने र गाउँलेहरुले ल्याएको दुधमा खिर पकाएर खाने चलन थियो । त्यस दिन दलितहरुले ल्याएको दुध पनि मिसाईएको थाह पाएपछि खिर नपकाई तनाव सुरु भएको थियो । तम्घास आएका गोकर्ण केहि वेरपछि सुरक्षाको माग गर्दै निवेदन दिने र प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभुती नदिए सम्म गाउँ फर्किन नसक्ने बताउँछन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग