Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विछोडिँदाको पीडा

Published on 1:50:00 AM //


जुनाली
करिब दुई वर्षअघिको कुरा हो । म कक्षा १० मा अध्ययनरत थिएँ । त्यो बेला पत्रमित्रता फेसनजस्तै भैसकेको थियो । मेरा साथीहरू पत्रमित्रता गरी धेरै साथी बनाउने भन्दै चिठी लेख्थे । मैले पनि जानी नजानी केही साथीलाई पत्र पठाएँ अनि केही साथीको जवाफ पनि पाएँ ।

मैले उनैलाई असल साथी बनाउने प्रस्तावस्वरूप पत्र पठाएँ । करिव एक महिनाको अन्तरालपछि मैले ती साथीको जवाफ पाएँ । त्यो दिन म धेरै खुसी थिएँ । उनको घर बुटवल रहेछ ।

समय बित्दै गयो । त्यतिबेला म इन्टर पहिलो वर्षमा अध्ययनरत थिएँ । जीवन जिउने आधार नै पढाइ थियो । म आफ्नै खुट्टामा उभिन चाहन्थें ।

मलाई देखेर धेरै केटाहरू मोहित हुन्थे । धेरैले मसँग प्रेमप्रस्ताव राखे तर मैले कसैको प्रस्ताव स्वीकार गरिनँ । त्यसै क्रममा पत्रमित्रको प्रेमप्रस्तावरूपी एसएमएसहरू आउन थाल्यो । करिब एक महिना जति दिनहुँजसो कहिले एसएमएस, कहिले कुराकानी हुन्थ्यो ।

एकदिन उनले छुट्टीमा घर आउँदा मलाई भेट्ने कुरा गरे । त्यसपछि हाम्रो भेट पनि भयो ।

आफ्नो पहिलो भेटमा एक-अर्काको मनको भावना, दुःख-सुख साटासाट गर्‍यौं र घरतर्फ लाग्यौं । त्यसको केही दिनपछि उनी जागिरको सिलसिलामा इलाम गए । पहिले जस्तै फोनमार्फत् कुराकानी भै नै रहन्थ्यो । त्यसै क्रममा एक्कासि उसले फोन गर्न छाडे । तैपनि उनीप्रति समर्पित भएकाले म कल गर्थें । राम्रै कुराकानी पनि हुन्थ्यो । मलाई पूर्ण विश्वास थियो कि उनले मलाई साँचो माया गर्छन् तर कुरा उल्टो रहेछ । त्यसै क्रममा उनले फोन गर्दा उठाउनै छोडे । एमएमएस गर्दा जवाफ दिन पनि छाडे ।

करिब १०-१५ दिनपछि एकपटक फोनमा भेट भयो । त्यतिबेला उनले कार्यव्यस्तताका कारण फोन गर्न पाइनँ, नरिसाउनँ, तिमी मेरै हौ, तिमीबिना मेरो जिन्दगी अधुरो हुन्छ । प्लिज मलाई कहिल्यै नभुल्नँ भने । मलाई के थाहा यो सबै झूट हो तर पनि मैले कल गर्ने प्रयास कैयौंपटक गरेें, तर रिसिभ भएन, एसएमएस गरें जवाफ आएन । अचानक एक दिन फोन उनैले उठाए, तर मेरो आवाज सुन्नासाथ अर्कै साथीलाई बोल्न लगाए, मैले ती साथीसँग कुरा गरें । साथीले उनी त्यहाँ नभएको र पहिले नै उनी काठमाडौं गएको कुरा गरे तर त्यो सबै झूट थियो । मलाई विश्वास थियो कि पहिले बोल्ने उनी नै हुन् । मेरो बारम्बार आग्रहपछि उनलाई फोन दिए । एक्कासि तपाईं को हो ? तपाईंलाई म चिन्दिनँ भनेर फोन राखिदिए । त्यस्तै कैयौंपटक मोबाइल उठाएर केही नबोली फोन होल्डमा राखिदिन्थे । मचाहिँ उनकै आवाजको प्रतीक्षामा हुन्थें तर निष्ठुरीको मन ढुंगाभन्दा कठोर हुँदो रहेछ । किन तिम्रो मन यति कठोर ? किन बिनाकारण मदेखि टाढा हुन्छौ ? सक्छौ भने विछोडिनुपर्ने कारण वा मेरो कुनै गल्ती भए बताइदिन आग्रह गर्छु ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग