Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देउताको मकै -२

Published on 9:10:00 PM //

पच्चिस वर्षपछि जोन र बुला निक्कै फेरिइसकेका थिए । उनीहरू सरासर हाई स्कुल कहाँ छ भन्दै सोद्धै स्कुलको आफिसमा पुगे । उनीहरू आफैले आफ्नो परिचय दिए पछि मात्रै पुराना शिक्षकहरू र बजारका बूढापाकाहरूले उनीहरूलाई चिने । त्यस बेला उनीहरूलाई चिन्ने मानिस रिडीमा कमै थिए ।
त्यति बेला रिडी हाई स्कुलको वाषिर्क उत्सवको तयारी हुँदै थियो । उनीहरू वाषिर्कोत्सवको अवसर पारेर आएका रहेछन् । वाषिर्क उत्सवको अवसरमा उनीहरूले स्कुललाई कहिल्यै बिर्सन नसकिने अपत्यारिलो उपहार दिए । उनीहरूले हाई स्कुलको नयाँ भवन बनाउन पचास लाख रूपैयाँ चन्दा दिए भने स्कुल चलाउन र राम्रा विद्यार्थीहरूलाई पढाउनको लागि अमेरिकामा बुल फाउण्डेसन नामक कोषको स्थापना गरेको कुरा सुनाए । साथै हरेक वर्ष पाँच जना जेहन्दार विद्यार्थीहरूलाई अमेरिकामा लगेर पढाउने घोषणा गरे ।
बुल दम्पतीको उदारता देखेर रिडीबजारका बासिन्दाहरू छक्कै परे । तर अझै छक्क पार्ने कुरा त अर्कै थियो । जोन बुलले भन्यो, "तपाइँहरूले देउताको मकै फलेको घटना बिर्सिसक्नु भयो होला । तर त्यही मकैले गर्दा हाम्रो भाग्य चम्क्यो । त्यो एक घोँगा मकै हामीले हाम्रो देशमा लगेर अनुसन्धान गर्यौँ । त्यहाँ लगेर पनि त्यस्तै भयो । हरेक पातसँग एक घोँगा मकै फल्यो । हामीले त्यो मकैको बिऊ उत्पादन गर्ने अधिकार हाम्रो नाममा दर्ता गरायौँ र त्यसको बिऊ उत्पादन गरेर बेच्न थाल्यौँ । किसानहरूले हाम्रो मकैको बिऊ निक्कै रुचाए । हाम्रो मकै बिऊ कम्पनी खुबै चल्यो । फलस्वरूप हामी यत्रो सम्पत्ती कमाउन सफल भयौँ । यदि हामी यहाँ नआएको भए हामी अहिले सामान्य किसान नै हुने थियौँ । म यो ठाउँ र यहाँका बासिन्दा तपाइँहरू प्रति आभारी छु । यो ऋणको बोझ हलुँगो पार्न म यहाँ आएको हुँ ।"
जोनको कुरा सुनेर सबै जनाले ताली बजाए । मार्थाले थपिन्, "त्यो दैवी मकैको कारणले हाम्रो दाम्पत्य जीवन पनि अटुट रह्यो । मकैको बिऊको पेटेन्ट अधिकार हामी दुबैको नाममा संयुक्त रूपमा भएको हुनाले हामी कहिल्यै छुट्टिएनौँ । हाम्रो छोरा टनी बुललाई तपाइँहरूको देशमा ल्याउन पाउँदा मलाई कत्ति खुशी लागेको छ । टनी पनि निक्कै खुशी छ ।" जोन र मार्थाले उनीहरूलाई मकै बेच्ने किसान परिवारलाई भेटेर उपहार दिन खोजे । तर किसानको परिवार ऋण लागेर घरखेत बेचेर मधेस झरिसकेको रहेछ । उसको बारेमा गाउँमा कसैलाई पनि थाहा रहेनछ । यो कुरा सुनेर उनीहरूलाई साह्रै दुःख लाग्यो ।
लेखक; बिनय कुमार कसजु
(नवयुग मासिक, वर्ष१४, अंक ५, २०६० चैतमा प्रकाशित ।)

Tags:

1 comment

  1. Ramro chha,tara jone ra martha ko jodi ta makai ko patent adhikar le po badheko bhan bhayo

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग