Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किताब छैन ? ..........नो टेन्सन !

Published on 5:26:00 PM //


Gulmi Darshan
अभाव र गरिबीले पढाइ छाड्न बाध्य गुल्मीका धेरै बालबालिका फेरि विद्यालय जान थालेका छन्। किताब किन्न नसकेर पढाइ नै छाड्नुपर्ने बाध्यता लगभग टरेको छ। किताबको जोहो रानीबास स्थित बुक बैंक नेपालले गरिदिन थालेपछि किताब किन्न नसकेर विद्यालय भर्ना हुन नसकेका धेरै बालबालिका अहिले विद्यालय जान थालेका छन्। जिल्लाका करिब दुई हजार दुई सय विद्यार्थीलाई अहिले बुक बैंकले किताब उपलब्ध गराइदिएको छ । स्कुले बालबालिकालाई त सहयोग पुगेको छ, कलेजसम्मका विद्यार्थीलाई पनि किताब सापटी दिन सहज गराउने उद्देश्यले बुक बैंकले अहिले गुल्मीका २७ गाविसमा आफ्ना उपशाखा विस्तार गरेको छ।  
बैंकका अध्यक्ष कृष्णप्रसाद ज्ञवाली किताब सापटी दिन प्रत्येक स्कुलमा एउटा बुक बैंक उपसमिति नै बनाइएको बताउँछन्। विद्यालय व्यवस्थापन समिति, गाविस प्रतिनिधि, विद्यालयका छात्र, छात्रा, बैंक प्रतिनिधि, दलित, महिलासमेतको सहभागितामा समिति बनेको हुन्छ। त्यस विद्यालयमा पढ्न चाहने वा पढ्दै आएका तर किताब किन्न नसक्ने विद्यार्थीले किताब चाहियो भनेर समितिमा निवेदन दिनुपर्दछ। 
समितिले विशेषतः महिला, दलित, असहाय र गरिब विद्यार्थीलाई छनोट गर्दछ। छनोट गरेका विद्यार्थीलाई १० रुपैयाँमात्र शुल्क लिई एक वर्षका लागि किताब उपलब्ध गराइन्छ। शैक्षिक सत्र सकिएपछि उनीहरूले किताब 
फिर्ता गर्नुपर्छ। 
सुरुमा दुईजना शिक्षकले ल्याएका हुन्, बुक बैंकको अवधारणा। गरिब बालबालिकालाई किताब साटासाट प्रक्रिया अपनाएर पढ्ने अवसर जुराउने उद्देश्यले गुल्मी रानीबासको जनबोध उच्चमाध्यमिक विद्यालयका दुईजना शिक्षक कृष्णप्रसाद ज्ञवाली र अस्टे्रलियन भोलेन्टियर डिर्क इम्ब्रेर तथा तीनजना विद्यार्थी मिलेर ०५८ मा बुक बैंक खोलेका थिए। सुरुमा तीनथान पुराना किताबबाट सुरु भएको बैंकमा अहिले दुई हजार दुई सयभन्दा बढी किताब छन् ।  
अस्टे्रलियन राजदूतावासले विभिन्न समयमा रु. तीन लाख आठ हजार, गुल्मी अर्घाखाँची ग्रामीण विकास परियोजनाले ३५ हजार, जिविस गुल्मीले ५० हजार, दिगाम, बम्घा, रिमुवा, बलेटक्सारलगायतका गाविसले पाँच/पाँच हजार रुपैयाँ सहयोग गरेका छन्। स्थानीय समाजसेवी र क्लबबाट पनि सहयोग रकम जुट्ने गर्दछ, जनबोध उमाविका विद्यार्थीले आफूले पढेको पुस्तक सहयोगसमेत गर्छन्। विद्यालयबाट पाएको एउटा कोठालाई 'बुक बैंक' बनाइएको छ। 'सबैतिरबाट सहयोग पाउनले नै यसलाई जिल्लाभर
विस्तार गर्न सकिएको हो।', बुक बैंकका कोषाध्यक्ष रमेश ज्ञवाली भन्छन । 
बुक बैंकलाई अहिले जिल्ला विकास समिति र समाज कल्याण परिषद्मा दर्ता गरी संस्थाकै रूप दिइएको छ। यसका नाममा रु. एक लाख १६ हजारको अक्षयकोष पनि खडा गरि थप कार्यक्रम विस्तारका लागि पर्याप्त बैंक ब्यालेन्स पनि राखिएको छ।  
 
अध्यक्ष ज्ञवाली अब सुविधासम्पन्न कार्यालय खोलेर पुस्तकालय बनाउने र धेरै मानिसमा ज्ञानको दायरा फराकिलो पार्न सघाउने सोच बनेको बताउँछन्। किताब साटासाट गर्ने कामको सुरुवात गरेर हजारौं बालबालिकालाई पढाइबाट वञ्चित हुनबाट जोगाएको र समाजलाई प्रत्यक्ष फाइदा पुग्ने उदाहरणीय काम गरेको भन्दै सबैतिरबाट बुक बैंकको प्रशंसा गर्न थालिएको छ। गुल्मीको सोही क्षेत्रबाट निर्वाचित सभासद् तथा एमाले नेता प्रदीप ज्ञवाली भन्छन्, 'सरकारले गर्न नसकेको काम गुल्मीका शिक्षाप्रेमीले गरेर देखाएका छन्।' 

Tags:

3 comments

  1. साह्रै राम्रो कदम, धन्यवाद गुल्मेली शिक्षाप्रेमिहरुलाई र गुल्मीदर्शन लाई पनि खबर हामी सम्म पुर्‍याउनुभएकोमा ।

    ReplyDelete
  2. Well! Thats good job, we are broud to be Gulmeli. Keep it up.

    ReplyDelete
  3. ramro khabar padhna paiyo, dherai dherai dhanyabaad gulmidarshan lai. yo ekdamai sarahaniya kam ho. sachchi sarkaarale garna nasakeko kam, gulmeli sikshapremi harule garera dekhaidinubhayo.

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग