Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अढाइ वर्षपछि आमा फर्किइन्

Published on 1:18:00 AM //

गगनशिला खड्का/नयाँ पत्रिका
श्रीमान्-श्रीमतीबीच झगडापछि दुई छोरा-छोरी छोडेर बेपत्ता भएकी गुल्मी गैंडाकोटकी रामकला बस्नेत अढाइ वर्षपछि घर फर्केकी छिन् । 'बाबुआमा बेपत्ता भएपछि छोराछोरीको बिचल्ली' शीर्षक समाचार नयाँ पत्रिकामा पढेपछि नवलपरासी बर्दघाटका समाजसेवी धर्मराज जिसीको पहलमा रामकला गत ७ चैतमा घर फर्केकी हुन् ।
मानसिक रूपमा अस्वस्थ भएकी रामकलालाई भारतको गोरखपुरबाट धर्मराज तथा रुन्खादह उच्चमाविका शिक्षकको सहयोगमा उपचारपछि घर फर्काइएको हो । 'नयाँ पत्रिकाको समाचार पढेपछि २७ फागुनमा धर्मराजले हाम्रो ममी गोरखपुरमा हुनुहुन्छ भन्ने जानकारी गराउनुभयो,' रामकलालकी छोरी कमलाले भनिन्, 'ममी त्यहाँ भएको थाहा पाएपछि म र मेरो स्कुलका एकजना सर त्यहाँ गयौं, फर्काएर ल्यायौं ।'०६३ सालको भदौमा आमा रामकला र ०६३ सालकै फागुनमा बाबु दधिराम बस्नेत घर छाडेर बेपत्ता भएपछि १२ वर्षीय छोरा अंकित र १५ वर्षकी छोरी कमला बेसहारा बनेका थिए ।
'आमा त भेटिइन्, तर ०६५ सालको फागुनमा दुबई जान्छु भनेर हिँडेका बाबुको अहिलेसम्म अत्तोपत्तो छैन,' छोरी कमलाले भनिन् ।'सधैं माया गर्ने मान्छेले माया दिन सकेन भने त्यही विष बन्दोरहेछ,' ३३ वषर्ीया रामकलाले भनिन्, 'श्रीमान्को एकाएक देखिएको रिस र गालीलाई सहन नसकेर घर छोड्नुपर्‍यो ।' भारतीय सेनामा कार्यरत श्रीमान् दधिरामले घरसल्लाहविना जग्गा बिक्री गरेपछि निस्किएको झगडाले उग्ररूप लिएपछि उनी ०६३ सालको भदौमा घर छाडेर बेपत्ता बनेको उनले बताइन् । 'सधैं जागिरमा रहने उहाँले घर आएको वेला जग्गा बिक्री गर्नुभएछ,' कसैसँग पनि खुलेर कुरा गर्न नचाहने रामकलाले नयाँ पत्रिकासँग भनिन्, 'किन यति सस्तोमा जग्गा बिक्री गरेको भन्ने विषयमा विवाद भयो, रिसाएर गाली गर्नुभयो, सधैं धेरै माया गर्ने मान्छेले यसरी गाली गर्दा सहन सकिनँ र घर छोडेर हिँडे ।'रिसको झोकमा घर छोडेर त हिँडिन्, तर छोराछोरीको चिन्ता र मायाममताले घर छाडेको एक महिनामै रामकलाले मानसिक सन्तुलन गुमाउन पुगिन् । केही समयपछि मानसिक रूपमा अस्वस्थ बनेकाले केही थाहा नपाएको उनले बताइन् ।
'घरबाट जाँदा २० हजार लगेकी थिएँ, त्यही पैसाले नवलपरासीको बर्दघाटमा कोठा लिएर बसेँ,' उनले भनिन्, 'त्यसपछि कहाँ गएँ, के भयो केही थाहा भएन ।' चिन्ताकै कारण आफ्नो दायाँ आँखा केही नदेख्ने भएको उनले बताइन् । भारतको गोरखपुरमा उपचार गर्ने डाक्टरले आमालाई विगतका कुरा नकोट्याउन सल्लाह दिएको छोरी कमलाले बताइन् । ममी घर फर्केपछि आफूहरूलाई गाउँले छिमेकी सबैले सहयोग गरेको १२ वर्षीय अंकितले बताए । 'ममी आएपछि सबैको माया पाएको छु, अब कहिल्यै ममीलाई दुःख दिन्न, राम्रोसँग पढ्छु,' अकिंतले भने ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग