Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खानेपानी योजनामा अनियमितता

Published on 3:03:00 AM //

घनश्याम गौतम

गुल्मी, समाज विकास मञ्च नामक गैरसरकारी संस्थाले गाउँमा कामै नगरी नक्कली प्रगति विवरण बुझाएर रकम लिएको पाइएको छ ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भएको यहाँको एक सामुदायिक खानेपानी तथा सरसफाइ आयोजनामा काम गरेको बिल भर्पाइ बनाएर भुक्तानी लिएको हो । बैंकसँग कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेका संस्थामध्ये हेटौंडामा कार्यालय रहेको उक्त मञ्चले यस जिल्लामा कार्यक्रमै सञ्चालन नगरी रकम लिएको हो । उक्त संस्थाको कार्यक्रम परेका वाग्ला, भनभने, पीपलधारा, जैसीथोक, वस्तु, धुर्कोट र रजस्थल गाविसमा पहिलो चरणको कार्यक्रम अझै सुरु गरेको छैन । सबै गाविसमा पुगेर १२ वटा तालिम सञ्चालन गरेको देखाई संस्थाले उपभोक्ताको नक्कली हस्ताक्षरसहितको कागजात पेस गरी १ लाख २० हजार रुपैयाँ भुक्तानी लिएको हो ।

त्यस्तै, कामै नगरेको कागजात पेस गरेर माग गरेको अरू रकम भने रोक्का गरिएको सामुदायिक खानपानी तथा सरसफाइ आयोजना इकाइ कार्यालयले जनाएको छ । मञ्चले १८ लाख ९६ हजारको खानेपानीसम्बन्धी काम गर्ने जिम्मेवारी विश्व बैंकबाट पाएको छ । बैंकले ११ गैरसरकारी संस्थामार्फत २०६४ चैतदेखि समूह सशक्तीकरण, खानेपानी योजना, धारा, ट्यांकी निर्माण, मुहान संरक्षण तथा व्यवस्थापन, पाइप लाइन निर्माण, शौचालय निर्माणलगायतका काम गर्दै आएको छ । यहाँ ५० योजनामा झन्डै १० करोड ४१ लाख रुपैयाँको काम हुँदैछ ।

मञ्चले स्थानीय सामाजिक जागरण तथा विकास अभियानसँग समन्वय गरी काम गर्ने गरी २०६४ चैतमा बैंकसँग सम्झौता गरेको थियो । संस्थासँग अहिलेसम्म गर्नुपर्ने सम्झौता र समन्वय केही पनि नगरी नक्कली हस्ताक्षर गरी तालिम सञ्चालन गरेको कागज तयार गरेर भुक्तानी लिएको संस्थाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । बैंकमा दुवै संस्थाले संयुक्त प्राविधिक प्रस्ताव पेस गरे पनि स्वीकृतिपछि सम्झौता गर्नुपर्नेमा अध्यक्षकै किर्ते हस्ताक्षर गरी बैंकसँग सम्झौता गरेको उनले बताए । कार्यक्रमै नगरी अनियमितता गरेको भन्दै उपाध्यक्ष भण्डारीले जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।

संस्थाले एमाले जिल्ला उपसचिव टोमलाल पाण्डेदेखि माओवादीका सचिवालय सदस्य भूपाल पोखरेलसम्मको नक्कली हस्ताक्षर जुटाएको छ । उनीहरू दुवैले संस्थाको कुनै पनि तालिममा सहभागी नभएको बताए । 'एकपटकको छलफलमा उपस्थित भएको हुँ,' पोखरेलले भने, 'मैले हस्ताक्षर गरी कुनै रकम लिएको छैन ।'

इकाइ कार्यालयका प्रमुख इन्जिनियर शिवप्रसाद पौडेलले पनि मञ्चले गलत नियतका साथ काम गरिरहेको बताए । 'गुनासा आएपछि फिल्डमै पुगेर अनुगमन गर्‍यौं,' पौडेलले भने, 'अनुगमनका क्रममा योजना चरणका सबै काम किर्ते भएको पायौं ।' सुरुमा फिल्डमै पुगेर गर्नुपर्ने सर्भेसमेत उनीहरूले तम्घासमै बसेर गरेको पाइएको छ । सबै काम किर्ते भेटिएपछि मञ्चले माग गरेको सबै भुक्तानी रोक्का गरी कारबाहीका लागि आयोजना व्यवस्थापन तथा इकाइ कार्यालयमा पठाएको पौडेलले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग