Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कारागार भत्कन थालेपछि कैदी, सुरक्षाकर्मि र कर्मचारी समस्यामा

Published on 3:42:00 PM //

२५ जनाको क्षमता रहेको कारागारमा ३४ जना कैदी

गगनशिला खड्का
पुरानो र जीर्ण अवस्थाको कारागार भवन भत्किन थालेपछि जिल्ला कारागार गुल्मीमा कर्मचारी र कैदीलाई बसोबासमा समस्या भएको छ । संरचना कमजोर भएका कारण कारागारको बाहिरी सुरक्षा पर्खाल भत्किइसकेको छ ।
कारागारको मूल गेटसँगै बाहिरी सुरक्षा पर्खाल भत्किएकाले सुरक्षा र दैनिक कामकाजमा समेत समस्या परेको कारागार-प्रमुख कृष्णप्रसाद अधिकारीले बताए ।
'बाहिरी पर्खाल जीर्ण भएकाले पश्चिमी भागमा प्लास्टर गरिरहेका थियौँ, एक्कासि मूलगेटसहित पूर्वी पर्खाल भत्कियो,' उनले भने, 'अझै भत्किने क्रम जारी रहेकाले सुरक्षा र दैनिक कामकाजमा समस्या परेको छ ।' पर्खाल भत्किएपछि कारागारका कैदीले खेलकुद र नियमित कामकाजमा समस्या भएको गुनासो गरेका छन् । कैदीलाई दैनिक जीवनयापन गर्न सहयोग पुर्‍याएको मुढा र पछ्यौरा बुन्ने उद्योग पनि बन्द छ । कोठाबाट बाहिर निस्कन नपाएपछि उद्योग बन्द भएको हो ।

'उद्योगमा काम नभएपछि हामीलाई त असहज भयो नै, यसैबाट आश्रति घरपरिवारलाई झन् समस्या परेको छ,' कैदी-नाइके बुद्धिसागर बेलबासेले भने ।
सुरक्षा पर्खाल भत्कनुभन्दा पहिल्यै प्लास्टरका लागि कारागार व्यवस्थापन विभागमा दुई लाख माग गरिएको थियो । तर, डेढ लाख मात्र आएकाले सो ऋणमा मर्मत गर्नुपरेको कार्यालय-प्रमुख अधिकारीले बताए ।
'प्लास्टरका लागि भित्र-बाहिर गरेर चार लाखको अनुमान गरेकामा विभागबाट जम्मा डेढ लाख आयो । तैपनि, प्लास्टर नगर्दै पर्खालै भत्कियो । सबै ऋणमा गर्नुपरेको छ,' उनले भने ।
०२३ सालमा निर्माण भएको कारागार भवन साँघुरो भएपछि कैदीदेखि कर्मचारी र सुरक्षाकर्मीलाई निकै सास्ती भएको छ । २० जना पुरुषको क्षमता रहेको कारागारमा ३४ पुरुष र पाँच महिलाको क्षमता रहेको कारागारमा तीन महिला गरी अहिले ३७ जना कैदी रहेका छन् । पुरुषलाई बस्न, खानदेखि सुत्नसमेत समस्या भएको कैदी-नाइके बेल्बासेले बताए ।
'ट्वाइलेट, पानी सबै २० जनाका लागि व्यवस्था छ,' उनले भने, 'सुत्न समस्या भएर पालो गर्नुपर्ने अवस्था छ । जीर्ण भवन भत्किने खतराले रातभर निद्रा लाग्दैन ।'
कैदीलाई मात्र होइन, बाहिरका सुरक्षाकर्मीलाई पनि सुत्ने ठाउँ नभएपछि आवास छाडेर आफू भाडाको कोठामा बसिरहेको प्रमुख अधिकारीले बताए । सुरक्षाका लागि खटिएका प्रहरीले पनि खाने-बस्ने एउटै कोठामा गर्नुपरेको गुनासो गरेका छन् । 'ठाउँ नपुगेर अहिले पनि खाने-बस्ने एकै ठाउँमा छ । दरबन्दीअनुसार सबै सुरक्षाकर्मी हुने हो भने त आधा दिउँसो र आधा राति सुत्ने गर्नुपर्छ,' प्रहरी नायब निरीक्षक प्रेमसिंह रावलले भने ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग