Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वनबाट बिजुली

Published on 4:26:00 PM //

घनश्याम गौतम

बडागाउँ ६ नयाँ गाउँका बिर्जमान सुनारले पैसा र श्रमबिनै बिजुली बाल्न पाएका छन् । दैनिक ज्याला गरेर घर खर्च चलाउने चिन्तामा डुबिरहने सुनार अहिले बिजुली कसरी बाल्ने भन्ने चिन्ताबाट पनि मुक्त भएका छन् ।

खरले छाएको झुपडीमा एक्लो जीवन बिताइरहेकी पालुखी नेपालीको घरमा पनि अहिले बिनालगानी बिजुली बलिरहेको छ । घरमा अन्य कोही नभएको र मुस्किलले एक महिना पनि खान नपुग्ने नेपाली निकै खुसी छन् । 'बत्ती बाल्न पाउँछु जस्तो लागेको थिएन,' उनले भनिन्, 'निकै सजिलो भएको छ ।'

सुनार र नेपालीलाई मात्र होइन गाविसका डेढ सय दलित परिवारसहित सबै घरमा यतिबेला निःशुल्क बिजुली बलेपछि खुसी छाएको छ । गाउँलेलाई खुसी ल्याइदिएको हो, संरक्षण गरेर हुर्काएको सामुदायिक वनले । स्थानीय बासिन्दाले २०५६ सालदेखि गाउँमा रहेका विभिन्न वनलाई सामुदायिक बनाएर संरक्षण गर्दै आएका थिए । तिनै वनहरूबाट उत्पादित खोटो, काठ र घाँस बिक्री गरेर भएको आम्दानीले गाउँमा अहिले बिजुली बलेको हो ।

बडागाउँ गाविसमा भएका सामुदायिकमध्ये तिलिहार सामुदायिक वनले ३ लाख ९६ हजार, आरुपाटा सामुदायिक वनले १ लाख ४७ हजार, सिलाथुम सामुदायिक वनले झन्डै १ लाख, पेंगाली सामुदायिक वनले ७० हजार, गोजुंगली सामुदायिक वनले ५१ हजार, सौरपानी सामुदायिक वनले ४० हजारसहित गरी सामुदायिक वनहरूले मात्र विद्युतीकरणका लागि झन्डै ९ लाख लगानी गरेका छन् ।

सामुदायिक विद्युतीकरणका अध्यक्ष हरि छन्तेलका अनुसार १ हजार ६ सय ५० घर रहेको बडागाउँ सामुदायिक ग्रामीण विद्युतीकरण योजना सम्पन्न गर्न २ करोड १४ लाख खर्च भएको छ । जसअन्तर्गत उपभोक्ताले ४२ लाख ८० हजार लगानी गरेका छन् । त्यसमा स्थानीय आमा समूह, वार्ड सुधार समिति, गाविस, जिविसलगायतले पनि सहयोग गरेका छन् ।

'प्रतिउपभोक्ता २ हजार ५ सय ४० रुपैयाँका दरले रकम जम्मा गर्नुपर्ने थियो,' अध्यक्ष छन्तेलले भने, 'वनको आम्दानी बचत गरेकाले उपभोक्तालाई सजिलो भएको हो ।' सामुदायिक वन नभएका वडाका उपभोक्ताले भने प्रतिघर २ हजार ५ सय रकम जम्मा गर्दै जनश्रमदान गरेको स्थानीय प्रेम सुनारले बताए ।

उपभोक्ताले संरक्षण गरेको सामुदायिक वनको आम्दानीले विद्युतीकरणमा मात्र नभएर गाउँको अन्य विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । वडा नं. ४ को पैयाँढिक सामुदायिक वनको आम्दानीले स्थानीय जनता प्राविमा ५ वर्षदेखि एक शिक्षकको व्यवस्था गरिएको छ । त्यस्तै अर्को सामुदायिक वनले पनि मुसिकोट माविलाई १३ वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको अध्यक्ष चिनाबहादुर सिंहले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग