Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माघे सङ्क्रान्ति मुलुकभरि मनाइँदै

Published on 4:10:00 AM //

माघे सङ्क्रान्ति पर्व आज मुलुकभरि विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नुका साथै घिउ-चाकु, तीलको लड्डु र तरुल खाई मनाइँदैछ ।
ज्योतिषशास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । लड्डु तथा घिउ-चाकु सङ्क्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यो-चाकु सँल्हु’ भनिन्छ ।
यस पर्वमा नेपालका देवघाट, वराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गङ्गासागरलगायतका नदी तथा त्रिवेणीमा स्नान, दान, श्राद्धलगायतका कार्य गर्नेहरूको ठूलो भिड लाग्छ ।

भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यो दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी होइने उल्लेख छ ।
आयुर्वेद र चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायतका तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ ।
शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढी तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।
यसै दिन भक्तपुरको टौमढीटोलमा तिलमाधवनारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गर्ने गरिन्छ ।
थारु समुदायमा यो पर्व ‘माघी’ पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । आजका दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ ।
नेपाल सरकारले माघी पर्वलाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिई यस दिन सार्वजनिक विदा दिने गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग