Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

औषधि नहुँदा खोरेतको महामारी

Published on 11:11:00 PM //

घनश्याम गौतम
जिल्लाका विभिन्न गाविसका पशुहरूमा खोरेत रोगको महामारी फैलिएपछि किसानहरू चिन्तित बनेका छन् ।

दुई साताअघि प्यूठानमा देखिएको खोरेत अर्घाखाँची हुँदै जिल्लाका तम्घास, अर्खले, जैसीथोक, हस्तिचौर लगायतका गाविसमा फैलिए पनि औषधि अभाव छ । खोरेतले एक सातामा १७ पशु मरेको र पाँच सय पशु प्रभावित बनेको पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयकी नायब पशु स्वास्थ्य प्राविधिक पार्वता भुसालका अनुसार खोरेत रोग लागेपछि पशुमा एक्कासि ज्वरो आउने, खुर र मुखमा घाउ हुने, जिब्रो पाक्ने, बढी बाक्लो र्‍याल काढ्ने, र दुध दिन छोड्ने, गर्भ तुहिने हुन्छ ।


रोग महामारीको रूपमा फैलँदै गएको भए पनि नियन्त्रणका लागि आवश्यक पर्ने औषधि एफ.एम.डी. भ्याक्सिन भने जिल्लाभरका लागि ५ सय डोज मात्र छ ।

खोरेत रोग पशुहरूको सबैभन्दा ठूलो महामारीको रोग हो । हावाको माध्यमबाट तुरुन्तै एक गाउँबाट टाढा टाढाका गाउँसम्म एकै साथ पुग्ने भएकाले केही समयअघि प्यूठानमा देखिएको यो रोग अर्घाखाँची हुँदै गुल्मी आएको हो । रोग तत्काल नियन्त्रण सम्भव नहुने पनि भुसालले बताइन् । 'तत्कालै उपचार भनेको फिडकिरीले पशुको मुख सफा गरिदिने, खुट्टामा टिन्चर आयोडिन लगाइदिने र रोग प्रतिरोध इन्जेक्सन दिने हो,' उनले भनिन्, 'यसको थप उपचार प्रयोगशालामा परीक्षण गरेर मात्र सम्भव हुन्छ ।' पशु सेवा कार्यालयका प्रमुख तुलसी भण्डारीले देशैभरि खोरेत रोगको भ्याक्सिन अभाव भएकाले उपलब्ध थोरै भ्याक्सिनबाट बढी प्रभावित गाविसहरूमा नियन्त्रणको प्रयास भइरहेको बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग