Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दृष्टिविहीन परिवार भारी बोक्दै

Published on 3:07:00 PM //

घनश्याम गौतम
शान्तिपुर -गुल्मी, वैशाख ५ -
भोकभोकै बस्नुपर्ने स्थिति आएपछि दृष्टिविहीनले गुजारा चलाउन केसम्म गर्न सक्लान् ? अरूको कुरा छाडौं- पालनपोषण गर्ने बाबुको मृत्यु भएपछि ३६ वर्षे खड्गबहादुर थापा भारी बोक्न थालेका छन् ।

उपाय केही नभएपछि उनी फराकिलो बाटो भएको ठाउँमा छामछुम गर्दै भारी बोक्ने काम गर्न थालेका हुन् । दुई लालाबालाबाहेक सबै दृष्टिविहीन रहेको उक्त परिवारमा वृद्ध आमा र दिदीबहिनी पनि छामछुमकै भरमा काम गर्छन् ।

उमेर पुगेका चार जनाले आँखा देख्दैनन्, देख्न सक्ने काम गर्ने उमेरका छैनन् । शान्तिपुर-१ रिपाहाको दृष्टिविहीन परिवारको दैनिक जीविका निकै कष्टपूर्ण छ ।

जंगलछेउ कटेरामा कष्ट सहेर तीन दृष्टिविहीन छोराछोरीलाई हुर्काएका भीमकुमारी थापादम्पतीले नाति-नातिनाको अनुहार त देखे तर नाति-नातिनाले स्यहार गर्न सक्ने नहुँदै भीमकुमारीका पनि दृष्टि गुमे । जन्मँदै दृष्टिविहीन ४० वषर्ीया छोरी तुलसी, ३६ वर्षे छोरा खड्गबहादुर र २६ वषर्ीया छोरी तिलकुमारी जस्तै ६६ वर्षकी भीमकुमारी पनि दृष्टिविहीन भइन् । खड्गका ६ र ५ वर्षका छोरी र छोराले आँखा देखे पनि स्यहार गर्नसक्ने उमेर भइसकेको छैन । 'गत साल उहाँ -पति) खस्नुभो, मेरा पनि आँखा बसे,' भीमकुमारीले भनिन्, 'आँखा देख्ने बुहारी पनि हिँडिहाली ।'


दृष्टिविहीन पति र नाबालक छोराछोरी छोडेर बुहारी सुशीलाले दोस्रो बिहे गरेपछि परिवारमा खाना पकाएर खान दिने समेत कोही नभएको भीमकुमारीले बताइन् । 'यी केटाकेटीको पो बिचल्ली भो त,' उनले दुखेसो गरिन् ।

थापा परिवार गाउँकै विपन्न हो । खेतीले २ महिना पनि खान नपुग्ने परिवारमा भीमकुमारीका पति रनबहादुरले ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका थिए । उनको मृत्युसँगै भीमकुमारीले पनि आँखा देख्न छाडेपछि छाक टार्नै समस्या परेको छ । कहिलेकाहीं दुई/तीन दिन भोकै बस्ने र कहिले छाक बिराएर खाने गरेको उनले बताइन् । उनलाई छोराछोरीको भन्दा पनि नातिनातिनाको बढी चिन्ता छ ।

खड्गबहादुरले चिन्ता व्यक्त गरे, '५ वषर्ीया छोरीलाई उदय उच्च माविमा कक्षा १ मा भर्ना गर्‍यौं, तर आँखा नदेख्नाले आधा घन्टा टाढाको विद्यालयमा पुर्‍याउन सकेका छैनौं ।'

गाविसले छोरीलाई अपांग भत्ता मासिक एक हजार र आमालाई विधवा भत्ता पाँच सय उपलब्ध गराउन थालेको सचिव डिल्लीराज आचार्यले बताए । सबै अपांगले भत्ता पाउनुपर्ने भए पनि कोटा कम हुँदा एक जनालाई मात्र दिइएको उनले बताए । गाउँभर बिजुली बले पनि उनीहरूको घरमा भने अहिलेसम्म बल्न सकेको छैन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग