Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वन मास्न लागिएको भन्दै विरोध

Published on 8:43:00 AM //

शिवलाल सुवेदी

वन तथा भु-संरक्षण मन्त्री दीपक बोहराले संरक्षण क्षेत्र घोषणा गर्ने नाममा गुल्मी, प्युठान र बाग्लुङको वन जंगल क्षेत्रमा पनि तस्करी गर्ने खेल खेल्न थालेको सामुदायिक वन उपभोक्ता महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बताइएको छ । उक्त पत्रकार सम्मेलनमा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य ठाकुर भण्डारीले सो कुरा बताएका हुन् ।

भण्डारीले गुल्मी, प्युठान र बाग्लुङको सिमानामा पर्ने मदाने पञ्चासे संरक्षण क्षेत्र घोषणा गर्ने नाममा पाचायती व्यवस्थादेखि नै भ्रष्ट र तस्कर व्यक्तिका रुपमा परिचित वर्तमान वनमन्त्री बोहराले यस क्षेत्रमा पनि उपभोक्ताहरुको हित विपरीत संरक्षण गर्ने नाममा वनमा रहेको बहुमुल्य जडीबुटी लगायतको प्राकृतिक स्रोत तस्करी गर्न यस्तो नियम विपरीत कार्यक्रम ल्याएको बताएका छन् ।

 पत्रकार सम्मेलनमा सामुदायिक वन उपभोक्ता महासघंका केन्द्रीय सदस्य ठाकुर भण्डारी र गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा समेत मन्त्री बोहराको नेतृत्वमा केही कर्मचारीको मिलेमतोमा सामुदायिक वन त्यसको सफलता प्रति नकारात्मक सोंचका आधारमा नयाँ राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरु घोषण गरिनु उपभोक्ताहरुको हित विपरित र वन ऐन २०४९ र वन नियमावली २०५१ ले दिएको अधिकारलाई पूर्णरुपमा कुल्चिएको उल्लेख छ ।


वन फँडानी वन अतिक्रमण एवं जनावरका बहुमुल्य अङ्गहरु समेत तस्करी गर्ने मन्त्री बोहरालाई पहिले नै कारवाही गर्नुपर्नेमा सत्ता बचाउने ३ सय १ को खेलमा लागेर सरकारले नै संरक्षण दिएको आरोप लगाउँदै केन्द्रीय सदस्य भण्डारीले जसरी बर्दियामा निउरो टिप्न गएका स्थानीय तीन महिलालाई सेनाले गोली ठोकेर हत्या गप्यो ठिक त्यसरी नै भोलीका दिनमा मदाने पाचासे क्षेत्रमा पनि त्यस्ता खाले घटना हुने र सेनाको घेरामा उपभोक्तालाई पार्दै मन्त्री बोहरा जस्ताको तस्करी बढ्ने दाबी गरेका छन् । महासंघ गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले केन्द्रदेखि नै सरकारको उक्त कदमप्रति सामुदायिक वन उपभोक्ता महासंघले असहमति र विरोध गर्दै आएको र अब त्यस विरुद्द चरणबद्ध आन्दोलन गरिने बताए । पत्रकार सम्मेलनको अध्यक्षता राममल्ल ठकुरीले गरेका थिए भने साचालन देवी कुँवरले गरेकी थिइन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग