Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामीको सुनौलो भविष्य

Published on 4:48:00 PM //

- जीवलाल सापकोटा

गुल्मी जिल्लाको उत्तर-पश्चिम रुद्रावतीको तट शालिमे दहको काखमा अवस्थित वामी गाउँ विकास समिति गुल्मी जिल्लाको मात्र नभएर नेपालकै एक प्रसिद्ध नमुदा गाबिसको रुपमा विकसित भै रहेको छ । वामी टक्सार बजार र वामी मैदान धेरै पहिलेदेखि नै व्यापारिक केन्द्रका रुपमा परिचित छन् । बाटोघाटो, खानेपानी, विद्युत्त सुविधा प्रायशः घरहरुमा पुगिसकेको छ । दरम खोलाबाट सिंचाई सुविधा उपलब्ध गराउन सकियो भने वामी कृषि तथा फलफूल उत्पादन क्षेत्रमा स्वावलम्बी मात्रै नबनेर तम्घास, तानसेन, बुटवल, पोखरा, काठमाण्डौका आवश्यकता परिपूर्ति गर्न सफल हुने बलिया सम्भावनाहरु छन् । वामी टक्सार बजारका मन्दिरहरु, वामीको कोट, देउराली, मालारानी, गुरुङकोट, शालमे दह आदि प्राकृतिक धार्मिक पुरातात्विक दृष्टिकोणले निकै महत्वपूर्ण स्थलहरु हुन् । उचित अध्ययन अनुसन्धान विश्लेषण तथा प्रचार प्रसारको अपेक्षामा यी महत्वपूर्ण स्थलहरु प्रतिक्षारत छन् ।

शिक्षा विकासको मेरुदण्ड हो । शैक्षिक कार्यक्रम एवम् गतिविधिहरुबाट व्यक्ति परिवार समाज र राष्ट्रमा चेतना र जागृति जगाउन फैलाउन सकिन्छ । व्यक्तिले अन्तर्निहित सीप क्षमता अनुभूत गरी कार्यक्षेत्रमा उतार्न सक्दछन् । त्यसैले त प्राकृतिक सम्पदा भन्दा पनि शिक्षित दक्ष मानवीय सम्पदा बढी मूल्यवान र उपयोगी हुन्छ । शिक्षित मानवीय सम्पदाबाट मात्रै विकास प्रगति र सभ्यताका सम्भावनाहरु चुनौतीहरु र अवसरहरुको खोजी गर्ने तदनुरुप नीति योजना कार्यक्रमहरु निर्माण गर्ने यसरी निर्माण गरिएका नीति योजना र कार्यक्रमहरुलाई सफलताका साथ कार्यन्वयन गराई सृजनशील र उर्जाशील तरिकाले व्यवहारिक कार्य क्षेत्रमा वस्तुपरक ढङ्गले उतार्न सकिन्छ । यसैले शिक्षा व्यक्ति परिवार र समाजको अन्तरचक्षु हो जसले मानवीय मस्तिष्कलाई उर्जाशील विचारको क्षितिजलाई विस्तारित चिन्तन दृष्टिकोण संस्कार र व्यवहारलाई प्रशोधन गरी सहमति सहकार्य र समावेशी तरिकाले कर्तव्य पथमा इमान्दारी साथ दौडाउँछ ।

शिक्षाको क्षेत्रमा वामी द्रुत गतिमा अगाडी लम्किरहेको पाइन्छ । श्री महेन्द्र आदर्श मा।वि। वामी टक्सार र श्री शारदा विद्या मन्दिर नि।मा।वि। वामी मैदान लामो समयसम्म वामीका शैक्षिक केन्द्रका रुपमा रहिरहे । हाल आएर रुद्रवाती बहुमुखी क्याम्पस, महेन्द्र आदर्श उच्च मावि, शारदा विद्या मन्दिर मावि, मालिका आमावि र १४ वटा प्राविहरु वामीमा शैक्षिक चेतना पांजीकृत गर्न र जनजागरण ल्याउन अभ्यस्त छन् । आज वामीबाट प्रशिक्षित व्यक्तित्वहरु राष्ट्रिय एवम् अन्तराष्ट्रिय क्षेत्रमा उच्च सम्मानका साथ कि्रयाशील एवम् गतिशील हुनुहुन्छ । यो समुच्च वामीको लागी गौरवको विषय हो ।



वामी त्यस्तो गाविस भईसकेको छ जसका प्रत्येक घरकुरियाबाट कम्तिमा एक जना वैदेशिक रोजगारीमा संलग्न छन् । वामेलीहरु आर्थिक रुपमा सवल छन् । आर्थिक उन्नतिका साथसाथै आफ्ना बालबच्चाहरुलाई स्तरीय गुणात्मक शिक्षा उपलब्ध गराउने उद्देश्यले थुप्रै वामेलीहरु बुटवल एवम् काठमाण्डौ बसाई सर्ने वा कोठा भाडा लिएर बस्ने चलन विगत ३-४ वर्षदेखि बढिरह्यो । यस्तो प्रवृतिले कहिलेकाहीं पारिवारिक बिघटन र विकृतिहरुको पनि जन्म हुन थाल्यो । वामीप्रेमी व्यक्तित्वहरु जम्मा भएर यसको समाधानको उपायहरु खोज्न थाल्नुभयो । त्यसपछि वामीका सेरोफेरोका गाविसहरु जस्तै दगातुम्डाँडा, रिघा, मनेवा, अर्लाङ्कोट, कुर्घा, वडागाउँ मुसिकोटका विकासप्रेमी शिक्षाप्रेमी जागरुक व्यक्तित्वहरुकाबीच छलफल अन्तकि्रया निरन्तर हुँदै गयो । यही निरन्तरको छलफल तर्कवितर्कबाट वामी टक्सारमा आधुनिक साधन सम्पन्न एउटा अङ्ग्रेजी माध्यममा पठन पाठन गराउने शेक्षिक प्रतिष्ठान संचालन गर्ने निष्कर्ष निक्ल्यो । यही निष्कर्षबाट ‘Golden Future Academy’ नामक संस्थाको जन्म भयो । सम्बन्धित निकायहरुबाट स्वीकृति प्राप्त गरी यसै शैक्षिक सत्रदेखि नस्ररी देखि कक्षा ५ सम्मको पठनपाठन शुभारम्भ भै सकेको छ । एक करोड भन्दा बढी रकम संकलन गरी वामी-२ वामी टक्सारमा २१ रोपनी जग्गा खरिद गरी त्यसैमा अत्याधुनिक भवन निर्माण गर्ने कार्य सुरु भइसकेको छ । एक वर्ष भित्रैमा भवन निर्माण कार्य सम्पन्न गरी आफ्नै भवनमा पठनपाठन सन्चालन गर्ने योजना रहेको कुरा संस्थाका अध्यक्ष महेश जि.सि बताउँछन् ।



यही न्यमिभल ँगतगचभ ब्अबमझथ को पठन पाठन कार्यक्रमको समुद्घाटन गर्न यो पङ्तिकार निम्त्याइएको थियो । यही २०६७ बैशाख १ गते बुधबारका दिन एक विशाल समारोहका बीचमा ‘Golden Future Academy’ को समुदघाटन एब्द्यक्इल् गुल्मीका अध्यक्ष श्री बहादुर भलामीले गर्नुभयो भने शैक्षिक कार्यक्रमको उद्घाटन यो पङ्तिकार र आदरणीय गुरु दान बहादुर के।सी।ले संयुक्त रुपमा गर्यौ । त्यहाँ उपस्थित विशाल जनसमुदाय संचालकहरुको प्रतिवद्धता प्रिन्सिपल लगायत शिक्षक शिक्षिकाहरुको उमङ्ग अठोट गतिशीलता देख्दा साँच्चै यो शैक्षिक प्रतिष्ठान वामीको मात्रै नभएर केही वर्षभित्रै राष्ट्रकै उज्ज्वल शैक्षिक नक्षत्रको रुपमा विकसित हुने कुरामा ढुक्क हुन सकिन्छ । बुटवल काठमाण्डौ आएका बालबच्चाहरु धमाधम फर्काईदैछन् । यो पङ्तिकार वामीकै फसल भएकाले हर्षले पुलकित भएको छ ।



‘Golden Future Academy’ वामीको अत्याधुनिक शिक्षाको बलियो जग सावित हुनेछ । यसका शैक्षिक कार्यक्रमहरु क्रमशः थपिँदै जानेछन् । सूचना प्रविधिको युग सापेक्ष यो संस्था अगाडि बढ्ने छ । संचालकहरु विचारलाई जोड्दै मतभेदलाई घटाउँदै एकतालाई गुणन गर्दै जिम्मेवारीलाई आपसमा सौहार्दताका साथ विभाजन गर्दै एकढिक्का भएर अग्रगामी प्रगतिशील चिन्तनका साथ अगाडि बढ्नु हुनेछ । यो पङ्तिकार यस संस्थाको उन्नति प्रगतिमा यथाशक्य योगदान दिँदै हरेक गतिविधिमा होस्टेमा हैंसे गर्न वचनवद्ध छ । वामीको सुनौलो भविष्य ‘Golden Future Academy’ को उन्नति उन्नयन र प्रगतिमा रम्दै रमाइला घमाइला नूतन आयामहरु दिन दुई गुना रात चौगुनाको दरले थपिँदै जानेछन् । वामीको सुनौलो भविष्यको लालिमा देखाउँदै पूर्व क्षितिजबाट अभ्यूदय ‘Golden Future Academy’ को उत्तरोत्तर प्रगतिको कामना सहित आजलाई यतिमै ओझेलिन चाहान्छु है त ।
जय वामी ! जय सुनौलो भविष्य !

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग