Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय वन समुदायमा हस्तान्तरणपछि चोरी शिकार नियन्त्रण

Published on 10:18:00 PM //

घनश्याम गौतम
 राष्ट्रिय बन समुदायमा हस्तान्तरण गरेपछि यहाँको पूर्वी क्षेत्रमा बन्य जन्तुको चोरी शिकार नियन्त्रण भएको छ ।
धेरै क्षेत्र जंगल रहेको र बन्य जन्तुहरू प्रशस्त पाईने ग्वाघा, फोक्सिङ्ग, जयखानी, भार्से लगायतका क्षेत्रका जंगलहरूमा चोरी शिकार नियन्त्रणमा आएको हो । यस क्षेत्रका जयखानी, भार्से फोक्सिङ्ग र ग्वाघा गाविसमा झण्डै १ हजार हेक्टर भन्दा बढी राष्ट्रिय बन छ । राष्ट्रिय बन मध्ये झण्डै ४ सय हेक्टर बन समुदायलाई हस्तान्तरण भएको छ ।


शान्तिपुर रेञ्जपोष्टका फरेष्टर बाबुराम न्यौपानेका अनुसार हस्तान्तरण भएका बनहरूमा बन्य जन्तुको चोरी शिकार नियन्त्रणसंगै बहुमुल्यका जडीबुटीहरूको संरक्षण समेत शुरू गरेका छन् । जयखानी गाविसको भुल्के बाँधेखोला सामुदायीक बन, फोक्सिङ्ग गाविसको सत्यबती, सिद्ध सत्यबती लगायतका सामुदायीक बनहरूमा मृग, कालिज, घोरल, चितुवा, दुम्सी, लगायतका बन्य जन्तुहरू र सुगन्धवाल, कुरिलो, जिवन्ती जस्ता जडीबुटीहरू प्रसस्त पाइन्छन् । पछिल्ला वर्षहरूमा बन्य जन्तुको शिकार र जडीबुटीको अबैध निकासी हुने गरेकोमा समुदायलाई नै बन हस्तान्तरण गरेपछि चोरी शिकार पूर्ण नियन्त्रणमा आएको फरेष्टर न्यौपानेले बताए ।
सामुदायीक बन गठन नै नभएको जयखानी गाविसमा समेत सामुदायीक बन उपभोक्ता समुह गठन भएको छ । भुल्के बाँधेखोला बन समुदायमा हस्तान्तरण गरेपछि अब जिल्लाका ७९ वटै गाविसमा सामुदायीक बन गठन भएका छन् । शान्तिपुर  रेञ्जपोष्ट अर्न्तगत ३५ सामुदायीक बन आबद्ध छन् । जिल्लाका ७९ वट गाविसमा ३ सय ७० बन समुदायमा हस्तान्तरण भैसकेको जिल्ला बन कार्यालयले जनाएको छ । ५ सय हेक्टर राष्ट्रिय बन रहेको जयखानीमा ७२ हेक्टर मात्र समुदायमा हस्तान्तरण भएको छ । त्यस्तै १ हजार हेक्टर भन्दा बढी राष्ट्रिय बन रहेको फोक्सिङ्ग गाविसमा पनि ३ सय ७४ हेक्टर बन समुदायमा हस्तान्तरण भएको छ ।
फोक्सिङ्ग गाविसको १ सय ९६ हेक्टर क्षेत्रफलमा फैलिएको सिद्ध सत्यवती सामुदायीक बन उपभोक्ता समिति अध्यक्ष टेकबहादुर रानाका अनुसार दिनहुँजसो मारिने मृग र कालिजको मासु अहिले गाउँमा देखिनै छोडेको छ । पहिला पहिला बुटवल, तम्घास, काठमाण्डौमा बस्ने आफन्तहरूलाई उपहारका रूपमा मृगको मासु, छाला र कालिज पठाउने गरिन्थ्यो ।, रानाले भने, अहिले गाउँमा मृग मारेको खबर समेत सुन्नै छोडिएको छ ।’ जंगलमा जाने गाई गोठालाहरूले दिनभर हतियार लिएर जाने र मार्ने गरेकामा अहिले समुदायले रेखदेख शुरू गरेपछि जंगलमै मृग, कालिज, घोरल लगायतका बन्य जन्तुहरू प्रसस्त देखिन थालेको रानाले बताए ।
जयखानीका बन उपभोक्ता देउकुमार र्घर्ती मगरले गाविसको सबै राष्ट्रिय बनलाई समुदायमै हस्तान्तरण गर्ने प्रकृयमा आफुहरू लागेको बताए । गाउँकै बन भएपनि अहिलेसम्म हामीलाई यो बन सरकारकै हो भन्ने लागेकाले संरक्षणमा त्यति चासो दिएका थिएनौं ।’, र्घर्ती मगरले भने, बन कार्यालयले बन तपाईहरूकै हो संरक्षण गर्नुस भनेपछि बल्ल रेखदेख शुरू गरेका छौं ।’ जडीबुटीहरूको पहिचान र बन्य जन्तुहरूको संरक्षणमा आफुहरू लागेको उनले बताए ।
त्यस्तै प्रहरी, स्थानीय प्रशासन, जिल्ला बन कार्यालय, रूरू रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति लगायतले नियमित अनुगमन र नियन्त्रण शुरूगरेपछि यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा जंगलको चोरी शिकार पनि नियन्त्रणमा आएको छ । नियमित अनुगमन र नियन्त्रण अभावमा यस जंगलमा पनि दिनहुँ २/३ मृग, ठुलो संख्यामा कालिज मारिने गरेका थिए । अहिले चोरी शिकार पुरै नियन्त्रणमा आएको जिल्ला बन कार्यालयका प्रमुख राजेन्द्रमान सिंह भण्डारीले बताए । भण्डारीका अनुसार रेसुङ्गा जंगलमा मात्र ६५ भन्दा बढी मृग रहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग