जडिबुटीमै भर पर्छन् गाउँले
घनश्याम गौतम
स्वास्थ्य संस्थामा औषधि नहुने र स्वास्थ्यकर्मी पनि नियमित नबस्ने गरेका कारण दुर्गम गाउँका बासिन्दा गम्भिर प्रकृतिको उपचारसमेत घरेलु प्रविधि र जडिबुटीमा भर पर्ने गरेका छन् ।
आर्थिक अभाव र बिरामी परेमा स्वास्थ्यचौकी पुग्ने चेतना समेत गाउँलेमा छैन् । सदरमुकाम आउन एकदिन पुरै लाग्ने र गाउँमा रहेका स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मी नियमित नबस्ने र आवश्यक औषधि पनि नपाइने भएकाले गाउँलेहरू जडिबुटीको उपचारमै भर पर्ने गरेका हुन् । पश्चिम क्षेत्रका ह्वाङ्दी, नेटा, दर्लिङ, मलायागिरि, पूर्वी क्षेत्रका जयखानी, अर्लाङ्गकोट लगायतका गाविसका बासिन्दाले जडिबुटीबाट गाउँमै उपचार गर्ने गरेका छन् ।
'१६ दिन भयो रूखबाट लडेको', घरमै जडिबुटीबाट उपचार गराउँदै बसेका मलायागिरिका प्रेमबहादुर घर्तीले भने, 'सबैले घरमै उपचार गराउने गरेका छन् ।' गाउँमा धेरैको अस्पताल जाने चलन नभएकाले आप"ूले पनि घरमै उपचार गराइरहेको उनले बताए । दाउरा काट्ने क्रममा रूखबाट लडेका उनको दुई महिना पुग्न लाग्दा पनि कम्मरभन्दा तलको भागले काम गरेको छैन । सोझो गरी हिंड्न र बस्न पनि नसक्ने उनले सुरुका दिनमा भन्दा केही सुधार भएको बताए । आफूले अन्यको सिको गरेको भए पनि गाउँका धेरै मानिस आर्थिक अभावका कारण उपचार गराउन जिल्लासम्म पुग्न नसक्ने बताए ।
गाउँमा उनी मात्र होइन । स्थानीय कृष्णबहादुर खत्रीले पनि भीरबाट लडेर हात भाँचिएको ८ वषर्ीय आपनो छोरा रूपेशको उपचार गाउँमै गराउँदै छन् । ८ वषर्ीय छोराको ढिकबाट लडेर हात भाँचिएको थियो । 'काप्रो बाँधेर उपचार गराएको छु', खत्रीले भने, 'भएन भने जिल्ला लैजानु पर्ला ।' कहिलेकाहंी मात्र सदरमुकाम आउने गाउँलेहरूले सदरमुकाम तम्घासलाई जिल्ला भन्ने गर्दछन् । घरेलु उपचारका लागि स्थानीय जंगल र घर छेउहरूमा पाइने काँचो पाते, गोलकाँक्री, चिपले किरा, चौतारीको बोक्रालगायत जडिबुटीहरू गाउँलेहरूले प्रयोग गर्ने गरेका छन् । 'गोल काँक्री र चिपले किराले भाँचिएको हड्डी जमाउन र जमेको रगत खुलाउन मद्दत गर्छ ।' प्रेमले भने ।
सदरमुकामबाट ११ कोष टाढा रहेका ह्वाङ्दी, नेटा, दर्लिङ्ग लगायतका गाविसहरू जिल्लाका सबैभन्दा दुर्गम गाविस हुन् । यहाँका सर्वसाधरणहरू बिरलै सदरमुकाम पुग्ने गर्दछन् । यी गाविसका ७० प्रतिशत बासिन्दा जडिबुटीको उपचारमै भर पर्ने गरेका छन् ।
यहाँका दुर्गमका स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मीहरू समेत बिरलै भेटिने गरेकाले पनि गाउँलेहरू जडिबुटीको उपचारमा भर पर्नुपरेको सर्वसाधारणको गुनासो छ । 'हामी दुर्गमका मानिसले कहिलेकाहंी मात्र डाक्टर देख्ने हो ।', नेटा गाविस २ कि सरस्वती घर्तीले भनिन्, 'स्वास्थ्य चौकीका एक वर्षमा एक पटक सिटामोल पाइए पनि दिने मान्छे कोही हुँदैनन् ।' नेटा गाविसमा रहेको स्वास्थ्य चौकीमा ७ जनाको दरबन्दी रहे पनि प्रायः ३ जना मात्र उपस्थित हुने गाउँलेहरूले बताए ।
0 प्रतिकृयाहरु