Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाडेका शव बगाउँदा रूरूक्षेत्र दुर्गन्धित

Published on 1:12:00 AM //

नदी किनारमा गाडेका शव वषर्ाको भेलले बगाएर ल्याउँदा धार्मिक स्थल रूरूक्षेत्र दुर्गन्धित बनेको छ ।

कालीगण्डकी ए जलविद्युत्ले पानी थुन्दा सुख्खा बनेको नदीले वषर्ापछिको भेलसँगै बढ्दा किनारमा गाडिएका शव बगाएर ल्याएको हो ।

स्याङ्जाको मिर्मीमा नदी थुनिएपछि हिउँदमा मिर्मीभन्दा तल्ल्लो भाग १४ किलोमिटर सुख्खा हुन्छ । यस क्षेत्रका स्थानीयले पानी सानो हुँदा नदी किनारमै शव गाड्ने गर्छन् । त्यहीं गाडिएका शव पानीको भेलले खोलेर बगाउने गर्छ ।

'त्यही शव पानीको भेल बढ्नासाथ उप्काएर ल्याउने गर्छ,' धार्मिक स्थल ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीले भने, 'यहाँ वषर्ा सुरु भएपछिको भेलमा दैनिक दुईचारवटा शव देखिन्छन् ।' भेलले बगाएर ल्याएका शव अर्गली, ९ को ऋषिकेशव मन्दिर तलको भुमरीमा उतार्ने गर्छ ।

जलविद्युत् आयोजनाको तल्लो भेगमा पानी सानो हुँदा गाडिएका शव ल्याउने गरेको रेग्मीले बताए । 'युवा शक्ति छैन, मान्छेले दाउरा बोकेर ल्याउन छाड्यो, अलि अलि जलाउने छाडिदिने चलन बढ्यो,' ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका सचिव पद्मप्रसाद भट्टराईले भने, 'त्यसैले वषर्ा लाग्नासाथ शवहरू नदी किनारमा देखिन थालेका हुन् ।'

गुल्मी र अर्घाखाँची जिल्लाबाट बग्दै आउने रिडी र बडीघाट खोला किनारमा गाडिएका शव पानीको भेलले उप्काएर ल्याउने उनले बताए । 'यहाँ वषर्ाको भेलले ल्याउने दुर्गन्धले वरिपरि बस्नसमेत नसक्ने भएको छ,' उनले भने, 'धार्मिक क्षेत्रमा शव गाड्न नदिने, जलाउनुपर्ने नियम बनाउन सल्लाह गरिरहेका छौं ।' शव बगाएर ल्याउँदा रूरू क्षेत्रमै दुर्गन्धित हुने गरेको छ । भुमरीमा केही सयम तैरिराख्ने र नदी किनारमा समेत शव तैरिने हुँदा रूरू क्षेत्रमा दुर्गन्ध हुने गरेको गायत्री ब्रह्मचारी आश्रमका अध्यक्ष परसुराम भट्टराईले बताए ।

'नदी किनार पूरै गन्हाउँछ, के गर्नु काम त गर्नुपर्‍यो' बालुवा चाल्दै गरेका मानबहादुर थापाले भने, 'कहिले काहीं बालुवा निकाल्दै गर्दा टाउको खुट्टा नै भेटिन्छ ।' कालीगण्डकी नदीको मिर्मीमा विद्युत् निकाल्न पानी थुनेपछि एकातिर ताल बनेको छ भने अर्कोतिर सुख्खा । पर्वत र स्याङ्जा, गुल्मीको सिमानामा ताल बनेर डुंगा चल्न थालेका छन् । मिर्मी बाँध मुनिको धार्मिक स्थल रूरू क्षेत्र भने सुख्खा बनेको छ ।

पाल्पा, स्याङ्जा र गुल्मीको सिमाना रूरू क्षेत्र नेपालका चारमध्ये एक धाम हो । कालीगण्डकीमा स्नान गर्ने र नजिकैको रूरूकन्याको ऋषिकेशव मन्दिरमा दर्शन गर्न देशका विभिन्न स्थानबाट धार्मिक पर्यटक यहाँ आउँछन् ।

ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण ऋषिकेश मन्दिर र रूरू क्षेत्र तानसेन बजारदेखि २९ किलोमिटर पश्चिममा पर्छ । शनिबार एकैदिन चार शव नदी किनारमा देखेपछि प्रहरीलाई समेत समस्या भयो । प्रहरी प्रमुख पवन गिरीले बेवारिसे शव फेला पर्‍यो भन्ने खबर आएपछि तत्काल प्रहरी टोली खटाएको बताए । 'बगाएर शव ल्यायो भन्ने सुन्दा त्रसित नै बनायो,' उनले भने, 'सडेगलेका र दुर्गन्धित शव पो रहेछन् ।'

कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग