निउरोका भरमा जीवन धान्दै कुमाल महिला
भरत पाण्डेय
माटोका भाँडा बनाउने परम्परागत पेसाबाट विस्थापित भएपछि विपन्न कुमाल जातिका महिला अहिले जङ्गलमा पाइने निउरो डांैडे र कुथुर्को बेचेर जीवन गुजारा गर्न थालेका छन् ।
कुमाल समुदायले माटाका भाँडा बनाएर जीवन गुजारा गर्दैआएको भए पनि आजभोलि बजारमा प्लास्टिकका सामानको बढ्दो प्रयोगले माटोका भाँडा बिक्री हुन छाडेपछि कुमाल पुरुष मजदुरीका लागि भारततर्फ पसेको र परिवार पाल्न मुस्किल भएपछि विकल्पको खोजीमा रहेका कुमाल महिला भने निउरो डौंडे र कुथुर्को बेचेर परिवार पाल्न बाध्य भएका हुन् ।
उनीहरुले जङ्गलमा पाइने यी खानयोग्य वनस्पति डोकोमा बोकेर बजारमा तरकारीको रुपमा बिक्री गरी आफ्नो घरमा नुन तेलको जोहो मात्र होइन छोराछोरी पढाउने समेत गरेका छन् ।
वर्षात सुरु भएदेखि दसैँसम्म बिहान घरभन्दा पाँच÷सात घन्टा टाढाको जङ्गलमा धाउनु र अर्कोदिन डोकोमा बोकेर सदरमुकाम पुर् याएर घरघरमा डुलेर यी वनस्पति बेच्नु इस्मा रजस्थल गाविस वडा नं १ निवासी दधीकुमारी मुखियाको नियमित कि्रयाकलाप हो । चारवर्ष अघि श्रीमान्ले सौता हालेर छुट्टै बस्न थालॆपछि उहाँलेछोराछोरी पाल्ने केही उपाय नभएपछि जङ्गलमा उम्रेको निउरो बेचेर परिवारलाई खर्चको जोहो मात्र होइन दुई छोराछोरी समेत पढाइ रहनुभएको छ ।
गाउँमा मेलापातको काम गरेर खान नपुगेपछि वर्षातको समय सुरु हुनासाथ दैनिक निउरो टिपेर डोकोमा बोकी २४ किलोमिटर टाढाके सदरमुकाम तम्घास बजारमा पुर् याउनु उहाँको दिनचर्या नै बनेको छ । बर्खा लागेपछि निउरो बेचेर र हिउँदमा मेलापातबाट घरखर्च जुटाउँछु- दधीकुमारीले भन्नुभयो ।
उहाँ मात्र होइन अर्जे गाविस घर भएकी माया मुखियाको पनि दैनिकी यस्तैमा बितेको छ । भारतमा नोकरी गर्न गएका श्रीमान्ले अर्काका जुठाभाँडा माझेर परिवार पाल्नेगरी कमाउन नसकेपछि ज्यान पाल्नकै लागि जङ्गलको तरकारी बजारसम्म पुर् याउने गरेको माया बताउनुहुन्छ ।
के गर्नु सबैका माटाकै चुला हुन् अर्काका जुठाभाँडा माझेर कति पो कमाइ हुन्छ र ज्यान पाल्न केही नगरी त्यत्तीकै बसेर त भएन नि ।उहाँले भन्नुभयो- त्यसैले रातदिन डोकोमा निउरो बोकेर बजार डुल्नु परेको छु । गुल्मी जिल्लाको क्षेत्र नं ३ अन्तर्गत पर्ने अर्जै घमिर अर्खावाङ मलायगिरी नेटा तथा ह्वाङदीलगायतका गाविसका जङ्गलमा प्रशस्त मात्रमा पाइने निउरो डौंडी र कुथुर्कोले ती परिवारको आम्दानीमा राम्रै सहयोग पुर् याएको छ ।
ती चिजको गाउँमा खासै महत्व नहुने भएका कारण आफूले टिपेको निउरो डौंडी र कुथुर्को डोकोमा बोकेर उनीहरु तम्घाससम्म बिक्रीका लागि धाउने गर्दछन्।
वर्षातको समय भएकाले जाँदा आउँदा बाढीपहिरोमा मुस्किलले ज्यान जोगाएर आउनुपर्ने भएकाले ज्यानको पनि जोखिम रहेको यी महिलाको भनाइ छ ।
जङ्गलमा ऒत लाग्ने कुनै ठाउँ नहुने हुँदा कतिदिन त पानीले रुझेर थला परेको यी महिलाको दुःखेसो छ । निउरोको मुठा पारेर प्रतिमुठा रु २० देखि रु २५ मा बिक्री गरी तीन दिनमा रु ३०० देखि रु ६०० कमाउने गरेको महिलाहरुको भनाइ छ । तर बजारमा बस्ने ग्राहकहरुले सित्तैमा आएको जस्तो गर्ने र हेलाँ गर्ने गरेको गुनासो पनि उहाँहरुको छ । डोको बोकेर घरघर चहारेर मुठाको रु बीस÷ पच्चीसमा बेच्नुपर्छ बजारका मान्छेहरु जङ्गलबाट खोजेर ल्याएको हो सित्तैमा पाइन्छ जस्तो गर्छन् ।
वर्खाको बेला ज्यानकै बाजी लगाएर एकभारी जम्मा गरेको भारी बोकेर घरघर डुलेको कसैले देख्दैनन् । घरमा सबै पुग्दो भए त किन यसरी दुःख गर्नुपथ्र्यो र अर्जेकी मायाको दुःखेसो छ ।
जङ्गलबाट निउरो तम्घाससम्म ल्याउँदा रु।२०० त जिपभाडा नै तिरेर ल्याउने र एउटा मुठाको मूल्य तम्घाससम्म ल्याइपुराउँदा रु।१०देखि २० सम्ममा बिक्री हुनेगरेको धुर्कोट वस्तु गाविसकी चन्द्रकली कुमाल बताउनुहुन्छ । पेटपाल्ने बाध्यता पूरा गर्न सहज नभए पनि बाध्यतावस जङ्गलबाट टिपेर ल्याएको डौडी बोकेर सदरमुकाम आउनुपरेको अमरपुर गाविसकी मिना मुखियाले बताउनुभयो ।
घरबाट पाँच÷सात घन्टा लाग्ने छापहिले घमिरदेखि लिएर एकदिनभर लाग्ने अर्खावाङ गाविससम्म पुगेर निउरो टिपेर ल्याउनुपर्छ । निउरो पाउने जङ्गलमा रुखबाट पनि खरी जुका खस्छन् भुइमा पनि जुका लाग्छन् । एकाहातले निउरो टिप्ने अर्को हातले जुका फाल्ने गर्दै टिपेर अर्कोदिन तम्घासमा आएर बिक्री गर्छु । मिना आफ्नो सँघर्षबारे सुनाउनुहुन्छ ।
बढ्दो महँगी नियन्त्रण गर्न कसैले वास्ता नगरेको र हुनेखानेकै बोलाबाला समाज हुँदा विपन्नको जिन्दगी वर्षाैवर्ष पनि उकासिन नसक्ने अवस्था आएकाले जिन्दगीप्रति नै निराशा लागेको उहुहरुको भनाइ छ ।
कतिपय बालबालिका पनि आमाको पछिलागेर निउरो टिप्न जङ्गल जान्छन् । बजारमा बुटवल पाल्पा अर्घाखाँची लगायतका जिल्लाबाट भित्रिने र विषादी प्रयोग गरेको तरकारी खाँदाखाँदा हैरान परेका मानिस निउरो डौंडी र कुथुर्को निकै मनपरायर खरिद गर्ने गर्दछन् ।
एकातिर जङ्गलबाट टिपेर ल्याएको विशुद्ध प्राङ्गारिक तरकारी भएका कारण र अर्कोतिर त्यसबाट अचार तरकारी र चुकौनीलगायतका परिकार बनाउन सकिने र ती परिकार निकै स्वादिलो हुनेभएका कारण बजारमा यस्ता तरकारीको माग निकै छ । माटाका भाँडा बनाउने पेसाबाट विस्थापित हुने अवस्था आएकाले नयाँ प्रविधिको तालिम वा अन्य कुनै रोजगारीको व्यवस्था सरकारले गर्नुपर्ने कुमाल समुदायका महिलाको माग छ ।
0 प्रतिकृयाहरु