Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा दैनिक साढे दुई करोड रेमिट्यान्स भित्रँदै

Published on 1:36:00 AM //



घनश्याम गौतम
रोजगारी तथा अध्ययनका लागि विदेश गएकाहरूले दसैंमा रकम पठाउन थालेपछि जिल्ला भित्रिने रेमिट्यान्स ह्वात्तै बढेको छ ।गाउँगाउँमा बैंकले शाखा विस्तार गरेर सेवा दिएपछि विदेशबाट आउने रेमिट्यान्स बढेको बैंकहरूले जनाएका छन् । दसैं नजिकिँदै गर्दा जिल्लामा दैनिक साढे २ करोडसम्म रेमिटान्स भित्रिएको छ ।

जिल्लाका छ ग्रामीण बजारमा शाखा विस्तार गरेको रेसुंगा विकास बैंकका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार पछिल्ला दिनहरूमा शाखाहरूबाट समेत गरी दैनिक १ करोड ५० लाखसम्म वितरण हुने गरेको छ । त्यस्तै मजुवा र वामीमा शाखा विस्तार गरेको गुल्मी विकास बैंकले पनि शाखासमेत गरी दैनिक ५० लाखभन्दा बढी रेमिट्यान्स वितरण गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी आचार्यले बताए ।

जिल्लामा दुई विकास बैंक, शाखासहित राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई र तम्घासकै निजी रेमिट्यान्स वितरण गर्ने सेन्चुरी इन्टरनेसनल, वाइके रेमिटलगायतले दैनिक ५० लाखभन्दा बढी रेमिट्यान्स वितरण गर्दै आएका छन् ।

रेसुंगा विकास बैंकले पछिल्लो एक सातामा ६ सयभन्दा बढीलाई रेमिट्यान्स वितरण गरेको छ । बैंकले ४ करोडभन्दा बढी रेमिट्यान्स भित्रिएको जनाएको छ । त्यस्तै सेन्चुरी इन्टरनेसलनले पनि दैनिक ६५ जनाभन्दा बढीलाई रेमिट्यान्स वितरण गर्ने गरिएको जनाएको छ । 'दैनिक ४०/५० लाख वितरण गर्दै आएका छौं,' सेन्चुरीका सञ्चालक तेजेन्द्रकुमार श्रेष्ठले भने, 'गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स भित्रिने दर दोब्बर भएको छ ।'

दसैं नजिकिएकाले यो सातामा आइतबार रेमिट्यान्स लिनेको सबैभन्दा बढी भीड थियो । सोमबार र मंगलबार पनि बैंक तथा वित्तीय संस्थाहरूमा ठूलो भीड थियो । सबैं बैंक र वित्तीय संस्थाहरूको तथ्यांकअनुसार जिल्लामा पछिल्लो एक सातामा ५ करोडभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।

 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग