Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलायतमा सबैलाई आकर्षित गर्दैछ गुल्मेली बाजाले

Published on 1:12:00 PM //

बेलायतमा नेपालीहरुको संख्यामा भएको बृद्धिसँगै संघ संस्थाहरुको पनि बृद्धि भएको छ । जसले गर्दा नेपाली परम्परा, संस्कृति र संस्कारको जगेर्ना गर्ने क्रममा हरेक वर्ष अनेकौ कार्यक्रमहरु हुने गरेका छन् ।
विभिन्न कार्यक्रमहरुमा नेपालका संस्कृतिहरुको प्रदर्शनीले यही जन्मेका वा हुर्किएका नेपाली केटाकेटी तथा युवाहरुले पनि आफ्नो संस्कृतिसँग परिचित हुने मौका पाएका छन् । जसले गर्दा 'हामी नेपाली हौँ र जहाँ रहे पनि, जहाँ पुगे पनि नेपाली नै भएर बाँच्न चाहन्छौँ' भन्ने नेपाली भावनाले मूर्तरुप लिँदै गएको छ ।
नेपाली संस्कार संस्कृति र परम्पराको अभिन्न अंग बनेको नौमती बाजा अहिले बेलायतस्थित नेपालीहरुको एक गौरव बन्न पुगेको छ । नेपालीहरु मात्र होइन यस बाजाले बेलायतमा सबैको ध्यान तान्न सफल भएको छ । यसको श्रेय जान्छ- गुल्मी जिल्ला समाजलाई र त्यसका अध्यक्ष ओम थापालाई ।
४ अपि्रल २०१० मा गुल्मी समाज यूकेले नौमती बाजा बेलायत भित्र्याउने निर्णय गर्दै प्रथम नौमती बाजा गुल्मी यूके नाम दिई उपसमिति बनाएको अध्यक्ष थापा बताउनुहुन्छ । नौमती बाजामा टेम्को, दमाहा-२, ढोलकी, झ्याली, सनही-२, नरसिंह र कर्नाल गरी नौ वटा बाजाको संगम हुने भएकोले यसको नाम नौमती बाजा रहेको पनि अध्यक्ष थापा बताउनुहुन्छ ।
'बेलायतमा पनि नेपालीहरुको विवाह जस्ता सामाजिक कार्य हुन थालेको र यस्तोमा आफ्नो परम्परागत बाजाहरु नभएको कारण डिस्को बज्न थालेकोले यो बाजा भित्र्याउने प्रयास गरेको हो,' अध्यक्ष थापा भन्नुहुन्छ । यस कार्यमा गुल्मेली समाजले बाजा बेलायतसम्म ल्याइदिएको पनि वहाँ बताउनुहुन्छ । 'खासै यी बाजा बजाउन जान्ने कोही थिएनौँ, अलि अलि मात्र आउथ्यो, विभिन्न उपाय गरेर यही तालिम गर्‍यौँ र अहिले धेरै नै सिकिसकेका छौँ,' थापा भन्नुहुन्छ ।
नौमती बाजा नेपालको एकदमै पुरानो बाजा हो । यसको उत्पत्ति र विकास बारेमा खोजी हुनु जरुरी छ । समय सापेक्ष यसको विकासले नेपाल र नेपालीलाई विदेशमा पनि भावनात्मक रुपमा नेपालीपनलाई जीवित राख्न सहयोग गरिरहने छ । यस नौमती बाजा गुल्मी यूकेको प्रमुख संयोजक पनि अध्यक्ष थापा स्वयं हुनुहुन्छ भने संयोजकमा ओम बुराथोकी हुनुहुन्छ । त्यस समितिका अन्य सहभागीहरुमा बिनप्रसाद भुजेल, वीर वलाल, टोप पल्ली, मन गुरुङ, तिल थापा, थाम रोका, गोपाल थापा, फतिक पुन, पूर्ण बलाल र लाल दगामी हुनुहुन्छ । जम्मा १२ जनाको सहभागिता रहेको यस टिमलाई बढाएर पन्ध्र/सोह्रमा पुर्‍याउने लक्ष्य लिएको अध्यक्ष थापा बताउनुहुन्छ ।
बेलायतमा सबैले काम गर्नैपर्छ । नभए दैनिक जीवन चल्न सक्दैन । यस्तो व्यस्तताकोबीच कसरी समय पुर्‍याउनुभएको छ त भन्ने प्रश्न गर्दा अध्यक्ष थापा भन्नुहुन्छ, 'समय मिलाउन असाध्यै गाह्रो छ तर अनेक उपाय गरी समय मिलाएका छौँ । १२ जनामध्ये ९ जनाको कम्तिमा पनि समय मिल्नुपर्छ । यही समय मिलाउनको लागि सजिलो होस् भन्नाको लागि कुनै कार्यक्रममा नौमती बाजाको सहभागिता गराउने हो भने तीन हप्ताअगाडि जानकारी आउनु पर्ने नियम बनाएका छौँ ।'
नौमती बाजामा सबभन्दा बजाउन गाह्रो हुने सहनाई र त्यसपछि कर्नाल रहेको पनि थापा बताउनुहुन्छ । नौमती बाजा खुला आकासमुनि बज्ने बाजा हो । त्यसैले यसको आवाज पनि निकै चर्को हुन्छ । त्यसैले यो सिक्ने काम आफ्नै घरभित्र गर्न कठिन छ । 'छिमेकीहरुसँग एपोलोजी गर्दै घरमा पनि सिक्ने काम भयो अनि बीजीडब्लुएस भवन र रश्मोर कम्युनिटिको हललाई सिक्ने काममा प्रयोग गरियो' थापा बताउनुहुन्छ ।
नेपाली संस्कृतिको अभिन्न अंग रहेको नौमती बाजा बेलायतमा स्थापित गर्न अन्य समुदायसँग पनि आफूहरु सहयोग र सहकार्य गर्न तयार रहेको पनि अध्यक्ष थापाले जानकारी दिनुभयो ।
बेलायतमा यो बाजा भित्रिएको करीव ६ महिना भयो । यस अवधिमा यो बाजाले नेपालीको मात्र होइन बेलायती लगायत अन्य समुदायको समेत ध्यान तान्न सफलता हासिल गरेको छ । सार्वजनिक रुपमा १८ अप्रिल २०१० का दिन नेपाली मन्दिर निर्माण समिति प्लमस्टिडको चन्दा संकलन तथा सम्मान कार्यक्रममा सो समूहले नौमती बाजा प्रस्तुत गरेको थियो । दोश्रो पटक २२ मे मा रश्मोर काउन्सिलको ओपन डे मा प्रस्तुत गरिएको थियो । २९ मेमा मगर संघको ओपन कन्सर्टमा प्रस्तुत गरिएको थियो । १३ जुनमा टाउनब्रिज क्यानभेल फेस्टिभलमा हेल्प फर हिरोजको च्यारिटीको लागि प्रदर्शन गरिएको थियो । सो फेस्टिभलमा भाग लिएका २६ वटा ब्याण्ड मध्येमा नौमती बाजा प्रथम घोषणा भएको अध्यक्ष थापा बताउनुहुन्छ ।
नौमती बाजाले बेलायतमा सर्वप्रथम ३ जुलाईमा शुभ-विवाहमा प्रवेश पायो । यो विवाह थियो, ले.(रि) मोहन थापाको सुपुत्रीको । विशेष गरी विवाहलाई उत्साहमय र उल्लासपूर्ण बनाउने यो बाजाले विवाहमा पाएको प्रवेशले आफूहरु निकै उत्साहित भएको पनि थापा बताउनुहुन्छ ।
२५ जुलाईमा गुल्मेलीहरुको भेलामा यो बाजाले रौनक थप्नुथप्यो । ८ अगस्तमा नेपाली राजदूतावास लण्डनको आहृवानमा लण्डन मेलामा भाग लिँदा नौमती बाजासहितको नेपाली टोलिले सबैको ध्यान तान्दा आफूहरु अत्यन्त उत्साहित भएको पनि थापा बताउनु हुन्छ । 'हाम्रो नेपाली झण्डा र नौमती बाजासहितको टोलिमा अन्य समुदायका मानिसहरु समेत मिसिन आइपुगेकाले अत्यन्त गौरव महसूस गर्‍यौँ,' थापा भन्नुहुन्छ ।
सेप्टेम्बर १० का दिन मेडस्टिन नेपलिज कम्युनिटिको तर्फबाट मेडस्टिन मेलामा भाग लिएर नौमती टिमले मेलाको रौनक थप्यो । नौमती बाजाले पाएको समर्थन र आकर्षणलाई उच्च मुल्याङ्कन गर्दै मेला संयोजक मेयरले आगामी मेलामा सहभागी गराउन नौमती बाजाको लागि काउन्सिलले आवश्यक खर्चको बन्दोबस्त गर्ने बचन दिएको पनि अध्यक्ष थापा बताउनुहुन्छ ।
गुल्मेली समाजले नेपाली परम्परा र संस्कृतिको परिचायक बनेको नौमती बाजालाई बेलायतमा भित्राएर एक अत्यन्त प्रसंसनीय कामको सुरुवात गरेको छ । यसले बेलायतमा रहेका नेपालीहरुलाई आफ्नो संस्कृतिको जगेर्ना गर्न उत्साहित गराइरहने छ ।
नौमती बाजा बेलायतमा व्यवसायिक रुपमा सञ्चालन गर्न सकिन्छ कि भन्ने जिज्ञासा राख्दा अध्यक्ष थापा हाललाई यस किसिमको नसोचिएको बताउनुहुन्छ । तर बेलायतमा बढ्दो नेपालीहरुको जनसंख्या र नेपाली संस्कार, संस्कृति र परम्पराप्रतिको सचेतनाले यसले व्यवसायिक स्वरुप लिन सक्ने संभावना भने रहेको छ ।

(बेलायतबाट प्रकाशित हुने नेपाल सन्देश साप्ताहिकबाट )

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग