Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दसैंपछि खेती थन्क्याउने र लगाउने चटारो

Published on 1:30:00 PM //

घनश्याम गौतम
फोटो: भोजराज भण्डारी 
यसपाला दसैं ढिलो परेकाले गाउँका किसानहरूमा चाप सकिएलगत्तै खेती थन्क्याउने र लगाउने चटारो बढेको छ ।
जिल्लाका अधिकांश भागमा असोज अन्तिमदेखि मंसिर पहिलो सातासम्म धान, मकै थन्क्याउने र गहुँ, जौ, फापर, तोरी, आलु रोप्ने गरिन्छ । तिहार नजिकिँदै गर्दा जिल्लाका अधिकांश गाउँका किसान भने खेतबारी र खरबारीमा व्यस्त छन् ।


बडागाउँ-७ चुँदरीगाउँकी निरा सुनार दसंैलगत्तै बडागाउँकै घैयारा फाँटमा पाकेको धान काट्न र थन्क्याउनमा व्यस्त छन् । 'फाँटभरी पाकेको धान थन्क्याउन पनि ढिला भयो,' उनले भनिन्, 'तिहार आउनै लाग्यो काम धेरै बाँकी छ ।' किसानले बेंसीका फाँटहरूमा धान थन्क्याएर कात्तिक अन्तिमसातासम्म गहुँ, आलु लगाउँछन् ।

दसैंअगाडि नै बारीको मकै थन्क्याएका उच्च भूभागका किसान भने बारीमा गहुँ, जौ, फापर, तोरी छर्न व्यस्त छन् । असोज पहिलो सातादेखि नै पानी पर्न बन्द भएकाले बारी सुक्ने चिन्ताले दसैंको भोलिपल्टैदेखि व्यस्त भएको बताउँछन् । 'मकै थन्क्याएपछि बारी सुकिसकेछ,' बिसुखर्कको बजेनीकी तिलकुमारी विकले भनिन्, 'छिटो नलगाए चास उर्मिन्न कि भन्ने चिन्ताले दसैंको अर्को दिनबाटै खेती लगाउन सुरु गरेकी छु ।' यस क्षेत्रमा गहुँ, जौ र फापर खेतीलाई चास भन्ने गरिन्छ ।

अधिकांश बारी र खेतमा गहुँ, तोरीसँगै हिउँदे तरकारी रोप्ने सिजनसमेत सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ । रायो, मूला, आलु, सिमी, बन्दा, काउली, दलहनमा मसुरो, मास रोप्न पनि किसान व्यस्त भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक सनबहादुर रानाले बताए । कार्यालयका अनुसार जिल्लाको खेतीयोग्य जमिनमध्ये ९ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । त्यस्तै ५ हजार १ सय १० हेक्टरमा गहुँ, ५ सय ६७ हेक्टर जग्गामा जौ र फापर, ५ सय २९ हेक्टरमा तोरीखेती र २ सय ७५ हेक्टरमा आलु र हिउँदे तरकारीखेती हुने गरेको छ । पहाडी भूभाग भएकाले यहाँका किसानहरूको प्रायः बेंसीमा खेत र उच्च भागमा बारी छ । त्यसैले एकैसाथ कामको चटारो बढेको छ ।

जिल्लाको खेतीयोग्य जमिनबाट २० हजार ९ सय ९४ मेटि्रक टन धान, झन्डै १० हजार मेटि्रक टन गहुँ, जौ उत्पादन हुने गरेको छ । त्यस्तै किसानहरूले खरबारीमा रहेको घाँस अहिले काटेर एक वर्षका लागि वस्तु भाउलाई पुर्‍याउने गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग